site stats
बाह्रखरी :: Baahrakhari
देश
के हो प्रि–मनसुन, कसरी हुन्छ यो सिजनमा वर्षा ? 
फाइल तस्बिर ।

काठमाडौं । प्रि–मनसुन सुरु भए पनि केही दिनयता वर्षा हुन सकेको छैन । अझै केही दिन वर्षा हुने सम्भावना रहेको छैन । उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात भने भइरहेको छ । 

तत्काल वर्षा हुने सम्भावना नरहे पनि यो सिजनमा अकस्मात वर्षा हुने प्रणाली विकास हुने भएकाले जुनसुकै समय वर्षा हुनसक्ने मौसमविद्को भनाइ छ । 

Argakhachi Cement Island Ad

“प्रि–मनसुनमा दुई घण्टाभित्र नयाँ प्रणाली विकास भएर सकिइसक्छ । त्यसैले एकै छिनमा सफा रहेको मौसममा केही समयपछि नै वर्षा भएर पुनः मौसम सफा भइसकेको हुन्छ,” मौसमविद् सरोज पुडाशैनी बाह्रखरीसँग भन्छन् । 

यो सिजनमा स्थानीय वायु सक्रिय हुने भएकाले एकै छिनमा बादल बन्ने र वर्षा गराउने विशेषता हुन्छ । “यो सिजनमा प्रायः बिहान मौसम सफा हुन्छ । तर अपराह्नतिर बादल बनेर हावाहुरी र मेघगर्जनसहित एकैछिनमा वर्षा हुन्छ,” उनी भन्छन्, “दुई घण्टामा नयाँ प्रणाली बनेर वर्षा भएर सकिने हुन्छ ।” 

यो सिजनमा स्थानीय वायुको प्रभाव बढी हुने उनी स्पष्ट पार्छन् । “प्रि–मनसुनमा स्थानीय वायु वायुमण्डल तातो हुने भएकाले तत्लो भू–भागमा रहन सक्दैन र माथि जान्छ । तातेर माथि गएको हावा बादल बन्छ । जति माथि गयो त्यति बादल चिसो हुँदै जान्छ,” मौसमविद् पुडाशैनी भन्छन्, “१२/१३ किलोमिटर माथि पुगेपछि बादल–बादल आपसमा ठोक्किएर मेघगर्जनसहित असिना पर्ने, चट्याङ पर्ने र पानी पर्ने हुन्छ । बादल आपसमा ठोक्किएर चट्याङ पर्ने भएकाले यसले जनधनको क्षति पनि गर्छ ।”

प्रि–मनसुनमा पश्चिमी वायुको प्रभाव न्यून मात्रै हुन्छ । अरबसागरबाट आउने प्रणाली पनि निकै कम मात्रै हुने मौसमविद्हरूको भनाइ छ । “पश्चिमी न्यूनचापीय प्रणाली र अरबसागरबाट आउने प्रणाली आउँदै आउँदैन भन्ने त होइन । तर त्यो निकै न्यून मात्रै हुन्छ । यसको आंशिक प्रभाव मात्रै रहन्छ,” मौसमविद् पुडाशैनी भन्छन्, “यी प्रणालीको केही प्रभाव पर्यो भने स्थानीय वायुलाई सर्पोट भएर थप ठूलो वर्षा हुन्छ ।” 

प्रि–मनसुनमा कूल वर्षाको सरदर १२.५ प्रतिशत वर्षा हुन्छ । प्रि–मनसुनको अवधि मार्च १ देखि जुनको पहिलो सातासम्म हुन्छ । मनसुन सुरु नहुँदासम्म यो अवधि रहन्छ । नेपालमा सामान्यतः जुन १० मा मनसुन सुरु हुन्छ । 

पोस्ट मनसुनमा ४.५, विन्टर सिजनमा ३.५ प्रतिशत र मनसुनमा ८० प्रतिशत वर्षा हुन्छ ।

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १३:३१
प्रतिक्रिया दिनुहोस्