हालै पोखराको रिडर्स कर्नर्समा नयाँ किताब खोजिरहँदा ‘अ योङ वान्डरिङ मडलार्क इन ओल्ड काठमाण्डु’ मा गएर आँखा अडियो मेरो । ‘प्रत्येक ठाउँ, प्रत्येक मान्छे’ का स्रष्टा पिटर जे कार्थकको पछिल्लो कृति रहेछ । किताबको गातामै लेखिएको रहेछ, ‘अ फ्याक्ट ‘एन’ फिक्सन नोभल’ ।
केही जिज्ञासा र उत्सुकता अचानक उत्पन्न गराए यी शब्दले । धेरै पहिले पढेको उनको पहिलो उपन्यासका केही स्मृतिहरू फेरि ताजा भएर आए त्यस बेला । त्यही कारण उनको यो कृति किनेर पढ्ने हुटहुटी जागिहाल्यो मलाई ।
हुन त आफू र आफ्नै परिवारमा मात्र केन्द्रित धेरैजसो आत्मकथा गम्भीर पाठकको रुचिभित्र परेको देख्दिनँ म । बसेका ठाउँ, बोलेका मानिस, भेटेका साथीभाइ, देखेका र भोगेका घटनाक्रम र परिवेशको एउटा बृहत् क्यानभास र त्यसमा कोरिएको कोलाजजस्तो आत्मकथा पढ्न भने निकै रुचिकर लाग्छ मलाई पनि ।
अझ त्यसमाथि आत्मकथालाई आख्यानको संरचनामा ढालेर लेखिएको छ भने त सुनमा सुगन्ध भइहाल्छ । अंग्रेजी भाषाका केही त्यस्ता लोभलाग्दा आत्मकथाहरू मेरो सम्झनामा आइरहन्छन् अहिले पनि । तर, नेपाली सन्दर्भ र परिवेशमा लेखिएका त्यस्ता कृतिहरू त्यति धेरै पढ्न पाएको छैन मैले ।
पढ्न थालेपछि थाहा भयो, कार्थकको यो कृति एउटा औपन्यासिक आत्मकथा नै रहेछ । यसको केन्द्रीय कथानक हुन्, जोन । उनकै वरिपरि घुमेको छ सबै घटनाहरू । दार्जिलिङको अपेक्षाकृत खुला परिवेशमा जन्मी, बढी, हुर्केका एक जोसिला युवक देखिन्छन्, जोन । सेन्ट जोसेफ कलेज पढेका उनलाई पाश्चात्य संसारका साहित्य, संगीत र सिनेमाका बारेमा निकै जानकारी छ ।
मलायाको क्लर्क र भारतमै रङरुटमा छानिएका जोनलाई उनकी आमाले ऐन मौकामा नरोकेको भए यो कृतिको जन्म हुने थिएन । पछि जागिर खोज्ने क्रममा वीरगन्जको एउटा स्कुलमा केही समय अंग्रेजी भाषा पढाएर उनी र उनका साथीहरू अन्ततः काठमाडौं हाम्फाल्छन् ।
त्यसपछि सुरु हुन्छ काठमाडौंमा उनीहरूको जीवनका रङरमिताहरू । अनि, सन् ६०–७० दशकको काठमाडौंको क्यानभासमा तत्कालीन समाज, संस्कृति, र शक्तिकेन्द्रका नौला परिदृश्यहरू देखिन थाल्छन् ।
कथामा नाम फेरिएको होटेल हिमालयन हाइट्समा खुलेको नेपालकै पहिलो क्यासिनोमा जागिर पाउछन् उनी र उनका केही साथीले । दार्जिलिङमै परिचित सांगीतिक ब्यान्डका लुइसमार्फत चिनापर्ची भएको क्यासिनोका एक लगानीकर्ता भुटान निर्वासित नेता डासो लेनका कारण त्यो जागिर सम्भव हुन्छ उनीहरूलाई ।
अंग्रेजी भाषामा राम्रो पकड र क्रिकेटको ज्ञान नभएको भए त्यो आकर्षक तलबको जागिर त्यस बेला सम्भवै थिएन । त्यहीँबाट सुरु हुन्छ कथाको प्रस्थानविन्दु ।
एउटा घटनासँग क्रमशः अर्को गाँसिएर आएझैँ जोनको जीवनमा थरीथरीका पात्र, परिवेश र घटनाक्रमहरू गाँसिँदै जान्छन् । तीमध्ये उनी घनिष्ठ हुन पुग्छन् क्यासिनोकै जागिरे रञ्चित राणासँग । पछि थपिँदै जान्छन् पाण्डे, पन्त र केसी बन्धुहरू ।
उनका यी जिग्रीदोस्तहरूका आआफ्नै विशेषता छन् । गफ गर्न र नयाँ सूचना पत्ता लगाएर तिनको विश्लेषण गर्न खप्पिस । बेलाबेला सारिरहनु पर्ने डेराका आफ्नै अनौठा कथा छन् । तीमध्ये क्षेत्रपाटीका घरबेटी देवनारायण मानन्धरसँगको आत्मीयता र उनले लगाएको गुन भने उनी कहिल्यै बिर्संदैनन् ।
रञ्चित राणासँगको निकटतापछि बेलाबखतको ककटेल डिनरहरूमा राणा दरबारभित्रका नखुलेका पाटाहरू खुल्न थाल्छन् ।
काठमाडौं र यहाँको कतिपय पिछडिएको सामाजिक व्यवहारलाई धेरै ठाउँमा नराम्ररी हिर्काएका छन्, जोनले । युवती हेर्न पनि शनिबारको मन्दिर यात्रा र धर्मको सहारा लिनुपर्ने अवस्था देखेर टिठ लाग्छ उनलाई । भन्छन्– सयौँ वर्षको बाहिरिया अतिक्रमण र बाहिरबाटै लादिएको विचारले ग्रस्त समाजमा मौलिक चिन्तन र आत्मविश्वास हुर्कनै सकेन ।
केसी बन्धुहरूबाट नेपाली युवतीको जीवनचर्याको यथार्थ विश्लेषण सुन्छन्, उनी । आत्मनिर्णयको संस्कार र स्वतन्त्रताको अभावमा नेपाली युवतीको जीवनको एउटा विरक्तलाग्दो चित्र प्रकट हुन्छ, तिनका कुराकानीमा । जोनले काठमाडांैलाई इतिहासबाट ठगिएको, रहस्यमय र यस्तै विचित्रका अनेकौँ उपमाहरू दिएका छन् ।
कीर्तिपुरमा मास्टर्स गर्न पुगेका जोनले त्यहाँ नितान्त नौलो परिवेश र मित्रमण्डली फेला पार्छन् । दिउँसो कीर्तिपुर, साँझमा रेडियो नेपाल र रातमा क्यासिनोको जागिर भ्याएर पनि सेकेन्ड डिभिजनमा मास्टर्स पास गरेको दिन उनी आफैँसँग दंग पर्छन् ।
होटेल हिमालयन हाइट्स र क्यासिनोका प्रमुख शाही खानदानकी ‘बिग बोस’ले पनि त्यसै बेला उनीसँगै कीर्तिपुरबाट नेपालीमा मास्र्टस गर्छिन् । त्यो समयमा अंग्रेजीजस्तो गाह्रो विषयमा मास्टर्स गर्ने आफू मातहतको सानो कर्मचारी जोनको त्यो शैक्षिक उपलब्धिप्रति उनलाई खपिनसक्नु डाहा हुन्छ । त्यसका प्रतिकूल परिणामहरू पछि देखिन थाल्छन् ।
क्यासिनोबाट भुटानी लगानीकर्ता डासो लेनको अचानक बहिर्गमनपछि विस्तारै सुरु हुन्छ, जोनका अप्ठेरा दिनहरू ।
काठमाडौंलाई त्यति मन नपराउने जोनले आखिर यहीँको रैथाने नेवार युवतीसँग प्रेमविवाह गरेर जीवनको अर्को अध्याय सुरु गर्छन् । पछि घरायसी व्यवहार मिलाउने क्रममा दार्जिलिङ फर्कंदा मायासँगको उनको भेटघाट, मायाले अर्कैसँग प्रेम गर्न थालेको प्रसंग र त्यही समयमा मायाको रहस्यमय आत्महत्याका घटना निकै दर्दनाक लाग्छन् ।
केही ठाउँमा जोन आफू मात्र ठिकको शैलीमा प्रस्तुत भएका छन्, अलिक चर्कै ढंगले । काठमाडौंमा पाश्चात्य साहित्य र संगीत सर्वप्रथम आफूहरूले नै भित्र्याएको दाबी गर्छन् । कीर्तिपुर पढ्ने आफ्ना पहाडे साथीहरूलाई ‘हिल्लीविल्ली’ भनेर उडाउँछन् र आफूलाई अरूभन्दा अब्बल भन्न संकोच मान्दैनन् ।
समग्रमा हेर्दा, कार्थकले आफ्नो जीवनको उत्तराद्र्घमा सुटुक्क लेखेर छोडेको बेग्लै स्वाद र शैलीको यो आख्यानात्मक आत्मकथाले त्यो बेलाको नेपाली समाजका धेरै अनौठा कुराहरू सतहमा ल्याएको छ । त्यसैले यो कृति पढ्नलायक छ ।