site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मैले देखेका दुई विवाह दुई अनुभूति

गत वर्ष मंसिरतिरको कुरा हो, म पलाञ्चोक भगवतीको दर्शन गर्न गएकी थिएँ । दर्शन गर्न आउने दर्शनार्थीमध्ये एक जोडी केटा–केटी पनि मन्दिरको प्रांगणमा थिए । तिनका पछि–पछि दुई चारजना बुजु्रक महिला र पुरुष पनि थिए । तीमध्ये एकजनाको हातमा पूजाको सामग्री थियो । अर्काले हातमा कुखुराको भाले च्यापेका थिए ।  

आगन्तुक केटाकेटीबाहेकका अरु पाका व्यक्तिहरू देखिन्थे । सायद केटाकेटीका आमा–बाबु वा अभिभावक हुनुपर्छ । केटीको पहिरन हेर्दा उनले फूलबुट्टे पन्जाबी कुर्ता–सुरुवाल र सल ओढेकी थिइन् । केटा सर्ट पाइन्टमा थिए । तिनको पहिरन हेर्दा पहाडमा बसोबास गर्ने निम्नमध्यम वर्गको जनजाति परिवार जस्ता देखिन्थे ।

आगन्तुकहरूमध्ये सबैको हैसियत करिव एक समान नै देखिएको थियो । मन्दिरको दैलोमा पुगेर तिनले पुजारीलाई के भने कुन्नी । पुजारीले केटाकेटीका हातमा फूलपाती दिए । तिनलाई हात जोर्न लगाएर आफू भने पाठ गर्न थाले । पछि तिनले हातमा लिएको फूल मन्दिरमा चढाउन लगाए । युवा–युवतीले पूजा पनि गरे । मन्दिर बाहिर एकजना बुजु्रकले कुखुराको भालेको बलि दिए ।

ती बेहुला–बेहुलीले लगाएको दुवैको लुगा करिव–करिव धुँदाधुँदै खुइलिसकेको जस्तो देखिन्थ्यो । बेहुलाले लगाएको कपडा हेर्दा, खासमा ऊ बेहुला हो भन्ने बुझिने खालको नै थिएन । अनि बेहुलीको शरीरमा कुनै एक थान सुनको गहना पनि कतै देखिएन । मात्र दुई हातमा काँचका चुरा थियो । तिनको अनुहार लाली लिपिष्टिकले रत्तिभर पोतेर सिंगारिएको पनि थिएन, हातमा मेहन्दी हुने कुरै भएन ।
 
यस्तो थियो, उनीहरू काम गर्दागर्दै हतार–हतार हात खुट्टासम्म धोएर मन्दिरमा बिहे गर्न आए हुन् । न बेहुलाले फेटा–टोपी केही लगाएको थियो न बेहुलीले घुम्टी नै ओढेकी थिइन् । बेहुला बेहुलीले मन्दिरभित्र पूजा गरिसकेपछि सिन्दुर पोते लगाउने कार्य भयो । एउटी बुज्रुक महिलाले आठ–दश लुंगको एक झुत्तो रातो पोते र कागजमा पोको खोल्दै सिन्दुर बेहुलाको हातमा थमाइन् । 

बेहुलाले बेहुलीलाई लगाइदिएपछि आफन्तले ताली बजाएका थिए । यी सबै कर्मकाण्डी हुँदा न त क्यामेराद्वारा न त मोवाइलबाट नै फोटो खिँचेको देखियो ।
 
त्यसपछि उनीहरू मन्दिर बाहिर आए । खाजा पसलबाहिर बसेर ती बेहुला–बेहुली र बुज्रुक महिला पुरुषले चिया चमेना खाइसकेपछि पैदल हिँड्दै बाटो लागेको देखियो । पसलको अगाडि चिया खाँदा केटी लजाएर शीर निहुर्याएर एक कुनामा बसेर चिया पिइरहेकी देख्दा प्रेमविवाह हो जस्तो लागेन । किनकि तिनीहरू प्रेमजोडी भएको भए सँगै जोरिएर बस्ने थिए, आपसमा कुराकानी गरेको देखिने थियो । केटा एकातिर र केटी अर्कातिर लजाएर बस्ने कुरै आउँदैन थियो ।

अनि यो वर्ष धुलिखेलमा हामीलाई एक जनजाति परिवारले बिहेको भोजमा सामेल हुन निम्तो गरेका थिए । पार्टी प्यालेसमा भव्य भोज थियो । त्यो पार्टीप्यालेस हेर्दा नै लग्थ्यो, यो अवश्य कुनै पुँजिपतिको हकको सम्पत्ति हुनुपर्छ । पछि त्यहाँ उपस्थित केही निम्तालुहरूबीच खासखुस कुरा चलेको सुनियो । कुनै प्रधानमन्त्रीको उच्च तहको सुरक्षाकर्मीले निर्माण गरेको रहेछ । त्यस बिहेको भोजमा हजारजना जति निम्तालु थिए । निम्तो मान्न ती प्रायः सबै जनजाति भेषभूषामा थिए ।

भोजमा एक प्लेटको १५ सयका दरका खाना र रक्सी, पेय पदार्थका निम्ति अलग रकम तिरिएको रहेछ । बेहुला–बेहुलीको परिवार निम्नमध्यम वर्गको हैसियत भएको जनजाति परिवार भए पनि विदेशमा काम गर्नेरहेछन् । बेहुलीले झण्डै दश–बीस तोला सुनको गहना लगाएको देखियो । झण्डै लाख जति पर्ने पोशाक उनको शरीरमा लेहंगा चोली र घुम्टी नै थिए ।
 
बेहुलाको सुट पनि कम दामको थिएन । भोजमा विभिन्न पोजसहितको फोटो खिचाउन फोटो सेसनका लागि छुट्टै ठाउँमा फूलैफूलले सिंगारिएको अलग स्थान बनाइएको थियो । जहाँ बेहुलाबेहुली तरह–तरहका पोजमा फोटो खिचिरहेको देखिन्थ्यो । त्यसपछि नृत्य गर्न विदेशी र स्वदेशी संगीत बजेको थियो । जहाँ बेहुला–बेहुलीका आफन्त पाहुनाहरू नाचिरहेका थिए । मीठो भोजन अनि वियर–रक्सीको छेलोखेलो देखिन्थ्यो । ठूलो धुनको संगीतमा निम्तालु युवायुवतीहरू नाचिरहेका थिए ।

जब ठूलो आवाजमा गीत बजाएर धुँवा छाडेर बेहुला–बेहुली जसै नाच्न थाले अनि पार्टीप्यालेसमा काम गर्ने ती अठारदेखि २२/२३ वर्षका युवा–युवती कामदारहरू खाना ओसार्ने र बाँढ्ने काम छाडेर बडो कौतूहलका साथ टक्क उभिएर लालयित हुँदै त्यो रमितालाई हेरिरहे । त्यो दृश्य हेर्दा ती कामदार युवा–युवातीहरू पनि अधिकांश जनजाति परिवारकै जस्ता देखिन्थे । 

सम्भवतः तिनले त्यहाँ काम गर्न आउनु भनेको गरिबीको कारण नै हुनुपर्छ । कोही त पढ्ने खर्चको जुगाड निम्ति पनि काम गर्न आएका हुन सक्छन् । कोही परिवारको खर्च धान्नकै निम्ति पनि आएको हुन्छन् । कतिपय पढे/लेखेको भए पनि बेरोजगार हुँदा कम तलवमा भए पनि त्यो काम गर्न विवश भएको हुन सक्छन् । त्यो दृश्य हेरेर तिनले के अनुभूति गरे होलान् ? मेरो मनमा यही प्रश्न उठिरह्यो ।

आजभोलि बिहेमा फोटो सेसन गर्ने चलन चलेको छ, त्यसको स्टेज बनाउन मामुली पनि दशदेखि पन्ध हजार रकम पर्छ । फोटो धुलाउन र खिच्न ३०/४० हजारसम्म पर्छ । धुँवा उडाएर धुँवाको बीचमा नाच्न पनि कम खर्च लाग्दैन । खानपिनको पनि एक हजार निम्तालुको निम्ति १५ लाखसम्म खर्च हुन्छ ।  रक्सीको छुट्टै हिसाब तिर्नुपर्छ । नेपालमा क्षेत्री–बाहुन र नेवार परिवारमा त हल्दी मेहन्दी तथा ‘बेवी सावर’ अनि ‘भ्यालेन्टाइन डे’ को थप चाडबाड पनि खर्चको भार बनेर थपिन पुगेको छन् । 

आफ्ना सरल संस्कृतिलाई तिलान्जली दिँदै अरुका आयातित महँगो संस्कृतिलाई आजभोलि नेपालीले अपनाउन थालेको देखिन्छ ।

हुन त, एकथरिको भनाइ के पनि रहेको छ भने, हुनेले खर्च नगरी दिए मजदुर र कामदारले पैसा कहाँबाट पाउने ? व्यापारीको व्यापार कसरी चल्छ ? अनि बजार नै चलायमान कसरी होला ?
 
एकातिर आर्थिक मन्दीका कारण सिंगो मुलुक अब टाट पल्टिदै छ । अर्कातिर आमजनताको आम्दानीको स्रोत पनि शून्य हुँदै छ । मानिस घर–घरै बेरोजगार छन् । जताततै मन्दी छ । यस्तो अवस्थामा जीवनभर छाकछाकै भोकै हुने गरी सामाजिक व्यवहार भव्यताका साथ गर्नु पनि राम्रो होइन । यतिखेर यिनै सब देखासिकी र नक्कलको कारण बिहे गर्ने युवा–युवतीले बिहेवारीमा ऋण लिएर खर्च गर्न अविभावकहरूलाई दबाब पर्छ । बिहेमा ऋण काढेर खर्च गर्ने अनि वर्षाैंसम्म ऋण तिर्न नसकी घर खेत लिलाम भएको पनि देखिन्छ ।

जो विदेशमा गएका नेपाली कामदार छन्, तिनले एकबारको जीवन भनेर रातदिन ननिदाएर, कुरकुच्चा घोटेर, आधा पेट खाएर बडो कष्टले कमाएको डलर, पाउन्डलाई पानी सरह खर्च गरिदिँदा त्यसको नकारात्मक असर नेपाली युवायुवतीमा पर्छ नै । त्यस्ता खर्च नेपालमा बसेर कमाउन सम्भव छैन ।
 
विदेशमा कमाउन जान पनि घरबार बेच्नै पर्छ । विदेशमा पनि कमाई हुन्छ भन्ने निश्चित छैन । तस्कर, भ्रष्ट कर्मचारी, भ्रष्ट व्यापारीले सामाजिक व्यवहारमा अथाह पैसा बगाउने कारण उनीहरूसँग लुटेको धन हुन्छ । समाजमा आफ्नो हैसियत देखाउन, प्रतिष्ठा प्राप्ति र सम्मान प्राप्त गर्न सरकारका उच्च पदाधिकारीलाई रिझाउन पनि भोजभतेरमा अथाह खर्र्च गर्छन् ।

आममानिसले आफ्नो शुद्ध श्रमको र पैत्रिक धनसम्पत्ति खर्च गरेर तिनको लहलहैमा किन लग्ने ? जस्तो हैसियत छ त्यसैअनुसार सामाजिक व्यवहार गरेमा आफूलाई थप भार पर्दैन । भोलिका दिनमा आई पर्ने संकटमा केही जगेर्ना समेत हुन सक्नेछ ।

(लेखक कार्की पूर्वप्रधानन्यायाधीश हुन्)
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८०  ०९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro