site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसले वैकल्पिक गठबन्धन बनाउन कसरत थालेको हो ?

काठमाडौं । सत्ता समीकरण अदलबदल भएसँगै नेपाली कांग्रेस फेरि एकपटक प्रतिपक्षमा पुगेको छ । फागुन २१ गते 'अचानक' प्रधानमन्त्री पुष्पकमदल दाहाल 'प्रचण्ड'ले समीकरण फेरेपछि कांग्रेस प्रतिपक्षको बेन्चमा पुगेको हो ।

नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा नयाँ गठबन्धन बनिसकेको छ । सत्ता गठबन्धनमा मा‌ओवादीसहित नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) छन् । ती दलहरूबाट बनेका मन्त्रीहरूले बुधबार शपथ लिएर पदभार ग्रहण गरिसकेका छन् ।

यसका बाबजुद कांग्रेस नेताहरूले भने वैकल्पिक गठबन्धन बनाउन कसरत गरे । बुधबार बिहानमात्र पत्नी आरजु राणालाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । त्यतिबेला कांग्रेस नेता रमेश लेखकले छलफल सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए ।

तर, बुधबार साँझसम्म एकीकृत समाजवादी दुईवटा मन्त्रालय लिएर सत्ता गठबन्धनमा सामेल भइसकेको छ ।

यस्तो अवस्थामा कांग्रेसले संसद्‌मा प्रतिनिधित्व गर्ने साना दलहरूसँग संवाद थालेको छ । बुधबार अपराह्न कांग्रेस नेताहरूले देउवा निवास बूढानीलकण्ठमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाई बोलाएर छलफल गरेका छन् । 

कांग्रेसबाट सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेताहरू शेखर कोइराला र रमेश लेखक सहभागी थिए ।

बैठकपछि कांग्रेस महामन्त्री थापाले आफूहरूले सामूहिकरूपमा प्रतिपक्षमा बस्ने समझदारी गरेको दाबी गरे ।

“हामी सत्ता गठबन्धनका साझेदारहरू छलफलमा बसेका हौँ । गठबन्धन छोड्ने यत्रो ठूलो निर्णय गर्दा प्रधानमन्त्रीजीले एकपटक पनि गठबन्धनका दलसँग छलफल गर्नुभएन । यो उहाँले गठबन्धनमाथि गरेको ‘धोकाधडी’ हो भन्ने निष्कर्ष रह्यो,” थापाले बाह्रखरीसँग भने, “त्यसैले सामूहिकरूपमा प्रतिपक्षमा बसेर खबरदारी गर्ने समझदारी भएको छ ।”

उनका अनुसार तत्कालीन सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकले निर्वाचन अघिदेखि बनेको गठबन्धन तोड्दा प्रचण्डले सहयात्री दलसँग एकपटक पनि छलफल नगर्नु ‘धोकाधडी’ भएको निष्कर्ष निकालेको छ ।

तर, बैठकमा सहभागी जनमत पार्टीका अध्यक्ष सीके राउत नयाँ समीकरणका लागि मार्ग प्रशस्त भएको बताउँछन् । यद्यपि, तत्काल सरकार निर्माणको आधार नदेखिएको उनको भनाइ छ ।

“नयाँ लोकतान्त्रिक गठबन्धन निर्माणको बाटो खुला भए पनि सत्ता र शक्ति केन्द्रको संयुक्त स्वार्थमा संख्या घटिरहेको छ । त्यसैले तत्कालका लागि सरका निर्माण गर्ने सम्भावना कमजोर भएको छ,” उनले भने, “तर, सरकार गठनको मात्र कुरा नभएकाले भोलिका दिनमा पनि लोकतान्त्रिक शक्तिहरूबीचको सहकार्य विस्तारित हुँदै जानेछ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  २३:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro