site stats
बाह्रखरी :: Baahrakhari
देश
राजु पाण्डेलाई प्रश्न : महिलामाथि किन लाठी हानेको ?

काठमाडौं । बुधबार समसाँझ काठमाडौंको सुन्धारा क्षेत्रमा निस्किएका फुटपाथ व्यवसायीलाई काठमाडौं महानगर प्रहरीले निर्मम कुटपिट गरेको छ ।

महिलामाथि निर्मम तरिकाले लाठी हानेको भिडियो पनि सार्वजनिक भएको छ । फुटपाथमा निस्किएका व्यवसायीलाई उनीहरुले निर्मम तरिकाले लाठी हानेका थिए । प्रहरी बलसँगको झडपमा परेर कैयौं व्यवसायी घाइते भएका छन् ।

घाइतेहरु अस्पतालमा भर्ना भएका छन् भने केही डिस्चार्ज भएका छन् । उनीहरुलाई उपचारका लागि प्रहरीले साँझ नै ट्रमा सेन्टरमा पुर्‍याएको थियो । बिहीबार केहीलाई डिस्चार्ज गरिसकिएको छ भने घाइतेमध्ये केहीको मुखमा गम्भीर चोट लागेको पाइएको छ । व्यवसायी नानीमैया बस्नेतको टाउको र मुखमा चोट लागेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लामो समयदेखि साँझबाट सुन्धारा नेपाल टेलिकमको भवनको अगाडिपट्टिको फुटपाथमा विभिन्न सामान राखेर व्यवसाय गर्दै आएका उनीहरुलाई महानगर प्रहरी बलको टोलीले हटाउने प्रयास गरेपछि झडपको अवस्था सृजना भएको हो ।

झडपमा परेर १० जना महानगर प्रहरीसमेत घाइते भएका छन् । घाइते नगर प्रहरीहरु पनि सबै डिस्चार्ज भएका छन् । नगर प्रहरीतर्फ रन्जना मगरातीको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

घटनाबारे यसो भन्छन् महानगर प्रहरी प्रमुख राजु पाण्डे ?

हाम्रो प्रहरी टोली बुधारबार साँझ साढे सात बजे टेलिकम अगाडिको फुटपाथमा पसल नराख्नु होला भनेर माइकिङ गरिरहेको थियो । हामीले व्यवसायीहरु कसैको सामान नियन्त्रण गरेका पनि थिएनौँ ।

तर, व्यवसायीहरुले महिलाहरुलाई अगाडि सारेर पछाडिबाट ढुंगा र इँटा हान्न थाले । हाम्रो एकजना एसपीको मुखमै लाग्यो । महानगर प्रहरीमाथि पनि लछारपछार भयो । हामीले त्यसपछि प्रतिरक्षा गरेका हौँ । हामीले त्यो क्षेत्रमा राति फुटपाथ पसल नराख्नू भनेर महिनौंदेखि माइकिङ गर्दै आएका थियौँ । 

सुन्धारा क्षेत्रमा सडक व्यापार गर्दै आएका अर्जुन भट्टराईले एकाएक आतंक पार्नेगरी आफूहरुमाथि कुटपिट गरिएको बताए । “एकाएक आएर हामीमाथि लाठी प्रहार गरे,” उनले भने, “हामीलाई गाडीभित्र राखेपछि पनि हानियो, सहनुको विकल्प थिएन ।”

उनका अनुसार ‘सैनिक शासन तिमीहरुलाई थाहा रहेनछ’ भन्दै गाडीभित्र पनि लाठी र लात्तीले प्रहार गरेका थिए । भट्टराईका अनुसार दुईजना गम्भीर घाइते भएका छन् । 
घाइतेको तस्बिर सामाजिक सञ्जालबाट 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १२:५८
प्रतिक्रिया दिनुहोस्