site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चुँदीरम्घालाई राष्ट्रिय एकताको केन्द्र र साहित्यिक तीर्थस्थल बनाउन राष्ट्रपतिको जोड 

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई सिंगो नेपालको प्रतिबिम्ब झल्कने गरी राष्ट्रिय एकताको केन्द्र र संसारभरिका नेपाली एकचोटी पुग्नैपर्ने साहित्यिक तीर्थस्थलका रुपमा विकास गरिनुपर्ने धारणा व्यक्त गरेका छन् ।

भानु साहित्य उद्यानको सहकार्यमा भानु नगरपालिकाद्वारा आज यहाँ आयोजित भानु साहित्य उद्यानको गुरुयोजना अवधारणापत्र एवम परामर्श कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले देशका सातै धाम एकै ठाउँमा निर्माण गरेर यहाँ नेपालका नेपाली, नेवारी, मैथिली, भोजपुरी, अवधी, राई, लिम्बू तामाङ, गुरुङ मगर इत्यादि सबै भाषाका साहित्यिक प्रतिभाहरूलाई एकै ठाउँमा राखेर कलात्मक र प्राकृतिक सौन्दर्यसहित आर्थिक सहयोग जुटाएर गुरुयोजना अनुरुप भानु साहित्य उद्यान निर्माणको परिकल्पनालाई साकार पार्न लाग्नुपर्नेमा जोड दिए ।

“यसले नेपाली राष्ट्रिय भावनालाई उद्वेलित र उद्दीप्त गराउने छ तथा जीवनमा नेपालीले एकपटक पुग्नै पर्ने साहित्यिक तीर्थस्थल र पर्यटकीय गन्तव्य स्थल बनाउने छ भन्ने मलाई पूर्ण विश्वास छ”, राष्ट्रपति पौडेलले भने ।

आदिकवि भानुभक्तको प्रतिमा केन्द्रमा राखेर अन्य भाषाभाषीका आदिकवि, ती भाषाका विशिष्ट साहित्यिक प्रतिभा र आ–आफ्ना मातृभाषामा विशिष्ट रचना गर्ने कविहरूको प्रतिमा स्थापना गरी चुँदीरम्घालाई विभिन्न भाषाका कविहरूको फूलबारी बनाउँदै एउटा विशिष्ट साहित्यिक तीर्थस्थलको रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो । 

साहित्यिक तीर्थयात्रीका निम्ति चुँदीबेँसी, भानु स्मृति भवन, रम्घाको डाँडो, नेपाली साहित्यका कवि शिरोमणि लेखनाथ पौडेलको जन्मथलो अर्घौअर्चले, जनकवि केशरी धर्मराज थापाको बाटुलेचौर र लोकगायक अलि मियाको जन्मस्थल कुँडहर हुँदै राष्ट्रकवि माधव घिमिरेको घर पुस्तुन लमजुङ, मानुङ आदि विविध भानुस्मृति स्थलहरू संयोजन गरी एउटा भानु सर्किट बनाउन सकिने र यस सर्किटले भानुभक्तका स्मृतिलाई चिरकालसम्म जीवन्त बनाई राख्ने उनको भनाइ थियो । 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  १८:४८
प्रतिक्रिया दिनुहोस्