site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
स्वास्थ्य बिमा कार्यक्रम भ्रष्टाचारको माध्यम बन्यो : सभामुख 
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बिमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन् । राजनीतिक दल र जनप्रतिनिधिमा चेतनाको अभावका कारण सो कार्यक्रम भ्रष्टाचारको माध्यम बनेको उनको भनाइ छ ।

“...यो नै एउटा भ्रष्टाचारको माध्यम बनिरहेको छ । स्वास्थ्य बिमालाई ठिक ढंगले प्रयोग गर्ने बारेमा जनप्रतिनिधि र राजनीतिक संघ–संस्थाहरूकै चेतना छैन,” उनले भने, “सरकारले यो कसरी लागु गरिरहेको छ र योभित्र भ्रष्टाचार कसरी हुनसक्छ भन्ने कुराकै जानकारी छैन ।”

राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले शनिबार संसद् भवनमा आयोजना गरेको एक कार्यक्रममा उनले राजनीतिक दल र जनप्रतिनिधिले मसिनोसँग ख्याल गरे त्यस्ता कार्यक्रममा हुने भ्रष्टाचार नियन्त्रण गर्न सकिने बताए ।

क्यान्सरजस्ता घातक रोग लाग्नै नदिने र चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने कार्यमा राजनीतिक दल जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण हुने उनले उल्लेख गरे । जनतामा चेतनाको अभावमा त्यस्ता घातक रोग लाग्ने भन्दै उनले लाग्नै नदिने गरी जनप्रतिनिधिले चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

उनले क्यान्सर रोगको निदानका निम्ति आवश्यक ऐन, कानुन बनाउने विषयमा आफूले सक्दो सहयोग गर्ने आश्वासन समेत दिए ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी थापा (रावल)ले स्वास्थ्य बिमा कार्यक्रम समेटेर क्यान्सर रोगको उपचारको व्यवस्था मिलाउन सरकारलाई सचेत गराइन् । क्यान्सरको पीडाबाट मुक्त भएकी उनले किशोरीका निम्ति पाठेघरविरुद्धको क्यान्सर अभियानलाई देशभर सञ्चालन गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।

“क्यान्सर रोगलाई स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत समेटी उपचारको व्यवस्था मिलाउन सरकारसँग आह्वान गर्दछौँ । क्यान्सर रोगको सचेतनाका लागि विद्यालय तहदेखि नै पाठयक्रममा समावेश गरी पठनपाठन गराउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्दछौँ,” उनले भनिन्, “किशोरीहरूका लागि पाठेघरविरुद्धको क्यान्सर अभियानलाई देशभर सञ्चालन गर्न सरकारसँग माग गर्दछौँ ।”

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले क्यान्सर रोग लाग्नै नदिने गरी ठोस कदम चाल्न प्रमुख दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराए । उनले काठमाडौं उपत्यकामा फोक्सोको क्यान्सर बढी हुने उल्लेख गर्दै त्यसमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न ढिलाइ गर्न नहुने पनि बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro