site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘कवि घर’ को मुस्कान

पुस्तक अंश 

तेजप्रकाश श्रेष्ठ

हरियो डाँडामाथि
हलो जोत्ने साथी
ह ह माले ह ह
ह ह झाले ह ह ।

‘कवि घर’ मुसुक्क मुस्कुरायो । हामी मुसुक्क हाँस्यौँ । मुस्कान साटियो ।

“सन्चै ?” नेपाली संस्कार लत्पतियो ।

Global Ime bank

“सन्चै छौँ !” प्रत्युत्तर पोखियो ।

सन्चै ? कता लाग्नु भो ? खाना खानु भो ? यस्तै भलाकुसारी हुनेगर्छ भेट हुँदा नेपाली संस्कारमा । मिठो लाग्छ मलाई आफ्नो संस्कार । प्यारो लाग्छ मलाई आफ्नो संस्कृति ।

पाहुना भनेपछि हुरुक्क हुने हाम्रो समाज । हामी पुगेका छौँ यतिबेला
जनकविकेशरी धर्मराज थापाको ‘कवि घर’ ।

खुला छ प्रवेशद्वार । सिर्सिर बतासले स्वागत बर्साइरहेथ्यो । एक हुल छौँ हामी लोकवार्तामा रमाउन खोज्नेहरू । लोकगीत र लोकसंकृतिका संवाहकको घरमा ह्वाह्वार्ती पस्छौँ ।

‘हाम्रो संस्कृति, हाम्रो पहिचान’ नारा हो हाम्रो ।

२०८० कार्तिक १९ को घमाइलो दिन । पोखरा पनि उन्मुक्त देखिन्थ्यो । कवि घर पुग्नुअगि पृथ्वीनारायण क्याम्पसको नेपाली विभाग जम्जमाइरहेको भेटियो ।

अर्धीका हरिबहादुर गन्धर्व र चित्रबहादुर गन्धर्वको सारङ्गीको मधुर धुनले लट्ठ पार्यो । भर्खर स्थापित ‘विभागीय पुस्तकालय’ माछापुछे« उक्लिन खोज्दैरहेछ सुव्यवस्था र संकलनको क्रममा ।

मित्र प्रा.डा. कुशुमाकर न्यौपानेको सक्रियता लोभलाग्दो भेटेँ मैले ।

‘साहित्यको आलोकमा तेज’ पुस्तक हस्तान्तरण गर्न पाएँ मैले । पुस्तकालयको शोभा बन्ने छ अवश्य । एउटा लेखकका लागि गौरव अनुभव हुन्छ ।

‘कवि घर’को सिनित्त पोतिएको पिँढी र ढुङ्गा छापिएको आँगन प्रतीक्षारत भेटिए । जनकविकेशरीका सन्तति मदनराज र कुञ्जराजले अगुवाइ गरे आत्मीयताका साथ ।

जनकविकेशरी धर्मराज थापाको शतवार्षिकीमा जम्जमाइरहेको रहेछ ‘कवि घर’ । हरियालीले छपक्कै फुलबारी ! नेपाली पाराको घर आँगन । ओखरको विशाल रुखको चौतारीले सम्झाइरहेथ्यो जनकविकेशरी धर्मराज थापा । अमर साधक ।

“यही चौतारीमा हो बुबाले लोकगीत गुन्गुनाउने, कविता रचना गर्ने, बेलाबेला कवि गोष्ठी गर्ने । बर्साैँदेखिको साक्षी हो यो वृक्ष । अहिले पनि यस वृक्षमा हामी बुबा गुन्गुनाउनु भएको सुन्छौँ, सुसेल्नु भएको पाउँछौँ र चौतारीमा निमग्न भएर ध्यानस्थ भएको भेट्छौं ।”

जेष्ठ पुत्र मदनराज थापा भावुक बन्छन् ।

डाँफेचरी भुर्र उड्छ आँगनमा । वर्तमान सम्पादक हुन् मदनराज थापा । बुबाको बिँडो थामेका छन् । मर्न दिएका छैनन् बुबाको सिर्जना ! ‘डाँफेचरी’ साँस्कृतिक पत्रिका भुर्र भुर्र उडिरहेकै छ ।

अर्का सुपुत्र कुञ्जराज थापा बुबालाई सम्झँदै भावुक बन्छन् ।
जन जनको मनमा
कखरा लेख्न सिकायौ
पोखरा मात्र नभनी
हराभरा नेपाल बनायौ ।
मेरो नेपाल भनी
हाम्रो संस्कृति देखायौ
हँसियाको धारलाई
लोकगीतको आधार बनायौ ।
जनकविप्रति, कुञ्जराज, साँधु : साङेसाङ (पृ. ५९)

आहा ! कविका सन्तति कवि हुनु सुखद अनुभुति हैन त !

फलफूलले लटरम्म करेसाबारी जम्जमाउँछ । शीतल परिवेशमा रमाउँछ मन । म अनुभूत गर्नपुग्छु लोकगीतको गुन्जन । कविताको स्पन्दन ।

हात पर्छन् ‘साँधुः साङसाङ’ र ‘झिसमिसेमा स्वयम्भु’ (कविता संग्र्रह) । गद्गद् हुन्छ हृदय ।
हे कवि ! तिमी युगका छवि
चिन्तन्का चौतारी
झुल्केका तारा सबैका प्यारा
जन्मेका औतारी ।
कवि, कुञ्जराज, झिसमिसेमा स्वयम्भु (पृ.१०)

आहा ! कवि कुञ्जराज थापा । साहित्यिक मनका रहेछन् दाजु मदनराज झैँ । जनकविका सुपुत्रमध्येका दुई साहित्यिक हृदयहरूलाई नमन गर्छु म ।

चञ्चल बनिरहेछन् मेरा भावनाहरू । चारैतिर छ्यालब्याल देख्नथाल्छु म काव्यमय परिवेश ।

देख्न थाल्छु म जताततै जनकविकेशरी धर्मराज थापा ।

ढुङ्गाले छाइएको तीन तले लाम्चिलो घरमा बसेर लोकगीत गुन्गुनाइरहेका जनकवि थापा । दुवैतिर पाली निकालिएको पिँढीमा पलेटी कसेर गीत र कविता रचिरहेका गीतकार थापा ।

भव्य घरको झ्यालझ्यालबाट चियाउँदै डाँफेचरीसँग लुकामारी गरिरहेका सम्पादक थापा । अनि तलतिर रातो माटो र माथिपट्टि सेतो कमेरोले पोतिएको नेपाली शैलीको सुरम्य घर छोडेर लोकसाहित्य र संस्कृतिको अनुसन्धानमा कुदिरहेका अन्वेषक थापा ।

अनि मलाई भन्न मन लाग्छ ‘कर्मशील हुन् धर्मराज थापा । सिर्जनशील हुन् धर्मराज थापा । भ्रमणशील हुन् धर्मराज थापा । लोकगायक हुन् धर्मराज थापा । अन्वेषक हुन् धर्मराज थापा । कुशल सम्पादक हुन् धर्मराज थापा । अन्ततः जनकविकेशरी हुन् धर्मराज थापा ।’

धर्मराज थापा के होइनन् ? जनजनका ढुकढुकी हुन् । मनमनका संवाहक हुन् ।

उनैको सम्झनामा ‘कवि घर’मा केहीबेर रुमल्लिरहन्छौँ हामी । लोकसाहित्य र लोकसंस्कृतिको खोजीमा भौतारिरहेका हामी । लोकवार्ताको अभियानमा आइपुगेका हौँ बाटुलेचौर ।

लोकगीतको उर्वर भूमि । गन्धर्वको बाक्लो बस्तीको माझमा मुस्कुराइरहेको कवि घर’ ।

नियास्रिन दिएका रहेन छन् सन्ततिहरूले । घर र बगैँचालाई चिटिक्क पारेर राखिएका रहेछन् । आफ्नो पुर्ख्यौली घर ! माया कसरी टुट्थ्यो र ! बरु सिँगार्ने योजना बनाउँदै रहेछन्, एउटा भव्य संग्रहालयकै रूपमा ।

लोकसाहित्यिक तथा लोकसांस्कृतिक तीर्थस्थल बन्दैरहेछ ‘कवि घर’ । न्यानो लाग्यो मज्जाले ।

सँगै रहेको छुट्टै घरलाई जनकविकेशरी धर्मराज थापा संग्रहालयको लघु रूप दिइएको रहेछ । जनकविकेशरीले प्रयोग गरेका केही सरसामान, केही प्रमाणपत्र, केही पुस्तकहरू व्यवस्थित रूपमा सजाइएका थिए ।

लघु संग्र्रहालयको अवलोकनले नै अझ तृप्ति दिलायो । रेखदेखको जिम्मा रहेछ कवि कुञ्जराज थापाको । प्राध्यापक पेशामा संलग्न कुञ्जराजको रेखदेख मिठो थियो ।

“मित्रहरू, अब लागौँ ढिलो हुन्छ । बागलुङ पुग्नुछ अझै । यो त हाम्रो यात्रा प्रारम्भ मात्र हो ।” हाम्रा अगुवा प्रा.डा. प्रेम खत्री (अध्यक्ष, लोकवार्ता परिषद् नेपाल) ले खेद्न थालिहाले ।

हाम्रो लोकवार्ता टोली अगि बढ्यो स्मृतिमा ‘कवि घर’को मुस्कान र जनकविकेशरी धर्मराज थापाको कर्मण्यता अँगालेर ।
‘कवि घर’ गुन्गुनाइरहेको थियो—
हिमचुली आँठ काँठे हिमै बरस्यो
दाताज्युको गृह्यामा सुनै बरस्यो
सुनारैको जाबीमा ढुक्कुरको छाती
कहाँ जान्छौ परदेशी ?
सन्जे बेला राती ? मेरो नेपाल भ्रमण (पृ.२१३)
२०८० मङ्सिर १

(हालै प्रकाशित श्रेष्ठको नियात्राकृति ‘ग्वंगचुलीको हिउँ’ को अंश)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १२, २०८०  १२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu