मैले फुरुक्क परेर उसलाई आँखा चिम्लिन भनेँ । उसले त्यसै गरी । झोलाबाट निकालेर उसका सामु रङबिरंगी चकलेटहरू राखिसकेपछि मक्ख पर्दै आँखा खोल्न भनेँ ।
उसले आँखा खोली । अचानक दुनियाँभरका अँध्याराहरू उसको मुहारमा पोतिए ! उसले आँखाबाट बर्र आँसु खसाई र भएभरको शक्ति लगाएर चकलेट मतिर हुर्याई ।
चकलेटहरू भुइँभरि छरिए । केही सोच्न या सोध्न नभ्याउँदै स्कुटर चलाएर त्यहाँबाट गई ।
म छक्क परेर उभिइरहेँ ।
पाँच घण्टाको फोन स्वीच अफपछि मेरो मोबाइलमा बल्ल एउटा लिंक पठाई । खोलेर हेरेँ । बाह्र वर्ष पुरानो समाचारको लिंक थियो । शीर्षक थियो– चकलेट दिई एक शिक्षकद्वारा दशवर्षे बालिका बलात्कृत !
सँगै उसको म्यासेज थियो– सुरेश, त्यो बालिका मै हुँ । मलाई संसारको सबैभन्दा मन पर्ने कुरा चकलेट लाग्दथ्यो । त्यो पापीले चकलेटलाई डरलाग्दो ऐँठनमा बदल्दियो । मलाई थाहा छ, तिमी एक बलात्कृत केटीसँग अब सम्बन्धमा बस्न चाहँदैनौ । त्यसैले बिदा माग्दै छु । गुड बाई !
म रन्थनिएँ ।
त्यो मानसिक आघातले एक हप्ता आफूलाई बन्द कोठामा थुनेर राखेँ । तब गएर मेरो पुरुष हृदय, मनमस्तिष्क सबैतिर झिलिमिली घाम लाग्यो । खुसीले सिमलको भुवाझैँ हलुका हुँदै काँपेका हातले म्यासेज लेखेँ– नूमा, म तिमीतिरै आउँदै छु । पर्खिराख है ! म कसम खाएर भन्छु– त्यो बाल्यकालको घटनाका बारेमा जिन्दगीभर प्रश्न गर्ने छैन । म तिमीलाई सारै माया गर्छु । विल यु म्यारी मि ?
म्यासेज गएको केही सेकेन्डमै उताबाट जवाफ आयो– एस, आई डु । अनि, रोएका इमोजिहरू पनि ।
मोटरसाइकल निकालेर म तुफान गतिमा नूमाको घरतिर बत्तिएँ । यो सोच्दै कि– एउटा खराब पुरुषले गर्दा गुमेको तिम्रो चकलेट मोह म एउटा असल पुरुष बनेर फर्काउनेछु । जुन दिन तिमीले मिठो मानेर फेरि चकलेट खान सक्नेछौ, त्यस दिन म आफूलाई सफल पति भएको ठान्नेछु ।