काठमाडौं । भद्रकालीको चिसो सडकमा चप्पल ओछ्याएर पलाटी मारेर बसेका मिटरब्याज पीडितहरूको एक छेउमा केही महिलाको समूह थियो । अगाडि मिटरब्याज पीडितको आन्दोलनलाई साथ दिन आएका पार्टीका नेताहरू पालैपालो भाषण गरिरहेका थिए । नेताहरूको भाषणलाई बुझेर वा नबुझेर ती महिलाहरू चाख दिएर सुनिरहेका थिए ।
आफ्नै स्थानीय भाषाबाहेक नेपाली बोल्न नजान्ने ती महिलाहरू हुन्, रौतहटका । उनीहरूलाई आफ्नै मातृभाषा मात्र बोल्न आउँछ ।
उनीहरू मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको आन्दोलनमा हिँडेको शुक्रबार २५ दिन भयो ।
उनीहरूको अवस्था हेर्दा धेरै दिनदेखिको निद्रा र भोक प्रस्ट देखिन्थ्यो । बसेकै ठाउँमा कतिजना त झुलिरहेका थिए ।
उनीहरू २५ दिनदेखि लामो पैदलयात्रा गरेर रहरले काठमाडौं आएका हैनन् । आफ्नै छिमेकी साहु महाजनहरूले उठिबास लगाएपछि बाध्य भएर आएका हुन् ।
आन्दोलनमा सहभागी रौतहटको गरुडा नगरपालिका, पिपरिया दोस्तिया–४ की मेरातुन खातुन आफूले लघुवित्तबाट लिएको ऋण तिर्न नसकेर आन्दोलनमा आएको बताउँछिन् ।
उनका श्रीमान् लाल महामद जमानीमा बसेका थिए । उनका श्रीमान्को मृत्यु भइसक्यो । खातुनका एक छोरी र एक छोरो छन् । ऋणकै कारणले उनका छोरो अहिले भारतमा मजदुरी गर्दै छन् ।
तर, उनले मिथिला लघुवित्तबाट लिएको ऋण तिर्न सकेकी छैनन् । उनले पटक–पटक किस्ता तिर्दै आएकी छन् । तर, लघुवित्तले एकमुस्ट पाँच लाख तिर्न दबाब दिएको उनी बताउँछिन् ।
“अहिले मेरो घरमा ताला लगाइदिएको छ । घरमा म र छोरी मात्र छौँ,” उनले भनिन्, “मैले साहुको ऋण तिर्न लघुवित्तबाट पाँच लाख ऋण लिएकी हुँ । तर, साहुकामा राखेको जग्गा पनि फिर्ता आएन उल्टै मुद्दा पर्यो ।”
आन्दोलनमा सहभागी रौताहटकै चम्पादेवी पटेलको पनि पीडा उस्तै छ । उनले पनि विजय साह (साहु)बाट ७० हजार ऋण लिएकी थिइन् । त्यो ऋण लिँदा जग्गा पनि धितो राखेकी थिइन् । सत्तरी हजारको उनले एक वर्षमा दुई लाख ५० हजार तिरिन् । तर, उनको ऋण चुक्ता भएको छैन । उनले राखेको जग्गा पनि साहुले नै खाइदियो ।
त्यही साहुको ऋण तिर्न आफूले १५ वटा लघुवित्तबाट ऋण लिएको उनी बताउँछिन् ।
“सुरुमा मैले श्रीमान् बिरामी हुँदा उपचारका लागि साहु महाजन विजय साहबाट ७० हजार ऋण लिएँ,” उनले भनिन्, “त्यो ऋण चुक्ता गर्न मैले अहिलेसम्म १५ वटा लघुवित्तबाट ऋण लिएकी छु ।”
मिटरब्याज पीडितहरूका समस्या प्राय: एकैजस्ता देखिन्छन् । साहुले ऋण दिँदा तमसुक गर्ने र असुल्दा सावाँको पाँच गुणासम्म असुल्ने गरेको उनीहरूको भनाइ छ । धितो राखेको जग्गा पनि साहुले नै बेचेर करोडौँ पैसा लिने गरेको आन्दोलनमा सहभागी बताउँछन् ।
अर्का सहभागी मोहन महतोको पनि दुःख उस्तै छ । उनले अनरुद्ध साहबाट घरखर्च चलाउन दुई लाख रुपैयाँ ऋण लिएका थिए । त्यो ऋणको सावाँ–ब्याज तीन वर्षमा ६ लाख ३० हजार तिरेको बताउँछन् । उनले ६ कठ्ठा जग्गा पनि बन्धकीमा राखेका थिए । तर, उनको जग्गा अहिलेसम्म पनि फिर्ता आएको छैन ।
त्यसैगरी रौतहटकी मिनादेवी पटेलको पनि समस्या उस्तै छ । उनले पनि साहु महाजन प्रमोद साहबाट एक लाख ५० हजार लिएकी थिइन् । तर, उनले ६ लाख रुपैयाँ तिरिसकेको बताइन् ।
आफूले साहुबाट ऋण लिँदा दृष्टि बन्धकमा राखेको चार कठ्ठा जग्गा पनि साहुले नै लिएको उनी बताउँछिन् ।
माघ १६ गतेदेखि पूर्व मेचीदेखि चितवन हुँदै काठमाडौं र पश्चिम महाकालीदेखि चितवन हुँदै काठमाडौंको बाटो ऋणीहरूले तय गरेका हुन् ।
उनीहरूको समस्या मिटरब्याज प्रमुख भएपछि पछिल्ला दिनमा लघुवित्त पनि समस्या नै बन्दै गएका छन् । आय आर्जन नै नभएका घरपरिवारलाई जति पनि ऋण लघुवित्तको प्रचलनले समस्या निम्त्याएको छ ।
तस्बिरहरू : हरिशजंग क्षत्री/बाह्रखरी