विराटनगर । झापाको बाहुनडाँगी हात्ती प्रभावित क्षेत्र हो । बर्सेनि हात्तीले जनधनको ठूलो क्षति गर्छ । हात्तीसँग खुसाउनेभन्दा रिसाउने गाउँले धेरै छन् । पटाका पड्काएर तर्साउँछन्, कतिले तारमा करेन्ट नै छाडिदिन्छन् । यहाँ वर्षौंदेखि मान्छे र हात्तीबीच द्वन्द्व चलिरहेको छ । दोहोरो आक्रमणको श्रृङ्खला अहिले पनि जारी छ ।
त्यही बाहुनडाँगीका शंकर लुइँटेल भने फरक छन् । आइपरे रातबिरात जंगल डुल्छन् । कहिले झिसमिसेमै मेची नदी किनारतिर हानिन्छन् । हमेसा क्यामेरा भिरेर हात्ती पछ्याउँछन् । यो काम सहज छैन । कहिले त त्यसै भौँतारिएर रित्तै फर्कनुपर्छ । हात्तीको आक्रमणमा परिने डर पनि उत्तिकै हुन्छ ।
मेची किनारमा दौडिरहने शंकरलाई गाउँलेले ‘हात्ती पण्डित’ भन्छन् । जंगली हात्तीको न्वारान गरिदिने भएकाले उनको परिचय नै फेरिएको हो । आफूले नयाँ नाम दशकौँको मेहनतपछि पाएको उनी बताउँछन् ।
“मानिसका नवजात शिशुको न्वारान गर्न पूजापाठ र हवन हुन्छ । हात्तीको न्वारान गर्न धेरै गाह्रो छ,” लुइँटेलले भने, “मान्छे जन्मेको सात दिनमा नाम राखिन्छ । तर, हात्तीको न्वारान गर्न दशौँ वर्ष लाग्न सक्छ । यो जन्मने बित्तिकै राखिने होइन ।”
उनले १० वटा रैथाने हात्तीको न्वारान गरिसकेका छन् । झापाका विभिन्न वन खण्डहरूमा पाइने ४५ वर्षदेखि ६० वर्षसम्मका हात्तीको नाम उनैले राखेका हुन् ।
जंगे गज, एकदाह्रे सानी गज, ठुटे अञ्जु गज, सेते गज, जलथले गज, तालबेताल गज, घुमन्ते गज, कान दुले गज, घुमन्ते यव गज र सुनौलो दाँते गज शंकरले न्वारान गरिदिएका हात्ती हुन् । ती हात्ती नेपाल र भारतका वनमा ओहोरदोहोर गरिरहन्छन् ।
शंकरले न्वारान गरेका हात्तीको नामलाई सरकारले समेत मान्यता दिएको छ । आक्रामक र शान्त स्वभाव दुवै भएका रैथाने हात्तीको परिचय र हुलियासहित डिभिजन वन कार्यालय झापाले पर्चा नै छापेको छ ।
शंकर भन्छन्, “मैले नेपाल भारका सिमाना र गाउँ बस्तीमा डुलिरहने यी सबै हात्तीको फोटो खिचेको छु, नजिकबाट अवलोकन गरेको छु । यिनीहरूको शरीरको बनावट, हाउभाउ सबै कुरा संकलन गरेर परिचयका साथ नाम राखिदिएको छु ।”
हात्तीको समस्याबाट मानिस र उसलाई पनि बचाउनुपर्छ भन्ने बुझाउन शंकरले एकपटक २०६४ सालमा तत्कालीन बाहुनडाँगी गाविस कार्यालयमा तालाबन्दी गरे, संघर्ष समिति बनाए । त्यसपछि सरकारी निकायले उनीतिर अलिअलि ध्यान दिए । जिल्ला विकास समितिबाट सहयोग भयो ।
त्यसपछि उनले हात्तीबारे अनुसन्धान थाले । हात्तीको प्रोफाइल बनाउन थाले । भारतको दार्जिलिङमा पढेर गाउँ फर्किए । आर्टसको विद्यार्थी भए पनि हात्ती आउने, घर भत्काउने, मानिसलाई आक्रमण गर्ने हुन थालेपछि आफूले हात्तीको स्वभावबारे अध्ययन थालेको उनी बताउँछन् ।
“हात्तीको फोटो खिच्न मेचीखोलाको तीर अनि कहिले जंगल पस्न थालेँ । फोटो खिचेर ल्याएँ । गाउँलेलाई देखाएँ । यही हात्ती हो कि होइन भनेर सोध्ने गरे । यति गर्दागर्दै हात्तीको प्रोफाइल नै बन्न थाल्यो,” उनले भने ।
उनका अनुसार अहिलेका रैथाने १५ मध्ये तीनवटा हात्ती मान्छे मार्ने छन् । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले फागुन ९ गतेबाट सुरु गरेको हात्तीमैत्री पदयात्रा सकारात्मक भएको उनले प्रतिक्रिया दिएका छन् ।
“यसबाट मानिस–हात्ती द्वन्द्व घटाउने योजना बनाउन मद्दत पुग्छ । गाउँमै आएको सरकारले वास्तविक समस्या बुझ्ने छ भन्ने लागेको छ,” उनले भने ।
पर्यटन वन तथा वातावरण मन्त्रालय कोसी प्रदेशका सचिव विशाल घिमिरेले मानिसहरूलाई सचेत गराउन हात्तीको प्रोफाइल सार्वजनिक गरिएको र हात्तीको व्यवहार र हुलिया समेटिएको प्रोफाइल सबै शंकरले नै तयार गरेको जानकारी दिए ।
“हात्तीको फोटोसहित उसको हाउभाउ र हुलियासमेत बुझिने गरी गाउँगाउँमा पर्चा वितरण गरेका छौँ,” घिमिरेले भने, “गाउँमा यी हात्ती आए अनलाइन र फेसबुकमा बनाइएको हात्ती सूचना केन्द्रमा तत्काल सूचना प्रवाह हुन्छ, गाउँलेले खबर गर्छन् ।”
यस्ता छन् न्वारान गरिएका हात्ती
जंगे गज : मकुना भाले हात्ती हो । यसको उमेर ६० हो । यसका दाह्रा छैन् । अन्दाजी ९ फिट अग्लो छ । कान दोब्रिएका छन् । दाहिने कान चिरिएको छ । देब्रे खुट्टाको माथि जिउमा सानो मासुको पोका छ । माछाको काँडा आकारको रौँ भएको पुच्छर छ । यो आक्रामक छ ।
एकदाह्रे सानी गज : यो भाले हात्ती हो । उमेर ६० वर्षको हो । देब्रे दाह्रा भाँच्चिएको छ । यसको कुमको उचाइ ९ फिट ३ इन्चको छ । दाहिने कान चिरिएको छ । रौँ भएको माछाको काँडा आकारको छ । शान्त स्वभाव छ ।
ठुटे अञ्जु गज : भाले हात्ती । उमेर ५० वर्ष । छोटो पहेँलो दाह्रा । १० फिट अग्लो । तल्लो भाग सेतो नभएको सुँड । दाहिने कान चिरिएको । माछा काँडा आकारको पुच्छर । शान्त स्वभाव । बाहुनडाँगी, तेलपानी, पाँचपोखरी, चारआली क्षेत्रमा देखिने गरेको ।
सेते गज : मकना जंगली हात्ती । मकना भाले हात्ती । दाह्रा नभएको । आठ फिट ५ इन्च अग्लो । सुँड सेतो नभएको । दुवै कान सेतो । पुच्छरमा रौँ नभएको । शान्त स्वभाव । झापा जिल्लाका सबै क्षेत्र डुलिरहने ।
तालबेताल गज : भाले हात्ती । उमेर ५५ वर्ष माथि । ९ फिट ५ इन्च अग्लो । पुच्छर रौँ नभएको । आक्रामक स्वभावको । बाहुनडाँगी, तेलपानी, पाँचपोखरी, चारआलीतिर देखिने गरेको । दाह्रा तलमाथि भएको ।
जलथले गज : भाले ६० वर्षको हात्ती । लामो मिलेको दाह्रा । कुमको उचाइ १० फिट । दृष्टि कमजोर भएको । दुब्लो र पेटभित्र पसेको । शान्त स्वभाव ।
घुमन्ते राजगज : भाले हात्ती । ५५ वर्ष उमेर । बाहिर फारिएको दाह्रा । कुमको उचाइ ९ फिट ९ इन्च । दुवै कान पछाडि सेतो भएको । रौँ भएको पुच्छर । आक्रामक स्वभाव ।
कानदुले गज : मकना भाले हात्ती । दाह्रा नभएको । आठ फिट ५ इन्च उचाइँ । कान माथि दोब्रिएको । देब्रे कानमा प्वाल । एकापट्टिमात्र रौँ भएको पुच्छर । आक्रामक स्वभाव ।
घुमन्ते युव गज : मकुना भाले हात्ती । उमेर ५० वर्ष । दाह्रा नभएको । ९ फिट कुमको उचाइ । देब्रे कान तल च्यातिएको । देब्रे खुट्टाको माथि घाउ जस्तो देखिने गाँठो रहेको । बढी आक्रामक स्वभाव । झापा जिल्लाभर घुमिरहने ।
सुनौलो दाँते गज : भाले हात्ती । पहेँलो रङको दाह्रा छोटो मिलेको । कुमको उचाइ आठ फिट ३ इन्च । माथि दोब्रिएको, तल हल्का सेतो भएको । ढाडको भाग उच्च । माछाको काँडाजस्तो पुच्छर । धेरै शान्त स्वभाव