ललितपुर । नेपाली कांग्रेसको जारी महासमिति बैठकको समूहगत छलफलमा युवाहरू कांग्रेसमा किन लाग्ने भन्ने विषयमा प्रश्न उठेको छ । बुधबार कन्चनपुरका मदनराज उपाध्यायले आफ्ना अभिभावक कांग्रेस भएकै कारण सन्तान कांग्रेस हुने हो कि केही नीति छ भन्दै प्रश्न गरे ।
उनले भने, “म २७ वर्षे युवा हो । म मेरो बुवा कांग्रेस भएकाले म कांग्रेस हुने ? युवा कांग्रेस किन हुने ? कांग्रेस हुने आधार के हो ? यो उत्तर चाहिन्छ ।” उनले महासमितिमा जान युवाहरूलाई रोक्नेहरूलाई भोट फेरि युवाले नै हाल्नुपर्ने भन्दै आक्रोश पोखे ।
“महासमिति जान नदिने, बच्चा हो नजा भन्ने अनि भोट चाहिँ हामीले हाल्नु पर्ने ? वडादेखि केन्द्रसम्म ५० प्रतिशत युवा हुनुपर्छ । नभए हामी किन चाहियो ?,” उनले भने, “किन कांग्रेसमा लाग्ने ? नेपाली कांग्रेसले अवसर दिएको छैन ।”
नेताहरूले आफ्ना मान्छेलाई मात्रै भ्रातृ संगठनमा ठाउँ दिएको भन्दै उनले आपत्ति जनाए । “आज खल्तीको मान्छे भातृ संस्था बनाउनुहुन्छ । अधिवेशन नभएर नेता भेट्न ठिक्क छ । ग्राउन्डमा कहिले जाने हामी ? कसरी काम गर्ने ?” उनले प्रश्न गरे । उनले जात र धर्मको नाममा राजनीति नगर्न पनि सुझाव दिए ।