site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
माङसेवुङमा एकैपटक चारवटा सिँचाइ आयोजना थालिए

फिक्कल । इलामको माङसेबुङ गाउँपालिकामा दुई करोड ३३ लाख ६७ हजार लागतमा चारवटा सिँचाइ आयोजना सुरु भएको छ । माङसेबुङ गाउँपालिका–१ का चार टोलमा सुरु भएको सिँचाइ आयोजनाको शिलान्यास भएको छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले चारवटै योजनाको संयुक्तरूपमा मंगलबार अपराह्न शिलान्यास गरेका हुन् । 

गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत तोभाङमा दुई, नाङरुङमा एक र खोलागाउँ टोलमा एक सिचाँइ योजनाको शिलान्यास भएको माङसेबुङ गाउँपालिका–१ का वडाध्यक्ष भूपाल योङहाङले जानकारी दिए । ९४ घरधुरी किसान प्रत्यक्ष लाभान्वित हुनेगरी स्थानीय लम्फेवा खोलाबाट दुईवटा, फुङखोलाबाट एक र फेवाखोलाबाट एक सिँचाइ कुलो निर्माण सुरु भएको हो । तोभाङमा ९३ लाख लागतमा लम्फेवा खोलाबाट निवाघारी र ५५ लाख ६८ हजार लागतमा सोही खोलाबाट लामपाते कुलो निर्माण सुरु भएको छ । 

नाङरुङमा ३९ लाख २१ हजारको लागतमा फुङखोलाबाट घुमाउँरो पाक्रुम्बा कुलो र खोलागाउँमा ४५ लाख ७८ हजार लागतमा फेवाखोलाबाट बाह्रमुरे कुलो निर्माण सुरु भएको वडाध्यक्ष योङहाङले बताए । 

सिँचाइ योजनाका लागि स्वीस सरकारको ३० प्रतिशत, संघीय सरकार, प्रदेश सरकार र माङसेबुङ गाउँपालिकाको २०–२० प्रतिशत र स्थानीय उपभोक्ताको १० प्रतिशत लागत साझेदारी रहेको छ । योजना आगामी असार २० गतेसम्म सम्पन्न गर्नेगरी सम्झौता भएको छ । 

गतवर्ष सोही वडामा दुई करोड १४ लाख लागतमा चारवटा सिँचाइ कुलो निर्माण सम्पन्न भएका छन् । पाटीगाउँ, गजुरमुखीधाम, दोभान र तोभाङ टोलमा निर्मित सिँचाइ कुलोबाट एक सय ३७  किसान लाभान्वित भएका छन् । 

सिँचाइ सुविधा पुगेपछि धान उत्पादनमा वृद्धि हुने स्थानीयको अपेक्षा छ । कृषि ज्ञान केन्द्र इलामको तथ्यांकअनुसार यस वर्ष १४ हजार ८१० हेक्टर क्षेत्रमा धानखेती गरिएको थियो । इलाममा रञ्जित, राधा चार, चुल्ठे र अन्य स्थानीय जातका धानखेती गरिन्छ । 

युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन कृषि क्षेत्रमा आकर्षित गरी कृषिको  उत्पादकत्व वृद्धि गर्ने र कृषि क्षेत्रको व्यावसायिकरणबाट आयआर्जन बढाउने उद्देश्यले स्वीस सरकारको सहयोगमा साना सिँचाइ कार्यक्रम सञ्चालन भइरहेका छन् । रासस

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ०७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro