site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गगनलाई गलाउन देउवाले देखाएका थिए भोटिङको डर, टसमस नभएपछि यसरी भयो सहमति

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महासमिति बैठकमा पेस गर्न तयार पारेको सांगठनिक प्रतिवेदनमा प्रस्ताव गरेका छन्– 'चुनावमा कुनै पनि दलसँग गठबन्धन नगरौँ ।'

तर, पार्टी सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षलाई थापाको प्रस्ताव चित्त बुझेन । उनीहरूले प्रतिवेदन 'सच्याउन' जोड दिइरहे । अहिलेको सत्ता गठबन्धनका दलहरूलाई बिच्काउन नहुने संस्थापन पक्षको भनाइ थियो । उनीहरूको तर्क थियो, 'भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने विषयमा तत्कालीन परिस्थिति हेरेर त्यतिबेलै निर्णय लिन सकिन्छ ।'

तर, थापा टसमस भएनन् । बरु देउवालाई नै चुनौती दिए– 'यदि, मैले प्रस्तावमा राखेका विषय पार्टी हितविरुद्धमै हुन्छन् भने महासमिति बैठकबाट अस्वीकृत गरिदिनुस्, महासमितिले अस्वीकार गर्छ भने मात्र यो कुरा मलाई स्वीकार्य छ ।'

Dabur Nepal
NIC Asia

महामन्त्री थापा आफ्नो निर्णयबाट पछि नहट्ने देखिएपछि सोमबार बेलुकातिर पार्टीका पदाधिकारीहरू र पूर्व पदाधिकारीहरूलाई बूढानीलकण्ठमा बोलाइयो । बैठकको एउटै उद्देश्य थियो– जसरी हुन्छ, थापाको प्रस्ताव 'सच्याउन' लगाउने ।

बैठकको सुरुमै संस्थापन पक्षबाट पार्टीमा सभापति र महामन्त्रीले आआफ्नो धारणा राख्ने र दुवै धारणामा कसको मुख्य हो भनेर केन्द्रीय समिति बैठकमा चुनाव गराउने विषय उठ्यो ।

त्यसमा महामन्त्री थापा सहमत भए । यतिसम्म कि मंगलबार बिहान ८ बजे केन्द्रीय समिति बैठक बस्ने र त्यसमा भोटिङ गर्न महामन्त्री तयार भएको एक पदाधिकारी बताउँछन् ।

चुनाव हुँदा सभापतिको धारणाले जित्ने निश्चित थियो । तर, त्यो प्रस्ताव संस्थापन पक्षले थापालाई तर्साउन मात्र राखेको थियो ।

"संस्थापन पक्षले तर्साउन खोज्दा महामन्त्री टसमस नभएपछि उनीहरू समस्यामा परे । त्यसमा साथीहरूले रोक्दै यस्तो गर्ने गर्न हुँदैन, भोटिङ गर्ने कुरा कल्पना गर्न सकिन्न भने । अनि संस्थापन हच्कियो," ती पदाधिकारीले भने ।

त्यसपछि सभापति देउवाले प्रतिवेदनमा रहेको 'रुखमा मात्र मत हाल्ने छौँ' भन्ने लाइन हटाउन थापालाई आग्रह गरेका थिए । "तर, महामन्त्री तयार हुनुभएन । कांग्रेसलाई मत रुखमा मात्र हाल भन्ने कुरा लेख्न किन डराउने हामी ? यस्तो पनि हुन्छ भनेपछि झ्याप्पै सभापतिले हुन्छ भन्नुभयो," ती पदाधिकारी बताउँछन् ।

अर्थात् महामन्त्री थापाको प्रस्तावमा देउवाले सहमति जनाए । ती पदाधिकारीको भनाइमा देउवाले सहमति जनाएपछि उपसभापति पूर्णबहादुर खड्का, पार्टी प्रवक्ता प्रकाशशरण महतसहितका नेता हच्किएका थिए । 

"उहाँहरू अचम्ममा पर्नुभयो । उहाँहरूले बीचमा फेरि इन्टरफेयर गर्न खोज्नुभयो । तर, सभापतिले भयो छोड भने । उनीहरूको डर गठबन्धन भत्किन्छ, बिग्रन्छ अहिलेदेखि एक्लै लड्ने कुरा किन गर्नुपर्‍यो ? भन्ने थियो । सभापतिले बोलेपछि सबै चुप भए । महामन्त्री सफल हुनुभयो," ती पदाधिकारी बताउँछन् ।

कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बे पनि नेताहरूबीच कुरा मिलेको पुष्टि गरे ।

 

 

"कांग्रेसलाई बलियो र सफल पार्टी बनाउन रुख चिह्नमा मतदान गराउने, यस्ता शब्द राखेर प्रतिवेदनमा भाषा मिलाउने काम भयो । कुरा मिलेको छ, बाँकी भोलि थाहा हुन्छ," सहमहामन्त्री आङ्देम्बेले भने ।

देउवा सहमत भएसँगै अब महासमिति बैठकमा थापाको प्रस्ताव पेस हुने भएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  २३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro