site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चुनावी गठबन्धन नगर्ने विषय हटाउन महामन्त्रीलाई देउवाको दबाब, थापाले दिए चुनौती

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीको प्रतिवेदन सच्याउन दबाब बढाएका छन् ।

महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदनमा चुनावी गठबन्धनका कारण पार्टीले जनमत गुमाएको उल्लेख छ । अबदेखि चुनावी गठबन्धन नगर्ने भन्दै उनले गरेको घोषणात्मक प्रावधान हटाउन देउवाले तीन दिनदेखि दबाब जारी राखेका छन् ।

सोमबार (भोलि)देखि सुरु हुने महासमिति बैठकमा प्रस्तुत गर्न तयार प्रतिवेदन सच्याउन देउवाले दबाब दिएका हुन् । देउवाको दबाबले प्रतिवेदन छाप्न समेत नपाएको कांग्रेस केन्द्रीय कार्यालय स्रोतले जनाएको छ ।

आइतबार बिहान बूढानीलकण्ठस्थित आफ्नो निवासमा महामन्त्री थापालाई डाकेर सभापति देउवाले चुनावी गठबन्धन नगर्ने विषय हटाउन दबाब दिएका थिए । उनले महामन्त्रीलाई निर्देशात्मक नभएर सुझावका रूपमा यो विषय हटाउन दबाब दिएका हुन् ।

“चुनावी गठबन्धन नगर्ने हो भनेपछि नगरे भइहाल्यो नि !,” देउवाको भनाइ उद्धृत गर्दै स्रोतले बाह्रखरीसित भन्यो, “अहिले नै प्रतिवेदनमा त्यो विषय राखेर सत्ता गठबन्धनमा भएका दलहरूलाई बिच्क्याउन जरुरी छ र !”

उनले प्रतिवेदनका कारण अरू दलहरूले विश्वास गुमाए कांग्रेसका निमित अप्ठ्यारो अवस्था आउने बताएका थिए ।

महामन्त्री थापाले भने आफूले निर्वाचनमा हुने गठबन्धनका विषयमा मात्र विमति जनाएको सुनाए । निर्वाचनपछिको अवस्थामा गठबन्धन गर्ने विषयमा असहमति नराखेको उनले बताएका थिए ।

कांग्रेसका जिल्ला र गाउँ तहका नेता–कार्यकर्ताको सुझावका आधारमा आफूले यस्तो प्रस्ताव गरेको भन्दै उनले सच्याउन पनि नसक्ने जवाफ दिएको स्रोतको भनाइ छ ।

“मैले प्रि–इलेक्सन एलाइन्स गर्नु हुँदैन भन्ने कार्यकर्ताको सुझाव प्रतिवेदनमा समेटेको हो । नेपाली कांग्रेसका भोटरहरूलाई हामीले नै अन्य पार्टीका चिह्नमा भोट हाल्नुस् भन्दा हामीसँग रिसाएका छन्,” थापाले भनेका थिए, “हाम्रो निर्वाचन प्रणालीले सजिलै कुनै पनि दलको बहुमत पुग्ने अवस्था छैन । त्यसैले पोस्ट इलेक्सन एलाइन्स नकार्न सकिँदैन । तर, त्यसो भन्दैमा चुनावमा भोट नै अरूको दलको चुनाव चिह्नमा हाल्न लगाउने अभ्यासले कुनै पनि पार्टीको आधार बच्दैन ।”

उनले त्यस्तो तर्कसँगै आफूले प्रतिवेदनमा राखेको विषय पनि सच्याउन नसक्ने बताएका थिए ।

उनले सभापति देउवालाई चुनावी गठबन्धन गर्न नहुने प्रस्ताव पार्टीको हितविपरीत हुन्छ भन्ने लागे महासमितिको बैठकबाटै अस्वीकृत गरिदिन चुनौती दिएको स्रोतको भनाइ छ ।

“यदि, मैले प्रस्तावमा राखेका विषय पार्टी हितविरुद्धमै हुन्छन् भने महासमिति बैठकबाट अस्वीकृत गरिदिनुस्,” थापाले देउवालाई दिएको चुनौती उद्धृत गर्दै स्रोतले भन्यो, “महासमितिले अस्वीकार गर्छ भने मात्र यो कुरा मलाई स्वीकार्य छ ।”

०८२ मंसिरभित्र पार्टीको १५औँ महाधिवेशन गर्ने थापाको प्रस्तावमा पनि नेताहरूले प्रश्न उठाएका थिए । १५औँ महाधिवेशनका निम्ति अहिले तालिका बनाउँदा जिल्ला अधिवेशन तोकिएका दिन दसैँ वा अरू कुनै विशेष स्थिति परेमा महाधिवेशन प्रभावित हुँदैन ? भन्दै उनीहरूले प्रश्न गरेका थिए । त्यसलाई महामन्त्री थापाले प्रतिबद्धतामाथिकै प्रश्न भनेर टिप्पणी गरेका थिए ।

“महासमितिबाट हामीले गर्ने भनेको ‘समयमा महाधिवेशन गर्छौैँ’ भन्ने कमिटमेन्ट हो,” थापाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, “यत्ति पनि भन्न सक्दैनौँ भने महासमिति बैठकलाई नै समयमा महाधिवेशन हुँदैन भन्नुपर्‍यो । यदि, त्यस्तो हो भने त्यो कुरा सभापतिज्यूबाटै आउनु राम्रो हुन्छ ।”

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro