काठमाडौं । निर्माण सुरु भएको १६ वर्ष बित्दा राष्ट्रिय गौरवको आयोजना ‘पुष्पलाल (मध्यपहाडी) राजमार्ग’को भौतिक प्रगति मात्र ७४ प्रतिशत भएको छ । पटक–पटक निर्माण सम्पन्न गर्नुपर्ने मिति थप भइरहेको छ, यही गतिमा काम भइरहे आर्थिक वर्ष २०८४–८५ सम्म राजमार्गको काम सक्न मुस्किल छ ।
पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाले पछिल्लो पटक निर्माण सम्पन्न गर्ने मिति आर्थिक वर्ष २०८४–८५ प्रस्ताव गरेको छ ।
“पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्धारित समयमै सम्पन्न नहुनुका पछि धेरै कारण छन् । पहिलो त, यसको काम पूर्ण परियोजना प्रतिवेदन (डीपीआर) नबन्दै सुरु गरियो । काम हुँदै गयो डीपीआर बन्दै गयो । राजमार्ग कहाँबाट लैजाने भन्ने निर्क्योल गर्न पनि सकिएन । वन तथा वातावरण, बजेटलगायतका समस्या पनि कारक बने,” पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाका आयोजना निर्देशक कुवेर नेपालीले बाह्रखरीसँग भने ।
आर्थिक वर्ष २०६४–६५ बाट पुष्पलाल (मध्यपहाडी) राजमार्ग नामकरण गरी आयोजना सुरु गरिएको थियो । सुरु गरेको १० वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । राजमार्ग निर्माण सुरु भएको १६ वर्ष बितिसकेको छ ।
समयमै काम नगर्दा रेल सेवाको लागत ७० अर्बबाट करिब १० खर्ब पुग्यो
२०८० माघ मसान्तसम्म आइपुग्दा राजमार्ग निर्माणको काम ७४ प्रतिशत मात्र सकिएको छ ।
“ट्रयाक खोल्ने काम लगभग सकिएको छ । स्तरोउन्नति गर्ने बाँकी छ । केही ठाउँमा जग्गा अधिग्रहणका विवाद छन्, ती समाधान गर्न बाँकी छ । जहाँ जग्गा अधिग्रहणको समस्या छैन त्यहाँ काम भएको छ,” आयोजना निर्देशक नेपालीले भने ।
पुष्पलाल (मध्यपहाडी) राजमार्गको कुल लम्बाई १ हजार ८७९ किलोमिटर रहेको छ । जसमध्ये २०८० पुस मसान्तसम्म १ हजार ४१७ किलोमटिर सडक कालोपत्रे भइसकेको छ । कालोपत्रे भएको सडकमा ९५२ किलोमिटर आयोजनाले र ४६२ किलोमिटर अन्य निकायले गरेका हुन् ।
राजमार्गमा पर्ने साना–ठूला कुल १३७ पूलमध्ये १०२ बनिसकेको आयोजनाले जनाएको छ ।
राजमार्ग पूर्वको पाँचथर जिल्लाको चिवाभन्ज्याङ्गदेखि पश्चिमको बैतडी जिल्लाको झुलाघाटसम्म पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ्ग, ओखलढुङ्गा, उदयपुर, सिन्धुली, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपालचोक, नुवाकोट, धादिङ, गोरखा, लम्जुङ, कास्की, पर्वत, बाग्लुङ, पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट, दैलेख, अछाम, डोटी, डडेलधुरा, बैतडी जिल्लाहरू हुँदै जानेछ ।
सुरु गर्दा पुष्पलाल (मध्यपहाडी) राजमार्गको कूल लागत अनुमान ३३ अर्ब ३६ करोडा रुपैयाँ थियो ।
समयमा निर्माण नहुँदा यसको लागत बढ्दै गएको छ । आर्थिक वर्ष २०८४–८५ मा सम्पन्न गर्ने गरी पछिल्लो पटक आयोजनाको संशोधित लागत ८४ अर्ब ३३ करोड रुपैयाँ पुर्याइएको छ । आयोजनाको लागत १५३ प्रतिशतले बढेको छ ।
३५ वर्षमा पनि पूरा भएन बबई सिँचाइ आयोजना, लागत पौने ३ अर्बबाट १९ अर्ब पुग्यो
आयोजनाका अनुसार, राजमार्ग निर्माण गर्दा आर्थिक वर्ष २०७९–८० सम्म ६५ अर्ब ९७ करोड रुपैयाँ खर्च भइसकेको छ । चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो ६ महिना (साउनदेखि पुससम्म) मा १ अर्ब ४६ करोड ८७ लाख रुपैयाँ खर्च भएको छ ।
चालु आर्थिक वर्षमा आयोजनाको लागि कुल ३ अर्ब ९५ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको थियो । आयोजना सुरु भएदेखि हालसम्म अर्थात् आर्थिक वर्ष २०६४–६५ देखि आर्थिक वर्ष २०८०–८१ को पुस मसान्तसम्मको साढे १६ वर्षको अवधिमा पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्माणमा कुल ६७ अर्ब ४३ करोड ८७ लाख रुपैयाँ खर्च भइसकेको छ ।
राष्ट्रिय यातायात नीति, २०५८ मा पूर्व–पश्चिम राजमार्गको विकल्पका रुपमा नेपालको मध्य–पहाड हुँदै पूर्वदेखि पश्चिमसम्म सडक निर्माण गर्ने उल्लेख गरिएको थियो । त्यही बमोजिम सरकारले पुष्पलाल (मध्यपहाडी) राजमार्ग नामकरण गरी २०६४–६५ बाट आयोजना कार्यान्वयन सुरु गरेको थियो ।
२०६५ फागुन २६ बसेको मन्त्रिपरिषद्को बैठकले पुष्पलाल राजमार्गको रेखांकन स्वीकृत गरेको थियो । मध्यपहाडका २६ जिल्लाहरूका २१५ बस्तीहरू जोड्दै निर्माण हुने यस सडकबाट मध्य–पहाडमा बसोबास गर्ने करिब १ करोड जनता आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।
आर्थिक वर्ष २०६७–६८ देखि आयोजनालाई दुई खण्डमा विभाजन गरी काम गरिएको थियो । दुई खण्डमा मध्यपहाडी पूर्व खण्ड (करिब ७२१ किलोमिटर) र मध्यपहाडी पश्चिम खण्ड (करिब ११५८ किलोमिटर) थिए ।
आर्थिक वर्ष २०७५–७६ देखि पुष्पलाल (मध्यपहाडी) राजमार्गको काम आयोजना निर्देशनालय र निर्देशनालयअन्तर्गत पाँच वटा योजना कार्यालयहरू स्थापना गरी गर्न थालिएको थियो । पाँचवटा योजना कार्यालय पाँचथर, काभ्रे, गोरखा, पर्वत र दैलेखमा स्थापना गरिएको छ । आयोजनालाई आर्थिक वर्ष २०६९–७० देखि सरकारले राष्ट्रिय गौरवको आयोजना समावेश गरेको थियो ।
आयोजनाको उद्देश्य पूर्वको पाँचथर जिल्लाको चिवाभन्ज्याङ्गदेखि पश्चिमको बैतडी जिल्लको झुलाघाटसम्म डबल लेनमा कालोपत्रेसहितको सडक निर्माण गर्नु हो । आयोजनाको काम सुरुमा आर्थक वर्ष २०७४–७५ सम्म सम्पन्न गर्ने भनिएको थियो ।
योजना गरेअनुसार काम नभएपछि संशोधन गरी आर्थिक वर्ष २०७९–८० मा सम्पन्न गर्ने गरी कार्यतालिका बनाइएको थियो । यसवधिमा पनि काम सकिएन । आर्थिक वर्ष २०८४–८५ मा कार्य सम्पन्न गर्ने गरी संशोधन प्रस्ताव गरिएको छ ।
राजमार्गले मध्यपहाडी क्षेत्रका जिल्लाहरूलाई यातायात सन्जालमा जोडीआर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय र शैक्षिक विकासमा योगदान गर्ने अपेक्षा गरिएको छ ।
आयोजना निर्देशक नेपालीका अनुसार, पुष्पलाल (मध्यपहाडी) राजमार्ग निर्माणमा ढिलासुस्तीमा हुनुमा केही कारणहरू छन् । आयोजनामा पर्ने अधिग्रहण भएका जग्गाका मुआब्जा वितरण नहुँदा ठेक्का व्यस्थापन गर्न नमिल्ने कानुनी प्रावधान रहेको छ ।
तर मुआब्जा वितरणका लागि बजेटको व्यवस्था नहुँदा जग्गा प्राप्ति हुन नसकी ठेक्का व्यस्थापनमा कठिनाई भएको छ । राजमार्गको रेखांकनमा विवाद हुने गरेको हुँदा सडक निर्माण तथा सीमा सुरक्षा गर्न कठिन हुने गरेको छ ।
ईआईए–आईईईको प्रक्रियामा समय लाग्ने गरेको, रुख कटानको प्रक्रिया लामो तथा झन्झटिलो हुँदा निर्माण कार्य ढिलो हुने गरेको छ ।
समय–समयमा वन कार्यालयबाट निर्माण कार्यमा अवरोध हुने गरेको छ । निर्माण सामाग्रीको अभाव र ठेकेदारको लापरवाहीले पनि आयोजनाको निर्माण प्रभावित हुँदै आएको छ । विद्युत्का पोल एवं खानेपानी स्थानान्तरणमा समस्याले पनि काममा ढिलासुस्ती भएको छ ।