तस्बिर– आयोजनाको वेबसाइटबाट
काठमाडौं । बबई सिँचाइ आयोजना सुरू भएको ३५ वर्ष पूरा भएको छ । आयोजनाको उद्देश्य बर्दिया जिल्लाको करिव ३६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने थियो । तर साढे तीन दशक बित्दा पनि आयोजना पूरा हुन सकेको छैन ।
सुरूमा आयोजना २१ वर्षमा पूरा गर्ने लक्ष्य राखिएको थियो । लक्ष्यभन्दा १४ वर्ष बढी समय निर्माणमा खर्चिदा पनि आयोजना पूरा हुन सकेको छैन । “हालसम्म आयोजनाको भौतिक प्रगति ७२.२२ प्रतिशत भएको छ । वित्तीय प्रगति ६९.३४ प्रतिशत रहेको छ,” बबई सिँचाइ आयोजनाका आयोजना निर्देशक सुशीलचन्द्र देवकोटाले बाह्रखरीसँग भने ।
आर्थिक वर्ष २०४५/४६ मा बबई सिँचाइ आयोजना सुरु गरिएको थियो ।
यो आयोजना आर्थिक वर्ष २०६९/७० मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । लक्ष्यअनुसार, आयोजना पूरा नहुने भएपछि गुरूयोजना नै पाँचपटक संशोधन गरिसकिएको छ । अन्तिमपटक आर्थिक वर्ष २०८२/८३ सम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
समयमै काम नगर्दा रेल सेवाको लागत ७० अर्बबाट करिब १० खर्ब पुग्यो (भाग १)
तर यसअवधिमा पनि लक्ष्य पूरा हुने देखिँदैन, गुरुयोजना पुनः संशोधन गर्नु पर्ने देखिएको छ ।
किन निर्धारित समयमा आयोजनाको काम सम्पन्न हुन सकेन त ? बबई सिँचाइ आयोजनाका आयोजना निर्देशक देवकोटा भन्छन्, “काम समयमै सम्पन्न हुन नसक्नुमा कारण धेरै छन् । भनेजति बजेट निकासा हुँदैन, घाटा हुने देखेपछि ठेकदारले काम गर्दैनन्, मूल्यवृद्धि, जग्गा अधिग्रहण, मुआब्जालगायतका समस्याले काम समयमा हुन सकेको छैन ।”
३५ वर्षअघि आयोजना सुरू गर्दा यसको लागत २ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ थियो । समयमै कार्य सम्पन्न नहुँदा लागत बढेर १८ अर्ब ९६ करोड ३० लाख रुपैयाँ पुगेको छ । यसअवधिमा लागत ५६१ प्रतिशतले बढेको छ ।
निर्देशक देवकोटाका अनुसार, आर्थिक वर्ष २०४५/४६ देखि २०८०/८१ को पुस मसान्तसम्म १३ अर्ब १४ करोड ९८ लाख ६२ हजार रुपैयाँ खर्च भइसकेको छ ।
बजेटको अभाव
बबई सिँचाइ आयोजना समयमै निर्माण सम्पन्न नहुनुमा प्रमुख कारण हो– बजेटको अभाव ।
“२०४५ देखि २०५० सालसम्म आयोजनाको काम द्रुतगतिमा भएको देखिन्छ, जतिबेला बजेट पनि पर्याप्त उपलब्ध गराइन्थ्यो । पछिल्लो समय राष्ट्रिय गौरवका आयोजनाहरूमा सबैभन्दा कम बजेट पाउने आयोजना बबई सिँचाइ हुने गरेको छ,” आयोजना निर्देशक देवकोटाले भने ।
देवकोटाका अनुसार, आयोजनाको बजेट आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ५ करोड २७ लाख रुपैयाँ, २०७४/७५ मा ८२ करोड २४ लाख रुपैयाँ, २०७५/७६ मा ७८ करोड ७४ लाख रुपैयाँ, २०७६/७७ मा १ अर्ब ३९ लाख रुपैयाँ, २०७७/७८ मा १ अर्ब ५० करोड रुपैयाँ, २०७८/७९ मा १ अर्ब ४४ करोड ४० लाख रुपैयाँ, २०७९/८० मा १ अर्ब ५३ करोड रुपैयाँ र २०८०/८१ मा ६३ करोड १ लाख रुपैयाँ रहेको छ ।
२०८० असार मसान्तसम्म अघिल्लो आर्थिक वर्ष लगाएका ५८ वटा ठेक्का बाँकी थिए । ती सबै काम अघिल्लो आर्थिक वर्षमै सकिनुपर्ने थियो । तर विविध कारणले सकिएन र चालु आर्थिक वर्षमा सरे ।
“अघिल्लो वर्ष थाती रहेको काम मात्र सक्न करिब २ अर्ब रुपैयाँ बजेट चाहिन्छ । तर हामीसँग बजेट छ, ६३ करोड १ लाख रुपैयाँ,” आयोजना निर्देशक देवकोटाले भने ।
बबई सिँचाइ आयोजनाको मूल नहरको लम्बाई ४१.२ किलोमिटर छ । यसमध्ये ९ किलोमिटर मूल नहर र अन्य शाखा नहर पर्ने जग्गाको मुआब्जा दिन बाँकी नै छ । मुआब्जाका लागि मात्र १ अर्ब २३ करोड रुपैयाँ आवश्यक पर्छ । चालु आर्थिक वर्ष २०८०/८१ मा मात्र मुआब्जाको लागि २८ करोड रुपैयाँ आवश्यक पथ्र्यो, २२ लाख रुपैयाँ मात्र निकासा भएको छ ।
अघिल्लो आर्थिक वर्षको २५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । उक्त रकम भुक्तानी गर्ने हो भने यसवर्षको लागि छ्ट्याएको बजेट रकममा ३८ करोड १ लाख रुपैयाँ बाँकी रहन आउँछ । “आयोजनाको काम द्रुत रुपमा अघि बढ्न नसक्नुको प्रमुख कारण भनेकै बजेट अभाव हो । भनेको जति बजेट उपलब्ध हुने हो भने काम भनेकै मितिमा सम्पन्न गर्न सकिन्छ,” उनले भने ।
कसरी सुरू भएको थियो आयोजना
बर्दिया जिल्लाको करिव ३६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले बबई सिँचाइ आयोजना सुरु गरिएको थियो । बर्दियामा सिँचाइको विकास गर्न नेपालले अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए)सँग मिलेर २०२४ सालदेखि अध्ययन सुरू गरेको थियो ।
“संयुक्त राष्ट्र संघ विकास कार्यक्रमको आर्थिक सहयोगमा सम्पन्न भएका यस आयोजनाको पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदनमा बबई नदी भन्दा पूर्वमा करिब १९ हजार हेक्टर तथा पश्चिममा २१ हजार हेक्टर जमिनलाई सिँचाइ योग्य भनि निर्धारण गरिएको थियो,” आयोजनाले आफ्नो आधिकारिक वेबसाइटमा उल्लेख गरेको छ ।
पहिलो चरणमा पूर्वतर्फको करिव १३ हजार २४० हेक्टरमा सिँचाइ प्रणालीको विकास गर्ने उद्देश्यले २०३५ सालमा सम्भाव्यता अध्ययन सम्पन्न गरिएको थियो ।
अन्तर्राष्ट्रिय विकास संस्थाको ऋण सहयोगमा प्रथम चरणमा २०३८ देखि २०४० सालसम्म विस्तृत इन्जिनियरिङ्ग डिजाइनको कार्य सम्पन्न भएको र उक्त डिजाइनमा बबई नदीमा साइफन निर्माण गरी पश्चिमतर्फ सिँचाइ प्रणालीको विकास गर्ने प्रस्ताव गरिएको थियो ।
विश्व वैंकको ऋण सहयोग प्राप्त नहुने भएपछि अन्ततः बर्दिया जिल्लाको समग्र विकासमा अपरिहार्य रहेको बबई सिँचाइ आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०४५/४६ देखि नेपाल सरकारको आफ्नै स्रोतबाट प्राथमिकतामा राखी सुरू गरेको थियो ।
उक्त आयोजनाको प्रथम चरणअन्र्तगत राजमार्गमा पुलसहितको बाँध निर्माण कार्य ६७.९५ करोड रुपैयाँको लागतमा २०४९ सालमा सम्पन्न गरिएको थियो ।
साथै ५.५ किलोमिटर लामो मूलनहरको सुरूको खण्ड २०५० सालमा सम्पन्न गरी परम्परागत रुपमा किसानहरूद्वारा सञ्चालित बुढि कुलो, मझरा कुलो, राजकुलो र धधवार कुलोमा गरि करिब ४ हजार हेक्टर क्षेत्रमा सिँचाइ पुर्याइएको थियो ।
आयोजनाको प्रथम चरणको बाँकी काम पूरा गर्न कुवेत कोषबाट ऋण सहयोग लिने प्रक्रिया अघि बढाइए पनि ऋण सहयोग प्राप्त हुन सकेन ।
त्यसपछि आयोजनाको मूलनहरको बाँकी काम सम्पन्न गर्ने लक्ष्य राखी २०५१ सालमा विशेष कार्य योजना सञ्चालन गरिएको थियो । जसअन्र्तगत करिव २८ किलोमिटर लामो बबई मूलनहरको बाँकी २२.५ किलोमिटरसम्मको निर्माण कार्य २०५८ सालसम्ममा सम्पन्न गरिएको थियो ।
बबई सिँचाई आयोजनाका अनुसार, दोश्रो चरणको कार्य सुरु गर्ने उद्देश्यले २०५८ सालमा बबई नदीमा साइफनसहित अन्य संरचनाहरूको विस्तृत इन्जिनियरिङ्ग डिजाइनको कार्य सम्पन्न भएको थियो । बबई नदीमा साइफन, ढोढरी नहर तथा नहर संरचनाहरूको निर्माण कार्य आर्थिक वर्ष २०६७/६८ मा सुरु भई आर्थिक वर्ष २०६९/७० मा करिब ४४ करोड २४ लाखको लागतमा सम्पन्न गर्ने लक्ष्य लिएको थियो ।
साइफन तथा लिंक नहर र अन्य नहर संरचनाहरूको निर्माण सम्पन्न भइ परम्परागत रुपमा कुलाहरूको संरचनाबाट ढोढरी तथा जम्ती बर्गदातर्फ पानी संचालन भइसकेको अवस्थामा २०७१ श्रावण २८ देखि ३० सम्मको वाढीले उक्त संरचनाहरू क्षतिग्रस्त बनाएको थियो । पुनः सो साइफन २०७३ को असारसम्ममा पुनःनिर्माण भई हाल नहर संचालन भइरहेको छ ।
विगतको सर्भेक्षणबाट बर्दिया जिल्लाको करिव ४० हजार हेक्टर क्षेत्रफल सिँचाइ क्षेत्र भनिएता पनि सन् २०१२ मा भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले गरेको अध्ययनवाट कूल सिँचाइक्षेत्रफल ३६ हजार (पूर्वमा करिव २१ हजार हेक्टर र पश्चिममा १५ हजार हेक्टर) कायम गरिएको थियो ।
काम के कति भयो ?
आर्थिक वर्ष २०७९/८० सम्म ४२३.४७ हेक्टर जग्गा अधिग्रहण गर्ने कार्य सम्पन्न भएको छ । आयोजनाको मूल नहर निर्माण कार्य ८१.०९ किलोमिटर सम्पन्न भएको छ ।
आयोजनाका अनुसार, २५.२५ किलोमिटरमा नदी नियन्त्रणसम्बन्धी कार्य सकिएको छ । शाखा तथा उपशाखा नहर निर्माण कार्य २९२.३३ किलोमिटिर सकिएको छ । एउटा हेडवकर्स निर्माण भएको छ ।
साइफन निर्माण तथा बाढीबाट क्षतिग्रस्त साइफन पुनःनिर्माण कार्य शतप्रतिशत सम्पन्न भएको छ ।
“आयोजनाको पूर्वमा रहेको २१ हजार हेक्टरमध्ये १७ हजार हेक्टर जग्गामा सिँचाई सुविधा दिइसकिएको छ,” आयोजना निर्देशक देवकोटाले भने, “पश्चिमतर्फको १५ हजार हेक्टरमध्ये ९ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याइसकिएको छ ।”
देवकोटाका अनुसार, अब पश्चिममा मूलनहर १३ किलोमिटर निर्माण गर्न बाँकी छ । करिब पौने १५ किलोमिटर क्षेत्रमा जग्गा अभिग्रहण गरी मुआब्जा दिन बाँकी छ ।
गुरूयोजना संशोधन
आयोजनाको काम समयमा सम्पन्न नहुँदा पटक पटक गुरूयोजना संशोधन गर्दै आइएको छ । यसले आयोजनाको लागत बढाउँदै लगेको छ । आयोजनाको कुल लागत वृद्धि हुँदा खरिद गुरूयोजनाको संशोधनपछिको –समष्टिगत भौतिक एवम् वित्तीय प्रगति न्यून हुन पुगेको छ ।
बबई सिँचाइ आयोजनाको खरिद गुरुयोजना २०६८, २०६९ र २०७० संशोधन गरिएको थियो । त्यसपछि पुनः २०७४ र २०७६ सालमा पनि खरिद गुरूयोजनालाई संशोधन गरिएको थियो ।
यसरी वर्ष–दुई वर्षमा हुने गुरूयोजना संशोधनले अर्बौं रूपैयाँ थप खर्च गर्दा पनि समष्टिगत प्रगति घटेको देखिएको छ । यसले प्रगति विश्लेषणमा अन्योलता र अर्कोतिर आयोजना कार्यान्वयन प्रक्रियामा अविश्वास पैदा गराएको छ ।
हाल १८ अर्व ९६ करोड ३० लाख ४४ हजार रुपैयाँको गुरुयोजना २०७८ वैशाख २१ स्वीकृत भई आर्थिाक वर्ष २०८२/८३ सम्ममा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनामा आर्थिक वर्ष २०७९/८० सम्म १२ अर्ब २८ करोड ९४ लाख रुपैयाँ खर्च भैसकेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्म आइपुग्दा आयोजनामा १३ अर्ब १४ करोड ९८ लाख ६२ हजार रुपैयाँ खर्च भएको आयोजना निर्देशक देवकोटाले बताए ।
चार वर्षमा सम्पन्न गर्न सकिन्छ
आयोजना निर्देशक देवकोटा सरकारले पर्याप्त बजेट उपलब्ध गरे आयोजनाका बाँकी काम चार वर्षमा सम्पन्न गर्न सकिने बताउँछन् । तर सरकारले पर्याप्त बजेट उपलब्ध गराउने देखिँदैन । सरकारले पर्याप्त बजेट उपलब्ध नगराउँदा आर्थिक वर्ष २०८२/८३ सम्म पनि आयोजना काम सम्पन्न नहुने उनी बताउँछन् ।
“हामीलाई जति बजेट उपलब्ध गराइएको छ र जुन गतिमा काम भइरहेको छ यसले निर्धारित समयमा काम सम्पन्न गर्न सकिदैन,” आयोजना निर्देशक देवकोटाले भने, “अब फेरि गुरुयोजना संशोधन गर्नुपर्ने देखिन्छ ।”
यसअघि नै आयोजनाको लागत करिव १९ अर्ब पुगिसकेको छ । उक्त लागतमध्ये १३ अर्ब खर्च भइसकेको छ । उक्त लागतमध्ये अब करिब ६ अर्ब रुपैयाँ खर्च हुन बाँकी छ । गुरुयोजना संशोधन भए लागत फेरी बढ्ने छ ।
“गुरुयोजना संशोधन गर्दा लागत खर्च थप दुई अर्ब रुपैयाँ बढ्न सक्छ,” उनले भने ।
आयोजनाका गर्नुपर्ने बाँकी कामहरू सबै पहिचान गरिसकिएको छ । यसकारण पर्याप्त बजेट सरकारले उपलक्ध गरे काम अघि बढाउन कुनै कठिनाई नहुने तर्क देवकोटाको छ । सरकारले पर्याप्त बजेट उपलब्ध नगरे बबई सिँचाई आयोजना कहिले सम्पन्न हुन्छ यसै भन्न सकिन्न ।