site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
कलाकार ‘भाइरल’ होइन, लोकप्रिय हुनुपर्छ : प्रधानमन्त्री
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली लोकगीत–संगीतमा देखिएको बाह्य अतिक्रमण र विकृतिप्रति सचेत हुनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालद्वारा शनिबार आयोजित खुला लोकदोहोरी प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालीपनको संगीत विकृतितर्फ गएकाले त्यसप्रति गम्भीर हुनुपर्ने बताए ।

विविधतापूर्ण मौलिकतामा आधारित गीत–संगीतले निकै राम्रो प्रगति गरेको उल्लेख गर्दै उनले भने, “दर्शक–स्रोताको मन जितेका कालजयी गीत नेपालीको मन, मुटु र जनजिब्रोमा झुन्डिएका छन् । तर, पछिल्लो समय ‘भाइरल’ हुने र ‘भ्युज’ बढाउने नाममा ख्यातिप्राप्त राष्ट्रिय कलाकार समेत सांस्कृतिक विकृतितर्फ अग्रसर भएको अनुभूति हुन्छ । यसतर्फ कलाकर्मी र सम्पूर्ण जनसमुदायहरू सचेत हुनैपर्छ ।”

भाइरल र लोकप्रिय एवं जनप्रिय हुनु एउटै कुरा नभएको भन्दै प्रधानमन्त्री प्रचण्डले भाइरलको अर्थ ‘संक्रामक प्रसार’ भएकाले राम्रो नभएको उल्लेख गरे । सार्वजनिक मेला–महोत्सवका कतिपय प्रस्तुति अत्यन्तै भद्दा, परिवार र साथीहरू समेत सँगै बसेर हेर्न नसकिने खालका हुने गुनासो आउने गरेको बताउँदै उनले यस्ता गतिविधि निरुत्साहित गर्न आग्रह गरे ।

पछिल्लो अधिवेशनबाट प्रतिष्ठानले केही आन्तरिक विवाद र समस्याको सामना गरिरहेको विषय समेत आफूले जानकारी पाएको उनले उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले संस्था विवादको घेरामा तानिँदा आफ्नो प्राज्ञिकता, मौलिकता र सिर्जना मर्ने बताए ।

उनले बढीभन्दा बढी सहमतिका साथ एकताबद्ध हुन र अन्य विषयभन्दा लोकसंगीतको रक्षा र विकासमा नै केन्द्रित भएर अगाडि बढ्न आग्रह समेत गरे । रासस

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro