site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाल लिग–२ को पहिलो खेलमा नामिबियासँग चार विकेटले निराश

काठमाडौं । गेरहार्ड इरास्मसको पाँच विकेटप्रेरित नामिबियाले आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो खेलमा घरेलु टिम नेपाललाई चार विकेटले निराश बनाएको छ । 

यो हारसँगै घरेलु मैदान भएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अपराजित नेपालको यात्रा १६औँ खेलमा आएर टुंगिएको छ । यसअघि नेपालले पछिल्लो पटक सन् २०२२ को नोभेम्बर १४ मा युनाइटेड अरब इमिरेट्स (यूएई)सँग घरमै भएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हार बेहोरेको थियो । त्यसयता नेपालले घरेलु मैदानमा भएका १५ खेलमा लगातार जित निकालेको थियो ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको १३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

Dabur Nepal
NIC Asia

नामिबियाको जितमा जान फ्रयांकलिनले ३४ रन बनाए । सोमपाल कामीले गरेको २१औँ ओभरको अन्तिम बलमा कुशल भुर्तेलबाट क्याच हुनुअघि फ्रयांकलिने ५३ बलमा चार चौका प्रहार गरे । जान निकोल लोफ्टी–इटोनले ३१ रन बनाए । ८४–५ को अवस्थाबाट इटोनले जेजे स्मिथसँग ४४ रनको साझेदारी गर्दै नामिबियालाई जित नजिक डोहो¥याएका थिए । कप्तान रोहितकुमार पौडेलबाट एलबीडब्लूको धरापमा पर्नुअघि इटोनले ३० बलमा पाँच चौका प्रहार गरे ।

अविजित रहेका स्मिथले १७ रन बनाए । १२८–६ को अवस्थाबाट जितका लागि पाँच रन आवश्यक हुँदा स्मिथले कुशल मल्लको बलमा छक्का प्रहार गर्दै नामिबियाको जित सुनिश्चित गरेका थिए ।

ओपनर माइकल भान लिन्गेनले ३३ बलमा २३ रन बनाए । लिन्गेनलाई नेपालका ललितनारायण राजवंशीले ‘सब्सिच्युट’ फिल्डर देव खनालबाट क्याच गराउँदै पभेलियन फर्काएका थिए ।

नामिबियाका ओपनरद्वय लिन्गेन र निकोलास ड्याभिनले ५.३ ओभरमा २७ रनको साझेदारी गर्दै घरेलु टिमविरुद्ध मध्यम सुरुआत दिलाएका थिए । ललितको बलमा कुशल भुर्तेलबाट क्याच हुनुअघि ड्याभिनले १६ बलमा दुई चौकासहित १५ रन बनाए ।

२०.२ मा दुई विकेट गुमाएर ८१ रन जोड्दै नामिबियाले खेलमा पकड बनाएको थियो । तर, सोमपालले २१औँ ओभरको तेस्रो र अन्तिम बलमा दुई विकेट लिँदै नेपाललाई खेलमा फर्काउने प्रयास गरे पनि सफल हुन सकेनन् ।

नामिबियाका कप्तान गेरहार्ड इरास्मसले आठ र जान ग्रीनले दुई रन थप्दा रुवेन ट्रम्पेलम्यान एक रनमा अविजित रहे ।

नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए । सात ओभर बलिङ गरेका सोमपालले एक मेडन राख्दै ३२ रन खर्चिए । अरु दुई विकेट ललितनारायण राजवंशीको नाममा रह्यो । सात ओभर नै बलिङ गरेका ललितले एक मेडन फ्याक्दै २० रन खर्चिए । एक विकेट लिएका कप्तान रोहितले चार ओभरमा १६ रन खर्चिए ।

त्यसअघि टस हारेपछि ब्याटिङमा आएको नेपाली टिम नामिबियासामु खुलेर खेल्न नसक्दा ४१.१ ओभरमा १३२ रनमै समेटिएको थियो । 

घरेलु मैदानमा भएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले बनाएको यो अहिलेसम्मकै कमजोर योगफल हो । यसअघि नेपालले सन् २०२२ को नोभेम्बर १४ मा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर १७९ रनको योगफल खडा गरेको थियो ।

नेपाली टिमबाट पाँचौँ नम्बरमा ब्याटिङका आएका भीम सार्कीले सबैभन्दा धेरै ४४ रन बनाए । समय लिएर ब्याटिङ गरेका भीमले ८६ बलमा दुई चौका र एक छक्का प्रहार गरे ।

१०.५ ओभरमा ६ रनमा खेलिरहँदा भीमले जिवनदान भएका थिए । नामिबियाका टंगेनी लुगांमेनीले गरेको बलिङमा भीमको प्रहार हावा रहे पनि पाहुना टिमको फिल्डरले क्याचको प्रयास नगरेपछि उनले जिवनदान पाएका थिए । क्याचबाट बचेका भीमले त्यसपछि नेपाली टिमको स्कोरबोर्डमा ३८ रन थपे ।

२१–४ को नाजुक अवस्थाबाट भीमले कुशल मल्लसँग ४६ रनको साझेदारी गर्दै नेपालको इनिङ सम्हाल्ने प्रयास गरेका थिए । तर, स्कोरबोर्डमा ६७ रन छँदा कुशल २२ बलमा एक चौक र एक छक्कासहित १५ रनमा आउट भएपछि भने पुनः नेपालको विकेट पतन शृंखला जारी रह्यो । 

मल्लपछि ब्याटिङका लागि आएका सोमपाल पनि सस्तैमा हिँडे । उनले ६ बल खेल्दा दुई रनमात्र थपे । सोमपाल आउट हुँदा नेपाकलो स्कोरबोर्डमा ७३ रन थियो । यसपछि भीम र गुल्सनले २१ रनको साझेदारी गरे पनि ९४ रन जोड्दा नेपालले भीमलाई गुमायो ।

टिमले १०६ रन बनाउँदा आउट भएका गुल्सनले ३१ बलमा तीन चौकासहित २१ रन बनाए । पवन सर्राफले २२ बलमा एक छक्कासहित १२ रन थपे ।

१०औँ नम्बर ब्याटिङका लागि आएका करणले ३३ बलमा तीन चौकासहित १६ रन थपेपछि नेपाल १३२ को स्कोरसम्म पुगेको थियो । यसबाहेक, नेपालका अन्य ब्याटरको प्रदर्शन सम्झनलायक रहेन ।

ओपनर कुशल भुर्तेल लिग–२ २०४–२७ मै आउट हुने पहिलो ब्याटर बने । आसिफ सेखसँगै ओपनिङमा आएका भुर्तेल इनिङको पहिलो बलमै ‘रोयल डक’ को रुपमा पभेलियन फर्किए । भुर्तेल नामिबियाका रुबेन ट्रम्पेलम्यानको बलमा जेजे स्मिथबाट क्याच भएका थिए । 

क्यानडाविरुद्धको शृंखलामा एक अर्धशतक र एक शतक बनाएका अनिल साह पनि नामिबियाविरुद्ध भने सस्तैमा आउट भए । ६ बल खेलेका अनिलले दुई चौकासहित आठ रन बनाए । अर्का ओपनर आसिफ सेखले ११ बल खेल्दा एक चौकासहित चार रन थपे । कप्तान रोहितकुमार पौडेल १३ बल खेल्दा टिमको खातामा एक रनमात्र थप्न सके । शून्यमा अविजित रहेका ललितनारायण राजवंशीले ११ बलको सामना गरे ।

नेपालविरुद्ध घातक बनेका गेरहार्ड इरास्मसले पाँच विकेट लिए । नेपालको मध्यक्रम र अलराउन्डरलाई धरासायी बनाएका इरास्मसले ८.१ ओभरमा २८ रनमात्र खर्चिए । उनले नेपालका भीम सार्की, कुशल मल्ल, सोमपाल कामी, गुल्सन झा र करण केसीका विकेट लिए ।

यसबाहेक, रुबेन ट्रम्पेलम्यानले १० ओभरमा ३० रन खर्चिएर दुई विकेट लिए । दुई विकेट नै हात पारेका ज्याक ब्रासेलले पाँच ओभरमा एक मेडन फ्याक्दै ११ रन खर्चिए । एक विकेट लिएका जान निकोल लोफ्टी–इटोनले तीन ओभरमा दुई मेडन फ्याक्दै पाँच रनमात्र खर्चिए ।

आजबाट सुरु भएको त्रिदेशीय शृंखलामा नेपाल र नामिबियासँगै नेदरल्यान्ड्स सहभागी छन् । अब नेपालले फेब्रुअरी १७ मा नेदरल्यान्ड्ससँग, २१ फेब्रुअरीमा पुनः नामिबिया र २५ फेब्रुअरीमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro