site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
म सानै छु ! 

ऊ अहिले पनि कोठा अँध्यारो बनाएर सुतिरहेको छ । हिजो मर्निङ वाकबाट फर्कंदा नै उसलाई ‘भोलिबाट छिट्टै उठ् है, सँगै मर्निङ वाक जानुपर्छ’ भनेको थिएँ ।

उसले ‘बिहान फोन गर्नू’ मात्रै भनेको थियो ।

बिहान मर्निङ वाक जाने बेला फोन गरेको हो, तर उसले उठाएन । हिँड्ने बेलामा उसलाई उठाउन जाऊँ कि जस्तो लाग्यो । तर, उसको ताल देखेर उठाउन जाने जाँगर चलेन ।

उसको कोठा पुग्न मेरो कोठाबाट करिब पाँच मिनेट लाग्छ । तर पनि भेट खासै हुँदैन । ऊ बिहानै उठेर कलेज जान्छ । राति अफिसबाट अबेला फर्कन्छ ।

हुन त म पनि त्यस्तै हो । र पनि म समय निकाल्ने प्रयास गर्छु ।

हाम्रो भेट हुन शनिबार नै आउनुपर्छ, कि त केही अवसर जुट्नुपर्छ । अथवा, दुवैको कलेज नै बिदा हुनुपर्छ ।

अचेल हामी दुवैको कलेज बिदा छ । बिदा भएको बेलामा ऊ त्यति अल्छी गर्दैन्थ्यो । तर, हिजोआज आश्चर्यजनक रूपमा उसको दिनचर्या फेरिएको छ ।

उसले कोठामा खाना खान छोडेको छ । बिहान अबेलासम्म सुतेर खाना नखाएरै अफिस जाने गरेको छ । कहिलेकाहीँ मैले पकाएर ‘खान आइज’ भन्दा पनि खाने मन गर्दैन ।

आज त झन् शनिबार, अफिस पनि जानु पर्दैन । त्यही भएर ऊ अहिलेसम्मै सुतिरहेको छ होला भन्ने ठानेँ ।

म उसको कोठाबाहिर पुगेँ । उसलाई बोलाउन थालेँ— किरण, ए किरण !

बोलाउँदा पनि उसको ढोका खुलेन । मैले अझै ठूलो स्वरमा ढोका ढक्ढकाउँदै बोलाएँ ।

मेरो आवाज सुनेर माथिल्लो कोठामा बस्ने एक युवती हाँस्दै बाहिर निस्किइन् । अनि, मधुर मुस्कानका साथ बोलिन्— साथी उठ्नु भएन कि क्या हो !

उनको आवाजले म अत्तालिएँ । हतारमा निलोकालो भएर जवाफ दिएँ— खै के हो, के हो यसको ताल !

उत्तर दिँदासम्म उनको अनुहार देखेको थिइनँ । पछि अनुहार हेरेँ । अनि पो चिनेँ, उनको र मेरो भेट पनि मर्निङ वाक जाँदा नै भएको थियो ।

पहिलापहिला त उनी पनि कहाँ बोल्थिन् र ! मैले एकतर्फी बोलाउँदा बोलाउँदै उनलाई बोल्ने बानी परेको हो ।

मेरो हातमा घडी भएर पनि उनलाई बोलाउने निहुँमा पहिलोचोटि ‘कति बज्यो होला ?’ भनेर सोधेको थिएँ । उनले त्यो कुरा बुझेकी रहिछन् ।

पछि अर्काेपटकको भेटमा मसँग यो कुरा गर्दै थिइन् । कुरो सुनेर मलाई पनि रमाइलो लाग्यो । उनलाई पनि मसँग बोल्दा त्यस्तै लागेको थियो रे, उनैले भनेकी ।

उनी किरण बस्ने घरमै बस्छिन् भन्ने मलाई थाहा थिएन । किरण अर्को टोलबाट यहाँ सरेर आएको धेरै भएको थिएन । यस्तै १०/१२ दिन भएको होला ।

दुईचारपटक किरणको यो कोठामा आएको हुँ । तर, ओल्लोपल्लो कोठामा को–को बस्छन् भन्ने थाहा थिएन । चासो पनि भएन ।

उनलाई यहाँ देख्दा अचम्म लाग्यो । तथापि, धेरै बोल्ने अवसर मिलेन । उनले परिवारसँगै बस्ने कुरा गरेकी थिइन् ।

उनले हाँस्दै केही भन्न खोजेजस्तो लाग्यो । ठ्याक्कै त्यही समय आँखा मिच्दै किरणले ढोका खोल्यो । हामीबीचको सम्भावित संवादले त्यहीँ विश्राम लियो ।

उनको मनमा के–के कुरा खेल्दै थिए होलान्, मैले थाहै नपाई किरणले ढोका खोलेर सबै चकनाचुर पारिदियो !

म किरणलाई पछ्याउँदै कोठाभित्र गएँ । अझै पनि उसको मुहारमा कालो बादल भरिएको थियो । मानौँ, ऊ कतै हराएको थियो ।

किरणको कोठामा सामानहरू असरल्ल छरिएका थिए । कपडा मिलाएर राखिएको थिएन । कति पहिलादेखिको जुठो भाँडा एउटा कुनामा थुपारिएको थियो ।

अस्तव्यस्त कोठाको एउटा कुनामा रहेको खाटमा ऊ थचक्क बस्यो । हाफ पाइन्ट र स्यान्डोमा रहेको उसको अवस्था भर्खरै गाउँमा रोपाइँ गरेर गलेर लखतरान रोपाहारजस्तो थियो ।

उसको शिरदेखि पाउसम्मै हेरेँ । लाग्थ्यो, उसले धेरै दिनदेखि खाना पनि खाएको छैन ।

उसलाई एउटा प्रसंगले पिरोलिरहेको मलाई म्यासेन्जरमा पटक–पटक भन्ने गरेको थियो । मैले त्यस्ता कुरा सामान्य हुन् भनेर खासै वास्ता गरेको थिइनँ । सायद यति गहिरो गरी उसलाई नियालेको पनि थिइनँ ।

उसको अवस्था देखेर दुःख लागेर आयो । तर, मैले केही गर्न सक्ने स्थिति थिएन ।

मैले भनेँ, “ओइ किरण, तँलाई के भा’को हो अचेल हँ ! यसरी जिन्दगी चल्छ ? आफ्नो बारेमा पनि त सोच यार ! यति सानो कुरामा यति ठूलो तनाव किन ? भन त !”

ऊ केही नबोली बस्यो । मैले झ्यालमा लगाएको पर्दा खोलेर कोठामा उज्यालो निम्त्याएँ, ऊ पनि उज्यालिन्छ कि भन्ने आसमा ।

लाग्यो, अचेलका केटाहरू यस्तै हुन् । फेसबुकमा केटीसँग कुरा गर्दै जाने, अनि आफ्नो सीमा नै बिर्सने !

त्यो केटीसँग उसको चिनजान भएको धेरै भएको थिएन । तर, उसको मायामा किरण यसरी डुब्न पुग्यो, भुमरीमा परेको पनि उसलाई पत्तो नै भएन ।

फेसबुक म्यासेन्जरमा कुरा गर्दै जाँदा केटीले जे भने पनि ऊ सकारात्मक प्रतिक्रिया दिन्थ्यो । एक दिन आफैँले प्रेम प्रस्ताव राखेछ ।

उसलाई लागेछ, अब यो केटी मसँग बोल्दिन होली । तर, उसले सोचेजस्तो भएन । ऊ त झन्झन् बोल्न थालिछ । कहिलेकाहीँ किरणले म्यासेज गर्न नभ्याए ‘के भयो ?’ भन्दै फोन गर्ने र म्यासेज गर्न थालिछ ।

किरणलाई लाग्यो, यसले मलाई मन पराउँछे । ऊ कल्पनाको अथाह सागरमा डुब्न थाल्यो । उसले सपनाको छुट्टै संसार बुन्न थाल्यो ।

एक दिन उसको यो स्वप्नमहलमा ठूलो भैँचालो गयो । बन्नै लागेको घर उजाड भयो । उनीहरूबीच कुरा त दैनिकजसो हुन्थ्यो, तर प्रेम प्रस्तावको जवाफ पाएको थिएन ।

एक दिन अकल्पनीय जवाफ आयो, “म सानै छु !”

किरणको जीवनमा मुख्य समस्या यही बन्यो । ऊ मलाई दुवैबीचको संवाद सुनाउँथ्यो ।

मलाई थाहा थियो किरण उसलाई धेरै माया गर्छ भनेर । तर, ती युवतीले किरणको मायालाई बुझ्न सकिनन् अथवा किरणले नै पो माया व्यक्त गर्न जानेन ।

किरण केही नबोली सिरानीमा राखेको मोबाइल खोलेर हेर्दै थियो । त्यसै बेला उसको मोबाइलमा म्यासेजको घण्टी बज्यो । अनि, अनुहार उज्यालियो ।

उसलाई उज्यालो अनुहारमा छोड्दै म मर्निङ वाकमा निस्किएँ ।
 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  ०९:५९
प्रतिक्रिया दिनुहोस्