site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादीमा मधेसमा ‘जुँगाको लडाइँ’, कहाँ कस्तो ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)ले पार्टी सुदृढीकरणका निम्ति सञ्चालन गरेको चारमहिने अभियानको समीक्षा गरिएको छ । आइतबारदेखि सुरु केन्द्रीय कमिटी बैठकमा गएको भदौ १६ देखि पुुस १६ गतेसम्म चलाइएको पार्टीको विशेष रूपान्तरण अभियानको समीक्षा गरिएको हो ।

काठमाडौंको राष्ट्रिय सभागृहमा जारी बैठकमा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका इन्चार्ज र अध्यक्षहरूले ‘रिपोर्टिङ’ गरेका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । अनुशासन आयोग, लेखा आयोग र पार्टीको निर्वाचन आयोगका प्रमुखले पनि बैठकमा ‘ब्रिफिङ’ गरेका उनले बताए ।

सापकोटका अनुसार, नेताहरूले विशेष रूपान्तरण अभियान सफल र सार्थक भएको उल्लेख गरे । आउँदा दिनमा नेता–कार्यकर्ताको कामका आधारमा मूल्यांकनसहित राम्रो कार्यका निम्ति पुरस्कार र नराम्रो गर्नेलाई दण्ड–सजाय दिनुपर्ने व्यवस्था गर्न माग गरिएको रिपोर्ट प्राप्त भएको सापकोटाले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

अभियानले पार्टीका नेता–कार्यकर्ताको मूल्यांकनको आधार पनि तयार गरेको उनले बताए ।

“अभियानले कसले कति काम गर्‍यो, कसले गरेन, को सक्रिय भयो/भएन भन्ने कुरा धेरै राम्रोसँग थाहा भएको छ र मूल्यांकनको आधार राम्रो बनेको छ । वक्ताहरूले के भनेका छन् भने अबचाहिँ कामको आधारमा मूल्यांकन गरेर जो सक्रिय छ, सक्रियताको आधारमा, कामको आधारमा मूल्यांकन गरेर राम्रोसँग खट्नेलाई प्रोत्साहन गर्नुपर्‍यो । तिनीहरूलाई पुरस्कारको व्यवस्था पनि गर्नुपर्‍यो,” बैठकमा प्राप्त सुझावबारे उनले भने, “नखट्नेहरूलाई दण्डित पनि गर्नुपर्‍यो भन्ने रिपोर्टमा आएको छ ।”

Global Ime bank

कहाँ कस्तो रिपोर्ट ? 
कोसी प्रदेशमा रूपान्तरण अभियानमा सहभागी नभएका ५० जनाको घटुवा गरिएको छ । प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले अभियानमा सहभागी नभएका पार्टीका नेता–कार्यकर्ताको घटुवा गरिएको जानकारी गराएका हुन् ।

उनले पार्टी सदस्यता भनेजस्तो नवीकरण गर्न नसिकिएको बैठका जानकारी गराए । संगठनमा गुटबन्दी धेरै भएको उनले ‘रिपोर्टिङ’ गरे ।

“गुटबन्दी धेरै छन् । संगठनलाई परिचालन गर्न गाह्रो भएको छ,” उनले बैठकमा भने ।

बैठकमा कोसी इन्चार्ज चक्रपाणि खनालले प्रदेशको नामकरणले तरंगित बनाएको बताए । उनले अभियानमा ६० प्रतिशतमा उत्साह र ४० प्रतिशत दुविधामा रहेको पाएको जानकारी गराए ।

मधेसमा जुँगाको लडाइँ 
मधेस प्रदेशमा माओवादीले कमिटी बनाउन सकेको छैन । नेताहरूको आपसी द्वन्द्वले मधेसमा कमिटी बनाउन नसकिएको माओवादी नेताहरू बताउँछन् ।

पार्टीका सचिव समेत रहेका मधेस प्रदेश इन्चार्ज लीलामणि पोखरेलले बैठकमा रिपोर्ट प्रस्तुत गरे । उनले त्यहाँ नेताहरूको जुँगाको लडाइँ रहेको सुनाए ।

“संगठन संरचना नभएको अवस्थामा अभियान सञ्चालन गर्‍यौँ,” बैठकमा उनले भने, “मधेसमा पार्टी नेतृत्व, नीति, योजना, कार्यक्रममा विवाद छैन । तर, जुँगाको लडाइँ छ ।”

उनले अभियान अझै आवश्यक रहेको बताए । काम गर्नेलाई पुरस्कृत र नगर्नेलाई दण्डित गरिनुपर्ने सुुझाव प्राप्त गरेको उनले जानकारी गराएको एक नेताले बताए ।

‘माओवादी हरायो भन्नेलाई जवाफ’ 
पार्टीको वाग्मती प्रदेश इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ले सिंगो नेतृत्व नै ‘फिल्ड’मा जानुले अभियानप्रतिको विश्वास, प्रचार र प्रभाव सकारात्मक रहेको टिप्पणी गरे ।

माओवादी हरायो, वर्गसंघर्ष छाड्यो भन्नेलाई अभियानले जवाफ दिएको रिपोर्ट उनले बैठकमा प्रस्तुत गरेको एक नेताले जानकारी दिए ।

वाग्मती प्रदेश अध्यक्ष सरल सहयात्रीले अभियानले अन्तरविरोध बाहिर ल्याएको सुनाए । “जमेको पोखरी खुलेको छ । अन्तरविरोध बाहिर आएको छ,” उनले भने ।

उनले संगठनमा अराजकता बढ्दै गएको पनि बताए । “संगठनात्मक अराजकता बढेको छ । नयाँ मानिस आउने मुहान बन्द भएको छ । राजनीतिमा प्रतिस्पर्धा छैन । मबाहेक को भन्ने आएको छ,” बैठकमा उनले भने ।

विशेष प्रदेश इन्चार्ज वर्षमान पुनले अभियानको सिकाइ महत्त्वपूर्ण रहेको बताए । “अभियानको सिकाइ निकै महत्त्वपूर्ण छ, एकार्कामा आरोप होइन, तथ्यमा आधारित बहस अभियानको मौलिकता हो,” बैठकमा उनले भने, “विधान अधिवेशन र विशेष महाधिवेशनलाई यो कोसेढुंगा बन्नेछ ।”

गण्डकी प्रदेश इन्चार्ज देवेन्द्र पौडेलले अभियानले जनतामा आशा बढाइएको सुुनाए । पार्टीमा इमानदारितापूर्वक काम नगर्ने, मिनि गुटबन्दी गर्ने प्रवृत्ति बढेको उनले उल्लेख गरे ।

पार्टी सदस्यता नवीकरणमा एकरूपता भएन 
माओवादीको लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्यले चार नेता पार्टी छाडेर अरू दलमा प्रवेश गरेको रिपोर्ट प्रस्तुत गरे । उनले पार्टी सदस्यता नवीकरण समान रूपमा नभएको सुनाए । एक नेताका अनुसार, उनले अर्घाखाँचीमा ९२ प्रतिशत पार्टी सदस्यता नवीकरण भएको र नवलपरासीमा ४ प्रतिशत मात्र गरिएको विवरण बैठकमा प्रस्तुत गरे ।

लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले अभियान चलाउँदा आर्थिक व्यवस्थापन गरिनुपर्ने सुझाव दिए । नेताहरूले आफूलाई पनि लागु हुने विधान निर्माण गर्न अभियानको सुझाव रहेको उनले बताए ।

बैठकमा सहभागी एक नेताका अनुसार, कर्णाली प्रदेश इन्चार्ज मातृका यादवले आफूलाई त्यहाँको इन्चार्ज बनाएको विषयमा नै कटाक्ष गरेका थिए । “मधेसीहरू जागिर नपाउँदा पहाड जान्छन्, त्यस्तै मधेसमा मैले पनि काम नपाएकोले कर्णाली पठाइयो,” उनले भने ।

उनले पार्टीका उपहासचिव तथा वाग्मती इन्चार्ज जनार्दन शर्मा भूकम्पका बेला रुकुममा खटिएको भन्दै व्यंग्य गरे । “भूकम्पका बेला प्रभाकरजी रुकुममा जोड खट्नुभयो, वाग्मतीबाट बिदा लिएर हो कि !,” उनको भनाइ उद्धृत गर्दै एक नेताले भने ।

सम्पर्क समन्वय इन्चार्ज गिरिराजमणि पोखरेलले काठमाडौंमा जनतासँग पार्टीको लय मिल्न नसकेको बताए । “काठमाडौंका जनता र माओवादीबीच लय मिलेको छैन, अन्तरविरोध छ,” उनले भने ।

उनले सरकारले जनताका अपेक्षित समस्या सम्बोधन गर्न नसकेको पनि बताए । पार्टी विधिमा नचल्दा घाटा भएको उनको निष्कर्ष छ । उत्पीडित वर्ग, समुदायतर्फ फर्किएपछि मात्र पार्टी बन्ने सुझाव प्राप्त भएको उनले बैठकमा जानकारी गराए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement