site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रधानमन्त्रीको भारत भ्रमणमा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर हुने

काठमाडौं । नेपाल र भारतबीच पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली यही भदौ ३० देखि असोज १ गतेसम्म भारत भ्रमणमा जाँदा उक्त सम्झौतामा हस्ताक्षर हुने भएको हो ।

“पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्न दुवै पक्ष सहमत भइसकेको अवस्था छ,” परराष्ट्र मन्त्रालय उच्च स्रोतले भन्यो, “प्रधानमन्त्रीको भारत भ्रमणको समयमा सम्झौतापत्रमा हस्ताक्षर हुन्छ ।”

गत जुलाई महिनामा भारतको नयाँ दिल्लीमा सम्पन्न दुई देशका गृह सचिवस्तरीय बैठकले आपराधिक मामिलामा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौताको मस्यौदालाई अन्तिमरूप दिएको थियो ।

नेपाल र भारतबीच सुपुर्दगी सन्धि र पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता नहुँदा आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई सुम्पन कठिनाइ हुँदै आएको थियो ।

प्रधानमन्त्रीको भारत भ्रमणमा सुपुर्दगी सन्धि भने नहुने स्रोतको दाबी छ । सुपुर्दगी सन्धिका सम्बन्धमा दुई देशबीच पर्याप्त छलफल भएको छैन ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १२:२२
प्रतिक्रिया दिनुहोस्