काठमाडौं । अमेरिकाले रूसको युक्रेन आक्रमण रोक्न भारतमाथि भन्सार कर (आयात ट्यारिफ) लगाएको दोहोर्याएको छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले मंगलबार राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसलाई युक्रेन युद्धअगाडि बढाउनबाट रोक्न भारतमाथि कर वृद्धि गरेको बताइन् ।
ट्रम्पले सुरुमा भारतमाथि २५ प्रतिशत कर लगाएका थिए । तर, पछि रूसबाट तेल खरिद गरेको भन्दै थप २५ प्रतिशत कर लगाएर कुल कर ५० प्रतिशत पुर्याएका छन् ।
लेभिटले पत्रकार सम्मेलनमा भनेकी छन्, “राष्ट्रपतिले यो युद्ध रोक्न ठूलो सार्वजनिक दबाब दिएका छन् । उनले भारतमाथि प्रतिबन्धसहित अन्य कदम चालेका छन् । उनी यो युद्ध तुरुन्तै अन्त्य गर्न चाहन्छन् । एक महिना पर्खनुपर्ने विचारलाई खारेज गरेका छन् ।”
ट्रम्पले यसअघि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अलास्कामा शिखर सम्मेलन गरेका थिए । त्यसपछि उनले ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र प्रमुख युरोपेली नेताहरूलाई स्वागत गरेका थिए ।
“ट्रम्प चाँडोभन्दा चाँडो शान्ति ल्याउन चाहन्छन् । नेटो महासचिवसहित युरोपेली नेताहरूले यो पहिलो कदम सकारात्मक भएकोमा सहमति जनाएका छन्,” लेभिटले अगाडि भनिन्, “ट्रम्पलाई यी नेताहरूसँगै बसेर समाधान निकाल्नेछन् भन्ने आशा छ ।”
ट्रम्पले भारतले रूसबाट तेल खरिद गरेर युक्रेन युद्धमा रूसलाई सहयोग गरेको भन्दै कर वृद्धि गरेको दाबी गरेका छन् । भारतले अमेरिका र युरोपलाई ती देशहरूले पनि रूससँग व्यापार गरिरहेको भन्दै जवाफ दिएको छ ।
भारतले आफ्नो आर्थिक आवश्यकताका लागि रूसबाट तेल किनिरहेको र हरेक मञ्चमा रूस–युक्रेन युद्ध अन्त्य गर्नुपर्ने पक्षमा वकालत गर्दै आएको छ । एनडीटीभी