“खोइ कहाँदेखि सुरु गरूँ म मेरा जीवन कथा, मान्छेको मन पनि बडो विचित्रको हुने रहेछ । परिपक्व हुँदाहुँदै पनि कहिलेकाहीँ गर्न हुने र नहुने जम्मै काम गरूँगरूँ लाग्ने रहेछ । आफूले आफैँलाई चिन्न नसक्दा जीवन समस्याको अरण्यमा फसेर रुमल्लिने रहेछ नानी !”
लामो उच्छ्वास लिँदै माया दिदीले मेरो पहिलो प्रश्नको उत्तर दिन सुस्तरी ओठ खोल्नुभयो ।
म जेलभित्र थुनिएर कैद भुक्तान गरिरहेका महिला कैदीहरूको स्वास्थ्य, शिक्षा र मानसिक अवस्थाको अध्ययन–अनुसन्धान गर्न जलेश्वर कारागार पुगेकी थिएँ ।
चोरी, डकैती र हत्याका आरोपमा प्रायः महिला दिदीबहिनीहरू जेल पुगेका रहेछन् । एउटी निकै शालीन महिलामा मेरा आँखा टपक्क टाँसिए । नाम माया खत्री रहेछ ।
नजिकै गएर नमस्कार गरेँ । आशा हराएर सुक्खा भएका खोपिल्टाजस्ता आँखा उठाउँदै पुलुक्क मलाई हेरेर मुसुक्क हाँसिन् । बडो मिठो मुस्कान थियो मायाको ।
त्यो मुस्कानमा म लट्ठिदै गएँ । शालीनता र मधुरताले भरिपूर्ण थियो मायाको बोली पनि । श्रद्धा र स्नेहले मायाका दुवै हात चपक्क समातेर मुसार्दै प्रश्न सोधेकी थिएँ ।
“तपाईं कसरी जेलमा आइपुग्नुभयो ? तपाईंको घर कता हो ? कसको छोरी, कसको बुहारी हो ? के तपाईंको जीवन कहानी मलाई सुनाउन मिल्छ ? म जेलजीवन बिताएका महिलाहरूको कथा लेख्ने प्रयास गरिरहेछु ।”
माया कथा सुनाउन राजी हुनुभयो । मैले रेकर्ड गर्दै गएँ ।
“पानीबाट झिकेको माछाजस्तै भएकी थिएँ । पुसको आधाउधी भइसक्दा पनि मलाई चिसोले पटक्कै छोएको थिएन । प्रायः निलो रङको सारीमा सेतो चोलो लगाउँदा सबैले खुलेर प्रशंसा गर्दै भन्थे— निकै खुलेको छ तँलाई यो रङ । के हो माया, तेरो अनुहार झन् कुलकुलाउँदो देखिएको छ त ! पूर्णचन्द्रझैँ खुलेको छ तेरो मुहार ।
अरूले उचाल्दा म पनि दिनको दुईचारपटक ऐना हेर्थेँ । मेरा हातबाट राता चुराहरू सदाका लागि बिदा भएको पनि वर्षौँ भएको थियो । गोरो गालामा बेलाबेला लालीगुँरासको फूल निचोरिएर लतपतिएजस्तै रातो रङ देखिन्थ्यो रे !
साथीहरू भन्ने गर्थे– मायाले भर्खर बाघको रगत चुसेर आई कि क्या हो, गालामा के विधि लाली चढाएकी !
म तिनका कुरा सुनेर मक्ख पर्थेँ र पुनः ऐनाअगाडि गएर उभिन्थेँ । कालो र लामो थियो कपाल पनि । नागझैँ बटारिएका कपालले बेलाबेला कम्मरसम्म आएर मलाई सुम्सुम्याउँथे । नांगो छालामा कपालले गरेको स्पर्श बद्रीको हातजस्तै लाग्थ्यो ।
बद्री – मेरो श्रीमान् । जब कपालले छुन्थ्यो, त्यही कपाल बद्री बनेर मेरो रोमरोममा कुदेको आभास हुन्थ्यो । त्यो स्पर्शमा म मदहोस हुँदै परमानन्दमा डुबुल्की मार्न पुग्थेँ । कपालको स्पर्शले मलाई उत्कर्षमा पुर्याएर रोमाञ्चित बनाउँथ्यो । त्यसैत्यसै कुतकुतिन्थेँ ।
उमेरै त्यस्तै थियो । जम्मा चौबीस वर्षकी त थिएँ । फक्लक परेको उज्यालो सिउँदो खाली भएर उदास थियो । गलामा लगाएको प्वाँलोको मालाले बेलाबेला घाँटी अँठ्याउँलाझैँ गर्थ्यो ।
एक दिन मेरा आँखाहरू एकोहोरो दलिनमा गएर टाँसिए । एकजोडी भँगेरा र भँगेरी प्रणयलीलामा लीन भएको देखेर मैले मेरा बद्रीलाई सम्झिएँ ।
बेहुली भएर आएको त्यो रातको घटनाहरू एकएक गर्दै मस्तिष्कमा पौडिन थाले । हामी पनि कुनै दिन भँगेराका जोडीजस्तै थियौँ । मलाई औडाहा भयो । मैले भँगेराको जोडीलाई धेरै बेरसम्म हेरिरहन सकिनँ । अनि, त्यहाँबाट जुरुक्क उठ्दै इनारतिर लागेँ ।
मलाई इनारमै फाल हालूँजस्तो गर्मी भएको थियो । इनारमा बाँधेर राखेको बाल्टिन ग्वान्द्राङ्ङ पार्दै झारेँ । बाल्टिनको आवाज निकै बेरसम्म आयो । ताजा पानी निकालेर अनायास टाउकोमा खन्याएँ । शरीरमा अनौठो छट्पटीले आक्रान्त पार्दै थियो ।
हातगोडा जम्मै तातेका, शरीर पूरै झमझम गरेर तरंगित थियो । कानको लोती भुंग्रोमा परेजस्तै भयो । आनन्द दिने तर अनौठो ऐँठन भइरहेको महसुस हुँदै गयो ।
बाह्र बजे दिउँसोको समय भएकोले चकमन्नताले पूरै गाउँलाई ख्वाप्ल्याक्क निलेको थियो । चारैतिर पल्याकपुलुक हेरेर सारीको सप्कोले सिनित्त मुख र छाती पुछेँ । मेरो छाती बेजोडले उफ्रिरहेको महसुस गर्दै थिएँ । फोक्सोको गति आरनको खलाँतीझैँ भएको थियो ।
सासलाई छोडेर मेरो ध्यान नजिकै खलियातिर दगुरे । मेरा आँखाहरू परेवा बस्ने खोरतिर एकाग्र भए । परेवाले परेवीको थुतुनोलाई सुम्सुम्याउँदै प्रेम साटासाट गर्दै थिए ।
परेवा घरी परेवीको पखेटामा लुट्पुटिन्थ्यो, घरी शरीरमाथि फुन्द्रुङ्ङ चढ्थ्यो । म लाटिँदै गएँ । परेवाको जोडीलाई नियाल्दै पुनः बद्रीसँग परेवालाई दाँज्न थालेँ । एकान्तको सौन्दर्य तोड्दै टुप्लुक्क गोविन्द इनारमा आइपुगे । गोविन्दले दुईपटक घाँटी सफा पारे ।
गोविन्द हाम्रा छिमेकी । हठात् म तर्सिएर बोलेँ, ‘गोविन्द दाइ, के हो आज फेरि पानी लिन अबेला गर्नुभयो त ?’
‘के गर्नु माया, कोरोनाले जहान निलेपछि मेरो त संसारै अँध्यारो भयो । न समयमा आगो बल्छ न पानी नै भित्रिन्छ । न भनेको बेला भातै पाक्छ । आइमाई नभएको घर त मसानघाटजस्तै हुनेरहेछ । हुन त तिमी पनि यसरी टोलाएको देखेर बद्री भाइको न्यास्रो लागेर आउँछ । उमेरदार छौ, रहर कति लाग्दो हो । समाज यस्तै छ । अझ तिमीले त तरबारको धारमा हिँड्नुपर्छ । जे भए पनि तिमी त आइमाई मान्छे मन दरै होला । छोराको मुख हेरेर बाँकी जीवन बिताउन सक्छौ । आफ्नो त छोरो पनि पटनातिर भासियो । आमाको वर्ष दिनको काममा आएर गएदेखि एकबाजी फोन पनि गरेको छैन ।’
इनारजस्तो गहिरो आँखाबाट गोविन्दको सुस्केरा रूपी धमिलो बाढी ह्वात्तै बाहिर निस्कियो । त्यो धमिलो पानीमा म भिज्दै गएँ ।
‘गोविन्द दाइ, खोइ म भरिदिन्छु पानी, उता हट्नु ।’ नजिकै गएर गाग्री समाउन आँटेकी मात्र के थिएँ, मेरो दुर्दशा त्यही दिनबाट सुरु भयो नानी ! त्यही दिनबाट । पेटको भोक त जे खाए पनि मेटिने, तर शरीरको भोक कस्तो डरलाग्दो हुँदो रहेछ । शरीरको भोकले मेरो अस्तित्व नै खायो ।”
“अनि, के भयो दिदी भन्नु न ।”
“गोविन्दको शरीरबाट अनौठो महक बनेर पसिनाको गन्ध फैलिरहेको थियो । खोइ नानी, अरू बेला लोग्नेमान्छेको पसिना गनाउँथ्यो । त्यो दिन मलाई त्यो पसिनाले मोहनी लगायो क्यार ! मलाई त्यो पुरुष गन्धले नराम्रोसँग छोप्न थाल्यो । हातगोडा अनायासै लल्याकलुलुक भएर शरीरको सन्तुलन गुम्न पुग्यो । इनारको छेउछाउमा लेउ पनि लागेको थियो । म चिप्लिएर हुत्तिँदै लड्न लागेँ ।
सिमेन्टको भुइँमा पछारिन्छु भनेर गोविन्दले मलाई चपक्क समाते । हामी दुवैजना खुर्मुरिएर पछारियौँ । गोविन्दको छातीमा म लपक्कै टाँसिन पुगेँ । उनका दुवै हातले मलाई कसिलो गरेर समात्दै आफ्नो छातीमा लिसोझैँ टाँसे । मलाई चोट लाग्नबाट जोगाए उनले । त्यो दिन शरीरमा चोट लाग्नबाट त जोगिएँ, तर मेरो मन र मस्तिष्क घायल भएर छियाछिया भइदिएछ ।
बद्रीको देहान्त भएदेखि यति नजिकबाट पुरुषको सासको गति सुनेकी थिइनँ । वातावरण मौन थियो र हामी दुवैको धड्कनले रतिराग आलाप्दै थियो । मेरो गालाबाट रगतको भेल नै आउलाजसरी अनुहारमा रगत दौडिएको अनुभव गर्दै थिएँ ।
अनि, फुत्त गोविन्दको छातीबाट आफूलाई अलग पारेर बेतोडले घरतिर भागेँ । नजिकै तोरीबारीमा पुतलीहरू उडिरहेका थिए । परेवाहरू खोरबाट माकुर माकुर गर्दै हामीलाई नै हेर्दै थिए । गोविन्दले पनि युद्धमा हारेको सिपाहीजस्तो अनुहार लगाएर थरथर काम्दै एक बाल्टिन पानी टाउकोबाट खन्याए ।
हो, त्यही रातदेखि सपनामा बद्रीलाई बारम्बार देख्न थालेँ । हरेक बिहान उठ्न खोज्दा म ओछ्यानमा लखतरान पर्दै गएँ । म गल्दै थिएँ । धामीझाँक्री सबैलाई देखाउनुभयो अलखादेवीले ।
अलखादेवी – मेरी सासू । बुहारी दिनदिनै गल्न थालेपछि मलाई सासूले जनकपुर अञ्चल अस्पतालसम्म लिएर आउनुभयो ।
औषधिले काम गरेन । टाउको दुख्ने, झर्को लाग्ने भई नै रह्यो । अनुहार पहेँलो हुँदै गयो । कपालले जबजब कम्मरको छालालाई छुन्थ्यो, तबतब मलाई छोप्ने व्यथाले झम्टन्थ्यो । कपालले मेरो कम्मरमा कुतकुत्याउँदा म अधैर्य भएर मुर्छा पर्थेँ ।
‘माया, तँ किन यसरी टोलाएर बस्छेस् ? हेर त छोरोको हालत, बरा टुहुरोजस्तो भइसक्यो । छोरालाई राम्रोसँग हुर्का बाबै ! होसमा आइज ।’
म यो आवाज सुनेर हठात् जुरुक्क उठेँ । आँखाअगाडि बद्री ठिंग उभिएका थिए । दगुर्दै गएर झ्याप्म अँगालो मार्दै सुमसुम्याएँ । मेरा ओठहरूले चुम्मनको वर्षा गर्दै थियो ।
छोरो सासूआमासँग माथिको कोठामा सुत्थ्यो । म भान्साकोठासँगै तलको कोठामा सुत्थेँ । ‘मलाई किन यसरी एक्लै छोडेर गएको ? तिमीबिना म यहाँ एक्लै बाँच्न सक्दिनँ । मलाई छोडेर नजाऊ । मेरो राजा, मलाई छोडेर नजाऊ ।’
मेरो कोठाबाट एकोहोरो म रोएको आवाज सुनेर अलखादेवी ढोका ढकढक्याउन आउनुभएछ ।
‘माया, ए माया ! ढोका खोल । किन कोकोहोलो गरेकी ? कोसँग कुरा गरेकी ?’
कोठाभित्रबाट आवाज आउन बन्द भएछ । अनि, अलखादेवीले आत्तिँदै गोविन्दलाई बोलाएर ल्याउनुभएछ । उत्ति नै खेर गोविन्द दगुरेर आएछन् । मेरो कोठाको ढोकामा एक लात्ती हानेर भत्काउँदै भित्र पसेछन् । म भुइँमा बेहोस भएर ढलेकी रहेछु ।
गोविन्दका हातले पुनः चपक्क समातेर बाहिरको खटियासम्म पुर्याउँदा पो म चलमलाएछु । गोविन्द र अलखादेवी मलाई कुरेर निकै बेर बसेछन् । बिहानीपख मलाई होस आयो ।
‘मेरो बद्री, नजाऊ । मलाई छोडेर अब नजाऊ,’ म बर्बराउँदै थिएँ रे !
मेरो गालामा म्वाइँ खाँदै मेरो सानो छोरो भन्दै रहेछ, ‘नरुनु न मम्मी, म ठूलो भएपछि बालाई लिएर आउँछु । भगवान्को घरबाट जसरी पनि म बालाई लिएर आउँछु ।’
बल्ल मेरो होस पूर्ण रूपमा फर्कियो । म खटियाबाट उठ्न खोजेँ । पुनः धर्मराएर लड्न लाग्दा गोविन्दले फेरि मलाई चपक्कै समाते ।
मेरो सासको गति अत्यन्तै तीव्र भएको थियो । मेरा आँखाहरू गोविन्दको आँखामा गएर पोखिए । जब हाम्रा आँखा जुधे, शरीरभरि उन्मादको तरंग फैलियो । झट्ट गोविन्दका आँखाबाट मेरा आँखाहरू हटाएर छोराको अनुहारमा लगेर टाँसेँ ।
केही बेरपछि गोविन्द गए । म छोरो लिएर कोठामा पसेँ । मलाई बद्रीको सम्झना अचकाली आयो । गोविन्दले छोएको अंगअंगमा अग्निको ज्वालाले पोलेजस्तो भयो ।
हुत्तिएर भित्रपट्टिको खाटमा गएर घोप्टो परेर बद्रीलाई सम्झिरहेँ–
अठार वर्षको उमेरमा बद्रीसँग भागी विवाह भएको थियो । बिहे भएर आएको रात यही कोठामा म बद्रीको स्वास्नी भएकी थिएँ । बद्रीको अरट्ठिएको जिउमा लड्दा पनि मलाई परमानन्दको अनुभूति भएको यही कोठा हो । चरमोत्कर्षको त्यो मिलनमा रगतको विश्वास बगेको थियो ।
पूरै रात रोमाञ्चित पार्ने आलिंगनमा बिताएकी थिएँ । फूलको थुँगा कसैले टपक्क टिपेर ढुंगाको मूर्तिमा चढाएजस्ती थिएँ, बद्रीका अगाडि ।
दैवको लीला, बद्रीले सदाका लागि मलाई एक्लै छोडेर यो संसारबाट बिदा भए ।”
माया दिदीका आँखामा गंगासागर छचल्कियो । दिदीको टाउको मुसार्दै दिदीलाई कुरा अगाडि बढाउन इसारा गरेँ ।
“राति सुत्न सकिनँ । आफ्नै आत्माभित्र अग्निसात् भएको आभास गरेँ । कोठामा बसिरहन पनि सकिनँ । अनि, पुसको अँध्यारो रातिमा नजिकैको पोखरीमा नुहाउँछु भनेर गएँ । जिउ भतभती पोलेको थियो । छातीसम्म पेटीकोट बाँधेर पोखरीमा डुबुल्की मारेँ । निकै बेर पानीमा डुबिरहेँ ।
केही बेरपछि केही शान्त भएँ । आँखा बन्द गरेर पानीको शीतलता महसुस गर्दै थिएँ, कानमा बद्रीको आवाज गुन्जियो, ‘माया, तँ आइस् ! आइज, मेरो नजिक आइज । कति वर्षदेखि तँलाई कुरेर बसेको थिएँ ।’
बद्री पोखरीको बीचबाट मेरो नजिकै आएर मलाई लुपुक्क छातीमा लुकाउँदै गयो । म त्यसैत्यसै हलुका हुँदै गएँ । हामी दुवैजना एकार्कामा यसरी बिलायौँ, जसरी चिनी पानीमा बिलाउँछ । निकै बेर पानीमा भुल्काहरू उठिरह्यो । चन्द्रमा पानीमा डुबुल्की मार्दै थियो । झ्याउँकिरीले मादल बजाउँदै थिए ।
मिर्मिरे उज्यालोमा मैले आफ्नो शरीरलाई महसुस गरेँ । शरीर दुःखे पनि हलुका भएको थियो । पेटीकोट पोखरीमा पौडी खेल्दै रहेछ । हतारहतार पानीभित्रबाटै पेटीकोट भिरेर पाखामा निक्लेँ ।
बद्री पोखरीको उत्तरपट्टिबाट रहडी झाङतिर गयो । मेरा आँखा उत्तरतिर ओछिएका थिए । म पूर्ण आनन्दमा घर फर्किएँ । सबेरै घर–आँगन नबढारेको महिनौँ भएको थियो । अलखादेवी दंग परिन् ।
साता दिनअगाडि कमलामाईमा पूजा गरेको र देवीलाई बोका भोग दिएको सफल भयो भन्दै हात जोडेर प्रार्थना गर्न थालिन्, ‘हे परमेश्वरी, धन्य छौ ! तिमी धन्य छौ । तिम्रो शक्ति अपरम्पार छ । मायालाई जाती होस् भनेर भाकल गरेकी थिएँ, तिम्रो आँगनमा । आज पूरा भयो । मायाका पहेँला अनुहारमा आज अरुणोदय भएको छ । नवदुलहीको जस्तो चाल छ । हे देवी, तिम्रो दैलोमा म फेरि अर्को वर्ष मायालाई लिएर आउँछु । कृपा बनाइराख ।’
अलखादेवीको आँखामा आनन्दको सागर ओर्लिएको थियो । त्यो दिनदेखि मेरो मन काममा रमाउन थाल्यो । मेरा हात मेसिनजस्तै चल्दै गए । घरको सम्पूर्ण काम भ्याएर म आफ्नो कोठामा गएर पल्टिएँ ।
आँखामा बिहान पापमोचनी पोखरीमा घटेको घटना सम्झँदै आनन्दविभोर भएकी थिएँ । सोच्न थालेँ– अहो, सपना पनि कति यथार्थ हुन्छ ! मेरो शरीर दिनभरि फुरुंग थियो ।
के बद्रीको आत्मा पोखरीमा अझ छ ? कसरी पोखरीबाट निस्केर मेरो इच्छा पूरा गरेर अलप भए ? के भोलि पनि बद्रीको आत्मा पोखरीमा आउला ? सोच्दासोच्दै मलाई बद्रीको यादले उखुम पोल्न थाल्यो । भोलि कति खेर होला भन्दै घरको काममा आफूलाई व्यस्त राखेँ ।
खाना खाएर राति ओछ्यानमा आउँदा गोविन्द उत्तानो परेर खाटमा पल्टिरहेको देखेर म छक्क पर्दै थिएँ ।
‘काम सक्कियो माया ? आऊ, तिमीलाई पर्खिएर बसेको । आऊ, मेरो अँगालोमा आऊ ।’
मैले गोविन्दको अनुहारमा बद्रीको रूप देख्दै गएँ । मेरो होस पूर्ण रूपमा हरायो । सम्मोहित भएको मान्छेजस्तै गोविन्दको अँगालोमा आफूलाई सुम्पिदिएँ ।
पट्पटी फुटेको खेतमा वर्षा हुँदाजस्तो आवाज आउँछ मेरो कोठामा उस्तै आवाज आएको थियो । अँध्यारोमा म पूरै हराएकी थिएँ । तिर्खा लागेको यात्रीले पानी भेट्दा पानीको स्रोत नखोजेझैँ म प्यास मेटाउँदै गएँ । निकै बेरमा कोठाभित्रको वर्षा थामियो ।
मेरो शरीर र आत्मा दुवै निथ्रुक्क भिजेको थियो । म पूर्ण सन्तुष्टि लिएर सम्पूर्ण हुँदै थिएँ ।
गोविन्दले मलाई मायालु पाराले गाला मुसार्दै म्वाइँ खाँदै भन्यो, ‘माया, म तिमीसँग अलग्ग भएर बस्न सक्दिनँ । अस्ति इनारमा जब तिमीलाई अँगालोमा बेरेँ, मेरो सम्पूर्ण शरीरमा आगो लाग्यो । त्यो रापले मलाई बस्नखान दिएन । न राति सुत्न सकेको छु न दिउँसो काम गर्न । हिजो तिमीलाई पापमोचनी दहमा जब देखेँ, मेरो होस रहेन । पानीमा हामी केही बेर एक भयौँ । त्यसपछि झन् मभित्र आगो दन्किएको छ । तिमीविना त म एक पल पनि बाँच्न सक्दिनँ माया ! तिमी र म एक हुनुपर्छ । तिमी र म यो गाउँबाट भागौँ ।’
म पूरै बेहोसीको हालतमा थिएँ । म एकोहोरो गोविन्दको अँगालोलाई बद्रीको अँगालो ठानेर लुट्पुटिएकी थिएँ । आँखा, कान जम्मै निष्क्रिय भएका थिए । मस्तिष्क तर्क गर्ने अवस्थामा थिएन । सुस्तरी गोविन्दको कानमा म फुस्फुसाएँ, ‘भोलि बिहान फेरि दहमा आऊ है ।’
विस्तारै पछाडिको झ्यालबाट गोविन्द निस्केर गए । म तृप्त भएर फसफसी निदाएँछु । बिहान पुनः झिसमिसेमा दहतिर दगुरेँ ।
उसैगरी पेटीकोट बाँधेर दहमा हेलिएँ । उत्तरपट्टिबाट गोविन्द पुनः आए । मेरो पेटीकोट दहमा तैरियो । पानी धमिलो भयो । फेरि जमेको पोखरीमा भुइँचालो आयो । आँधी, तुफान, हावा हुन्डरी एकैपटक आयो ।
म र गोविन्द त्यो वेगमा बग्दै गयौँ । यो क्रममा महिनौँ बित्यो । केही समयपछि त्यो तुफान विस्तारै कम भयो । खडेरी परेको जमिनलाई निरन्तरको बर्सातले शीतल पारेको थियो ।
निकै महिनापछि अलखादेवी आफैँ आँगन बढार्न थालिन् । फेरि भाकल गर्दै थिइन्, ‘हे जानकी माई, मेरी मायालाई जाती पारिदेऊ ! एक किलो लड्डु लिएर तिम्रो आँगनमा आउँछु । माया फेरि पहेँली भई । बोल्न छोडी । खाना पनि खान्न, वाकवाक गर्छे, खाएको पच्दैन । हे देवी रक्षा गर ।’
छोरो पनि आकाशतिर फर्किएर भन्दै थियो, ‘हे भगवान्, मेरो बुवालाई चाँडै घर पठाइदिनु ! मेरो मम्मीलाई निको हुन्छ । म ठूलो नहुँदै कसरी आऊँ त्यति माथि, बरु बालाई पठाइदिनु न भगवान् ।’
मेरो मनमा चिसो पस्न थाल्यो । पोखरी नगएको पनि नौ महिना भइसकेको थियो । कोठामा गोविन्द नआएको पनि महिनौँ भयो ।
त्यस दिन बिहान झिसमिसेमा फेरि पोखरी गएँ । उसैगरी पेटीकोट बाँधेर दहमा पसेँ । ‘ए बद्री, ए गोविन्द !’ म चिच्याइरहेँ । एकोहोरो भ्यागुताहरूको ट्वारट्वारको मात्रै आवाज आयो ।
म शीतांग भएँ । आफ्नै शरीर सुम्सुम्याउँदा चाल पाएँ, मेरो त पेट पुटुक्क भएको रहेछ । कति महिना भ्रममा थिएँ, केही होसहवास रहेनछ । अनि, मलाई असाध्यै डर लाग्यो ।
पोखरीको डिलमा बसेर स्याल कराएझैँ कराउन थालेँ । रुँदारुँदा मलाई आफ्नो भोकदेखि झोक चल्न थाल्यो । बद्रीलाई सम्झेर गोविन्दलाई अँगालेको बल्ल मलाई हेक्का भयो । अब हताश–निराश हुनुभन्दा केही उत्तम निर्णय लिनुपर्छ भन्दै पेटमा पटुका दह्रोे कसेर गोविन्दको आँगनमा गएँ ।
गोविन्द भित्र एक्लै पल्टिरहेको देखेर ग्वाम्म अँगालो हाल्दै बोलेँ, ‘गोविन्द, अब हामी यो गाउँबाट भागौँ ! मेरो गर्भ नौ महिनाको भइसक्यो । एक त विधवा, त्योमाथि यो नाजायज भुँडी । गाउँलेहरूले चाल पाए भने मार्छन् । मलाई बचाऊ गोविन्द । म तिमीसँग पुनः बाँच्न चाहन्छु ।’
गोविन्दले मलाई आफ्नो छातीबाट हुत्याउँदै असाध्यै तुच्छ वचन लगाए, ‘तेरो पेटको बच्चा मेरै हो भन्ने के ग्यारेन्टी छ ! तँ मसँग भएर पनि हरेक क्षण बद्रीकै कल्पनामा डुबेकी थिइस् । तैँले एकपटक पनि हृदयबाट गोविन्द भनेर अँगालो हालिनस् । चरमोत्कर्षमा पनि मरेको लोग्नेको नाम मात्र तेरो थुतुनोबाट निस्किएको थियो । मजस्तै अरू पुरुषसँग पनि तैँले बद्रीलाई सम्झेर लसपस गरेकी हुन सक्दिनस् ? मलाई धन्यवाद भन्, मैले तेरो शरीरको आगो बुझाएँ । त्यति मात्र हो बुझिस्, मैले तँलाई दिन सक्ने ! मलाई यही गाउँमा बस्नु छ । म के भनेर विधवालाई स्वास्नी बनाऊँ ? डाँडाटोलबाट मेरो बिहेको लागि घिमिरेकी कुमारी छोरीको कुरा आएको छ । अर्काकी जुठी स्वास्नी, त्यसमाथि छोरासहितकी आइमाईलाई म कदापि स्वास्नी बनाएर घरमा त भित्र्याउन सक्दिनँ । हो, बेलाबेला पोखरीमा आइज, तेरो भोक पूरा गरिदिन्छु । जा, यो भुँडी कतै लगेर झार ! बरु, पैसा चाहिए भन । तँ यहाँबाट गइहाल, भोलि नै मेरो बिहे छ ।’
गोविन्दले मलाई उसको घरको सँघारबाट गलहत्यायो । पहिलोचोटि विधवा हुँदै मरिसकेकी म, त्यो दिन गोविन्दले अपमान गरेर मलाई पुनः मार्यो ।
नभन्दै भोलिपल्ट नै गोविन्दको आँगनमा मान्छेको भीड लाग्न थाल्यो । म पुनः गोविन्दसँग कुरा गर्न जान्छु भनेर गएकी थिएँ । धेरै मान्छे देखेर बिरालोको चालमा घर फर्किएँ । मेरो सम्पूर्ण शरीरमा नौलो किसिमको आगो सल्कियो । डर, भय, त्रासले मलाई सिद्रा पार्दै लग्यो ।
हेर्दाहेर्दै गोविन्दको आँगनमा कर्नाल बज्न थाल्यो । भतेर पाक्न थाल्यो । एक हुल जन्ती गोविन्दलाई बेहुलो बनाएर बाजागाजाका साथ अगाडि निस्किए ।
म पश्चात्तापको अग्निमा भसभसी डढ्न थालेँ । गल्ती पो माफ गर्न सकिन्छ, पापलाई त दण्ड नै दिनुपर्छ– म सोच्दै थिएँ ।
कुरा भुसको आगोजसरी गाउँमा फैलियो । मेरो चरित्रमा मात्र औँला उठ्यो । प्रश्नहरू मेरो पुर्पुरोमा मात्रै थोपरिए । मेरो मनमा विद्रोहको आगो सल्कियो । पेटलाई जति नै कसे पनि छोपिनेवाला थिएन । मेरो केही लागेन ।
गोविन्दको बेहुली हेर्न गाउँलेहरू जम्मा भएका थिए । अलखादेवी पनि नातिलाई लिएर भतेर खान बारीको डिलमा गइन् । मेरो आँखाको डिलबाट मेरो सतित्व, अस्तित्व र स्वाभिमानले नराम्रोसँग आत्महत्या गरेको कसैले देखेनन् ।
मलाई एकएक पल कटाउन मुस्किल पर्दै थियो । अलखादेवीले एउटा टपरीमा मासु, अर्को टपरीमा भात र एक दुनो अचार ल्याएर सँघारमा राख्दै बलिन्द्र धारा आँसु खसाल्दै बोलिन्, ‘माया, भन्त तँलाई मैले केको कमी गरेर राखेकी थिएँ ? गाउँलेहरूले दशथोक भन्दा पनि माया मेरी छोरी हो भन्थेँ । मायाले सबै कुरा मलाई भन्छे भन्ने कत्रो विश्वास थियो । बाँसको मुनाजस्तो छोरो छ । मलाई त तैँले सासू मात्र ठानेकी रहिछेस् । मेरो त माया लागेन लागेन, छोरोको पनि माया लागेन तँलाई ? मेरो छोरो नभए पनि तेरो र नातिको मुख हेरेर बाँचेकी थिएँ । तँलाई मैले नजन्माए पनि छोरी सम्झेर दिन काट्दै थिएँ । बारम्बार अर्को बिहे गर भन्दा तैँले नै मानिनस् । आखिर शरीरभन्दा माथि केही सोचिनस् है !’
मेरी सासूको हृदयमा भुइँचालो गएको थियो । मेरो वाक्य हराएको थियो । सासू बोल्दै थिइन्, ‘गर्भ बस्दै भनेकी भए बरु म केही उपाए गर्थेँ । महिनावारी बारेर मलाई झुक्याइस् । तँलाई मैले कहिले बुहारीजस्तो व्यवहार गरेकी रहिछु माया ! यो पापलाई लिएर यो गाउँबाट आजै राति भागिहाल् भनेर भन्न पनि सक्दिनँ । तँलाई केको कमी थियो भन् त ? तँलाई अहमत्याइँ लागेको होइन ? यति राम्रो घर छ । जग्गाजमिन छ । तँलाई एकछिनको मज्जा लिने दुर्बुद्धि कहाँबाट आयो माया ? हे ईश्वर, जे भयो भयो ! अब पोकोपन्तरो कस्, काठमाडौंतिर जाऊँ ।’
सासूआमाको हृदयमा ज्वालामुखी विस्फोट हुँदा पनि मलाई कुनै अपशब्द नबोलेको देख्दा सासूप्रति ह्वात्तै सम्मान ओर्लिएर आएको थियो । जन्तेबाख्रो खान गएका ठाउँमा खासखुस कुरा भएको रहेछ । गोविन्दसँग मलाई धेरैपटक गाउँलेहरूले इनार, नहर र पोखरीतिर देखेका रहेछन् ।
अनि, गाउँका बुद्धिजीवीहरूले गोविन्दलाई केटी खोजेर अपर्झट बिहे गरिदिने योजना बुनेका रहेछन् ।
‘आज राति नै यो गाउँ छोडेर हामी काठमाडौं जानुपर्छ । सबैले तेरो चर्तिकला थाहा पाइसकेका छन् । भोलि तँलाई गाउँलेले लखेटेको मेरो नातिले नदेखोस् । बालखको मनमा मेरी आमालाई किन गाउँलेहरूले कुट्दै लखटे भन्ने प्रश्न कहिले समाप्त नहुने गरी नउब्जियोस् ।’
सासूआमाको आँखामा स्नेह, प्रेम र करुणा उम्रिएको थियो । मलाई निधारमा चपक्क म्वाइँ खाएर आँखा पुछ्दै नाति च्यापेर टाँढ चढिन् । मैले गोडा समाउँदै भने, ‘आमा, मलाई माफ गर्दिनु ! मेरो खातिर यो गाउँ छोडेर यो उमेरमा तपाईंले कतै भौँतारिनु पर्दैन । अपराधीले पो दण्ड पाउनुपर्छ त । आमाजस्ती मेरी सासूलाई म यो भुमरीमा पर्न दिन्नँ । आमा, छोरा तपाईंलाई जिम्मा लगाएँ ! म आज राति नै यो गाउँ छोडेर जान्छु ।’
सासूआमाले टाँढबाट फनक्क फर्किएर मलाई ग्वाम्ल्याङ्ङ अँगालो हाल्दै भक्कानिएर बोल्नुभयो, ‘माया, मेरो आफ्नै कोखबाट जन्मिएकी छोरीबाट यस्तै किसिमको जघन्य अपराध भएको भए नि ? म मेरी छोरीलाई यस्तो हालतमा एक्लै छोड्थेँ होला त ? तँलाई मैले मुखले मात्र छोरी ठानेकी होइन । अपराध त गरेकी होस्, तर पनि यो विषम परिस्थितिमा तँलाई म एक्लै छोड्न सक्दिनँ । लुगाफाटो पोको पार्, म पनि पार्छु,’ सासूआमा टाँढतिर जानुभयो ।
निकै बेर म आकुलव्याकुल भएँ । वाक्यहारा र भावशून्य भएँ । सासूआमा र छोराको असाध्यै माया लागेर आयो । भित्तामा टाँगेको बद्रीको फोटो हेरेर म भक्कानिएँ— किन छल गर्यौ ! म त तिम्रोबाहेक अरू कसैको हुने कल्पनामै थिइनँ । सपनामा पनि कहिले अरूलाई सम्झिनँ । तर, तिम्रो रूप धरेर गोविन्द कसरी ममाथि आइलाग्यो ! मेरो तनमनमा जम्मै तिमी मात्र छौ । यो कस्तो छल ? यो कस्तो रोग ? यो कस्तो प्यास ? यो कस्तो दुर्घटना ? दोष मेरो मात्र छ त ? सजाय मलाई मात्र किन दिन्छ समाजले ? खोइ न्याय ? मलाई भोग्ने लोग्नेमान्छेलाई समाजले इज्जतिलो बनायो । मेरो मनमा कतै पाप थिएन । मेरो होस थिएन । मैले त परपुरुषमा पनि आफ्नै लोग्नेलाई देखेँ । तर, गोविन्दले...! यो कस्तो विडम्बना, ऊ आज कुमारी केटीसँग चोखो भएर सुहागरात मनाइरहेको छ । मेरो बस्नेजाने कतै ठेगान छैन । मलाई भोग्ने लोग्नेमान्छे मस्तराम छ । भविष्यको नयाँ योजना बुन्दै छ । गाउँलेहरूले उसैलाई बधाई दिएका छन् । तर, मैले टेकेको भूमि, मेरो घर, मेरो परिवार, मेरो छोरो र मेरो गाउँ जम्मै खोसिँदै छ । मलाई भोग्ने लोग्नेमान्छे रवाफिलो छ, पवित्र छ । एउटै किसिमको अपराधको दण्डमा यो कस्तो पक्षपात ?’
अचानक मलाई व्यथा लाग्यो । पीडाले मुटुकलेजो नै मुखबाट बाहिर आउलाजस्तै भयो । प्रसव पीडाले आकुलव्याकुल भएर म ढुन्मुनिँदै गोविन्दको आँगनमा पुगेँ । छट्पटछट्पट गर्दै चिच्याएर ढोका ढक्ढक्याएँ ।
प्रसवको पीडामा अत्तालिँदा पनि सासूको मायाले अघोर शक्ति मिलेको थियो ।
भित्रबाट एकोहोरो गोविन्द बोल्यो, ‘को हो ? को हो बाहिर ?’
‘पानी, पानी...।’
आँधी र तुफानमिश्रित आवाजमा म चिच्याएँ । घर्याक्क ढोका खुल्यो । गोविन्द कट्टु मात्र लगाएर बाहिर निस्किएको थियो । ढिकीको आडमा लुकेकी मैले पेट दुखेको रनाहामा पछाडिबाट गोविन्दको टाउकोमा बन्चरो बजारेँ ।
‘ऐया ऐया !’ को स्वरमा गोविन्दे आँगनमा पछारियो । उसको जस्केलामा म छटपट गर्दै थिएँ । व्यथाले च्यापे पनि बच्चाले बल गरेको थिएन । मेरा जम्मै पीडा सुनामी भएर मेरो हातमा आयो ।
दाह्रा किट्दै मैले फरियामुनि हात पसाएँ । रगतको खोलो बग्दै थियो । मैले पीडा खप्न नसकेर हात अझ भित्र घुसारेँ । आफैँले पेटभित्रबाट मरेकी छोरी तानेँ । परेपछि आइमाईमान्छे राक्षस बन्दो रहेछ ! त्यो बेला मेरो रूप देख्ने जोकोही पनि रगत छादेर मर्थ्यो होला ! मभित्र दुर्गा, काली जम्मै जागृत भएर आएका थिए ।
उत्तिनै खेर भित्रबाट नयाँ दुलही बाहिर आई र रगतपच्छे भएको लोग्नेलाई देखेर त्यहीँ बेहोस भई । मैले त्यही बन्चरोले मरेकी छोरीको नाल काटेर ढोकाअगाडि छोरीको लास फ्याकेँ र अँध्यारोमा रगतको खोलो बगाउँदै गाउँबाट निस्किएँ ।
म मेरो छोरा र आमाको सान्निध्यबाट सदासदाका लागि छुटेँ ।”
माया दिदीको कुरा सुनेर म जहाँको त्यहीँ बरफ भएर जमिसकेकी थिएँ !