site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विमानस्थलमा लात्ता–मुक्का प्रकरण : डीआईजीको राजीनामाले गृह मन्त्रालयप्रति उठ्यो प्रश्न 

काठमाडौं । प्रहरी संगठनभित्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरीको राजीनामा चर्चामा छ । विमानस्थल सुरक्षा प्रमुखका रुपमा कार्यरत डीआईजी चन्दले शुक्रबार राजीनामा दिएका हुन् ।

यद्यपि केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले चन्दको राजीनामाबारे आधिकारिक रुपमा आफूलाई कुनै जानकारी नआएको प्रतिक्रिया दिए ।

चन्द स्वयंले भने आफूले शुक्रबार नै राजीनामा दिँदै प्रहरी सेवाबाट विदा दिएको जानकारी दिए ।  “मैले राजीनामा दिएँ । किन दिएँ, कारण तत्कालै भन्दिनँ । त्यो विस्तारै बाहिर आइहाल्छ,” चन्दले बाह्रखरीसित भने ।

१२ माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरीबीच हानाहान भयो । अध्यागमनका अधिकृत छायालाल मोक्तानलाई प्रहरीले जाँच गर्ने क्रममा विवाद हुँदा प्रहरी र उनीबीच लात्ता–मुक्का भएको थियो ।

अध्यागमन अधिकृत मोक्तान अन्तर्राष्ट्रिय विमानस्थलतर्फको डिपार्चरबाट एराइभलतर्फ आइरहेका थिए । त्यहीँ बेला वाक थ्रू (एक्स–रे) गेट पासको चेकिङमा रहेका प्रहरी जवान रविरन्जन गुप्ताले मोक्तानको शरीर जाँच गर्न खोज्दा विवाद सिर्जना भयो ।

त्यही विवाद देखेपछि प्रहरी सहायक निरीक्षक (असई) संजय तामाङसमेत एक्स–रे गेटमै पुगे । असई संजय तामाङ पुगेपनि विवाद साम्य भएन झन् बल्झियो । मोक्तानले जवान गुप्तामाथि त लात्ता प्रहारको बाहिरिएको क्लोज सर्टिक (सीसीटीभी) फुटेजमा प्रष्ट देखिन्छ ।

त्यही विवादले उत्कर्षको रुप लिएपछि गृहमन्त्रालयले १२ माघमै मन्त्रालयका सहसचिव थानेश्वर गौतमको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति नै बनाएको थियो । तीन दिनको समय–सीमा दिएको उक्त छानबिन समितिमा गृहमन्त्रालयलकै उपसचिव कुलबहादुर जीसी र डीआईजी राजेशनाथ बास्तोला सदस्य थिए ।

गृह मन्त्रालयले बनाएको छानबिन समितिले काम गरिरहेकै बेला कर्मचारी संगठनका प्रतिनिधिहरू गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न मन्त्रालय नै पुगे ।  उनीहरूको दबाब थियो– प्रहरीलाई कारबाही नगरे सबै काम रोक्ने । 

कर्मचारीको दबाब झेल्न नसकेका गृहमन्त्री श्रेष्ठले त्यही बेला घटनामा संलग्न प्रहरी कर्मचारीलाई कारबाही गर्ने आश्वासन कर्मचारीलाई दिएका थिए ।

...अनि डीआईजीको राजीनामा

छानबिन समितिले बुधबार साँझ घटनामा संलग्न असई संजय तामाङलाई निलम्बन गर्दै अन्य फिल्ड कमाण्डर डीएसपी रेवतीरमण पोखरेललाई सचेत र प्रहरी जवान गुप्तालाई विभागीय कारबाही गर्न सफिारिस गरेको थियो ।

त्यस्तै अध्यागमन अधिकृत छायालाल भने त्यहाँबाट सरुवा गरेर विभागीय कारबाहीका लागि मात्रै सिफारिस गरेको छ । प्रहरी कर्मचारीलाई मात्र कारबाही गर्न छानबिन समितिले प्रतिवेदन तयार पारिएकामा चन्द असन्तुष्ट भएको विमानस्थलका एक प्रहरी अधिकारीको भनाइ छ । 

छानबिन समितिले प्रतिवेदन बुझाएको दुई दिनपछि उनले राजीनामा दिएका हुन् ।

ती अधिकारीले डीआईजी ठकुरीको गुनासो उद्धृत गर्दै भने, “गृहमन्त्रीले कर्मचारीलाई दिएको आश्वासनअनुसार प्रतिवेदन तयार भएको जस्तो देखिन्छ । यस्तो त भएन । मेरो मातहतका प्रहरीलाई यस्तैगरी कारबाही हुने भए मैले यहाँ बसेर कसरी काम गर्ने ? अब कसरी खटाउने ?”

प्रहरीमाथि कारबाही प्रतिवेदनबारे उनले प्रहरी महानिरीक्षक (आईजीपी) सचिवालयमासमेत गुुनासो गरेका थिए । उनको गुनासो कतै सम्बोधन हुने अवस्था नदेखिएपछि अन्ततः डीआईजी ठकुरी आफैँ राजीनामा दिने अवस्थामा पुगेका हुन् ।

ठकुरी प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरकै ब्याचम्याट हुन् ।  २०५१ चैतमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका ठकुरीको कार्यकाल अझै करिब एक वर्ष बाँकी रहँदै पदबाट राजीनामा दिएका हुन् ।

उनी डीआईजीको ५६ वर्षे उमेरहदका कारण अर्काे पुसमा अवकाशमा जाँदै थिए । उसो त, प्रहरीमा यसअघि पनि डीआईजीहरूले पदबाट राजीनामा दिएर घर फर्किएका अन्य उदाहरण नभएका होइनन् ।

प्रहरी महानिरीक्षक (आईजीपी) बन्ने दौडमा रहेका बेला सरकारले आफूलाई आईजीपी नियुक्ति नगरेपछि डीआईजी नवराज सिलवालले राजीनामा दिएका थिए । सरकारले १ फागुन २०७३ मा आईजीपीमा डीआईजी जयबहादुर चन्दलाई नियुक्त गरेको थियो । 

सिलवाल आईजीपीमा आफू हुनुपर्ने दाबीसहित सर्वोच्च अदालत नै पुगे । सर्वोच्चले आइजीपी चन्दको नियुक्त कार्यान्वयनमा रोक लगायो । 

नियुक्ति विवादको सात महिनापछि २७ भदौ २०७४ मा सर्वोच्चले आईजीपीमा कार्यसम्पादन मूल्याङ्कनमा एक नम्बरमा रहेका डीआईजीलाई आईजीपीमा नियुक्त गर्न सिफारिस गरेसँगै उनले पदबाट राजीनामा दिएका थिए ।

उक्त प्रकरण विवादमा परेपछि प्रकाश अर्याल आईजीपी भएका थिए । उक्त प्रकरणपछि पनि प्रहरी संगठनमा फेरि उस्तै लफडा दोहोरियो ।  २७ चैत २०७४ मा सरकारले डीआईजी सर्वेन्द्र खनाललाई आईजीपी नियुक्ति गरेसँगै उनका प्रतिस्पर्धी डीआईजी रमेश खरेलले राजीनामा दिएर घर फर्किएका थिए ।

तर, चन्दको राजीनामाले भने फरक सन्देश दिएको छ ।

उनी तालुकदार गृह मन्त्रालयबाट आफू मातहतका प्रहरी कर्मचारीमाथि बिनाकमजोरी कारबाहीको डण्डा लगाएपछि राजीनामा दिएको निकट एक प्रहरी अधिकारी दाबी गर्छन् ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १४:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro