कहिले सरकारी सेवाबाट अवकाश पाउँला र गाउँमा गएर समाजसेवा गरूँला भनेर प्रतीक्षारत इमानदार कर्मचारी हुन्, निरञ्जन ।
अवकाशको एक महिनापछि खुसीखुसी गाउँ जाने निर्णय लिए ।
दुई छोराछोरी एडुकेसन लोन लिएर स्टुडेन्ट भिसामा अस्ट्रेलिया उडिसकेका थिए । त्यसैले गाउँ जाने निर्णयसँगै नाइटबसको टिकट काटेर झिटीझाम्टो कस्दै राजधानीको महँगी, गन्जागोल, कोलाहल र प्रदूषणबाट मुक्ति पाउन गाउँतिर हिँडे । दम्पतीमा खुसीको सीमा थिएन ।
काठमाडौंमा करोडको घडेरी किनेर करोडकै घर ठड्याउने उनको क्षमता थिएन । किनकि, उनले आफ्नो इमानदारी र नैतिकतालाई कुल्चन चाहेनन् । त्यसैले उनको रोजाइ गाउँ थियो ।
निरञ्जन गाउँ पुगे । दाइको घरको पिँढीमा बसेर दाजुभाइसँग गफिए । गाउँमा भएको उनको कच्चीघर माकुरा र मुसाले गर्दा ज्यादै फोहर भएको थियो । त्यसैले केही दिन दाइको घरमा गुजारा गरेर आफ्नो घर सरसफाइ गरी सरे ।
प्रारम्भमा आनन्दसँग गाउँमा बस्दा उनीहरूले सहरको अशान्ति र गन्जागोल बिर्सिए । बिहानको खाना खाएर निरञ्जन गाउँमा भेटघाटका लागि निस्कन्थे । उनकी पत्नी देउरानी–जेठानी र छिमेकतिरका महिलाहरूसँग भलासकुसारी गर्दै दिन बिताउँथिन् ।
दिन बित्दै गए । विस्तारै गाउँघरमा निरञ्जनका विषयमा नकारात्मक टिप्पणी हुन थाले । देउरानी–जेठानीहरूले पनि निरञ्जनकी श्रीमतीका कुरा काट्न थाले । नन्द–आमाजू पनि के कम थिए र !
निरञ्जन गाउँवासीमै एकापसबीच आरोप–प्रत्यारोप सुन्दासुन्दा दिक्क भए । कसको समर्थन गर्नु, कसको विरोध । उनी अलमलमा परे ।
कोहीकोहीले त ‘निरञ्जनले सधैँ सहरमा मस्ती गरेर बस्यो, अहिले गाउँमा आएर नाटक गर्दै छ’ भन्न थालेको पनि सुने । आफ्नै परिवारमा पनि निरञ्जन दम्पतीलाई होच्याउन थालियो । दिवंगत भइसकेका बाआमाको हेरचाह नगरेको आरोप पनि खेप्नुपर्यो ।
निरञ्जनको बाध्यता र विवशता न गाउँलेहरूले बुझे न त परिवारजनले । अन्ततः निरञ्जन दम्पती समाजको घेरामा अटाउन सकेनन् । र, झरे मधेसको नयाँ बस्तीतिर ।
(बूढानीलकण्ठ, काठमाडौं)