site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादी बैठक : महाधिवेशन प्रतिनिधिका विषयमा नेताहरूबीच मतभेद 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)मा आगामी महाधिवेशनको प्रतिनिधि चयनका विषयमा विवाद देखिएको छ । 

जारी केन्द्रीय परिषद्को बैठकमा आगामी जेठमा हुने महाधिवेशनका लागि केन्द्रीय कमिटीका सदस्यहरू तलबाट चुनिएर आउने कि स्वतः प्रतिनिधि हुने भन्नेमा विवाद देखिएको हो । सोही विषयमा विभाजित भएपछि केन्द्रीय परिषद्को बैठकमा भोटिङको तयारी भइरहेको एक नेताले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“महाधिवेशन प्रतिनिधिमा केन्द्रीय कमिटीका नेता तलबाट आउने कि स्वतः हुने भन्ने कुरामा बहस भइरहेको छ,” ती नेताले भने, “नेताहरू बीचमा पनि मत बाझिएको छ । शीर्ष नेताहरू अहिले बैठक बसिरहनुभएको छ ।” 

त्यस्तै, केन्द्रीय कमिटीका पदाधिकारीको पद, संख्या लगायतका कुनै विषय अहिलेसम्म टुंगिएको छैन । नमिलेका विषय भोटिङमार्फत टुंग्याउने तयारी भएको छ । 

“कुनै पनि विषय टुंगिएको छैन । टोली नेताले समूहगतको छलफलको निष्कर्ष सुनाउने काम मात्रै भएको छ,” ती केन्द्रीय सदस्यले बाह्रखरीसँग भने । 

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक आइतबारदेखि कमलादीस्थित प्रज्ञा भवनमा जारी छ । आइतबारको बैठकका प्रतिनिधिहरूलाई १० समूहमा विभाजन गरेको थियो । समूहगत छलफलका लागि आइतबार साँझसम्मको समय तोकिएको थियो । आजको बैठकमा नेताहरूले छलफलको निष्कर्ष सुनाएका छन् । विधानको विषयमा आजै टुंगो लगाएर बैठक सकिने नेताहरूले बताएका छन् । 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्