site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
यात्रा

माइक्रो आयो, दौडिएँ । अरूलाई उछिनेर ढोकामा पुग्नेबित्तिकै कुहिनो ठोक्कियो । उक्लिएँ । लास्टमा एउटा सिट खाली देखेको मात्र थिएँ, हुत्तिएँ । सिधै गएर सिटमा थचारिएँ । घुँडो ठोक्कियो । आज मेरो ठोक्किने दिन रै’छ कि क्या हो– सोच्दै थिएँ, माइक्रो खाल्डोमा परेर उफ्रियो, मास्तिर टाउको ठोक्कियो । अनि, सुरु भयो यात्रा ।

बानियाँटार पुलबाट चारजना चढे । यति बेलासम्म माइक्रो खचाखच भइसकेको थियो । सिटमा बस्ने र उभिने बराबरजस्तै थिए । एकले अर्कोलाई ‘नधकेल्न’ भन्दै थिए । ‘अलि उता सर्न’ आग्रह गर्दै थिए । ‘हैन, के विधि कोचेको हो !’ कोचिनेले पनि सहचालकप्रति आक्रोश पोख्दै थिए । म चढेपछि माइक्रोको यो तेस्रो विश्राम थियो ।

“अब कतै नरोकी जाऔँ अंकल,” चालकलाई आग्रह गर्दै सहचालकले ढोका ताने । लागेन । ‘लिक’बाट फुत्कियो । अर्थात्, “ढोका बिग्रियो,” झ्यालको सिटमा बस्नेले सुनाए ।

Dabur Nepal
NIC Asia

८ः१० भइसकेको थियो, ९ बजे अफिस पुग्नुपर्ने । करिब १० मिनेटसम्मको सहचालकको प्रयास सफल भएन । चालकै ओर्लेर ढोकामा दुईचार लात्ती हाने । झोक्किए । मिहिनेत गरे । लाग्यो । गाडी हुइँक्याए ।

मनमैजु पुल पुग्नै लाग्दा कोही बोलेको सुनियो, “यता छ ।” अर्थात्, ओर्लने रहेछन् । एक महिला झरिन्, त्यसअघि उनलाई बाटो दिन चारजना झरे । उनी ओर्लिएपछि ती चारजना फेरि चढे ।

“फेरि ढोका लागेन,” त्यही छेउको सिटकाले सुनाए । तर, योपल्ट धेरै विलम्ब भएन, माइक्रो अघि बढ्यो ।

“अब समस्या हुँदैन रे, बिग्रिएकोलाई मिलाएछन् । त्यही भन्दै छन्,” छेउको सिटकाले सहचालकको कुरा सुनेका रहेछन्, हामीलाई भने, “तर, के पो हो !”

नयाँ बसपार्कनजिक माइक्रो रोकियो । खासमा यो यतातिरको गाडीबाट धेरै यात्रु ओर्लेर आ–आफ्नो गन्तव्यतर्फ लाग्ने मुख्य ठाउँ हो भन्दा गलतै भइँदैन । यहाँबाट गाडी प्रायः होलो हुन्छ । मैले तीन वर्षको नियमित यात्रामा देखेको यही हो । मन अलिक हलुका भयो– अब समयमै पुगिन्छ कि !

यहाँ आइपुग्नुअघि दीपज्योति स्कुलनिर पनि थोरै बेर विलम्ब भयो । त्यहाँ खोलाछेउमा पर्खाल लगाउँदै रहेछन्, बाटो एकतर्फी गरिएकाले अड्किनुपर्‍यो ।

“तिमी कहाँ हो ?,” महिला सिटमा बसेकी किशोरीले फोन गरिन् ।

“ठमेलमा हो के ठमेलमा,” चालक पछाडिको सिट (खाली भाग)का बुज्रुगले फोन उठाए ।

किशोरी, “तिमी नआउने ?”

बुज्रुग, “म आउँदै छु, जाम छ के ।” खासमा जाम थिएन । गोंगबु चोकबाट माइक्रो भर्खर अगाडि बढेको थियो ।

किशोरी, “कहाँ आउने रे ?”

बुज्रुग, “त्यहाँ पिपलबोट छ, त्योभन्दा उतापट्टि सानो चिया पसल छ, त्यहीँ बस्दै गर्नु न ।”

किशोरी, “म त आइपुग्न लागेँ ।”

बुज्रुग, “ल, ल आउँदै छु ।”

दुईजनाले फोनमा कुरा गरेको सुनिँदै थियो । सुरुमा ठूलो स्वरमा बोलेका दुवैको आवाज अहिले घटेको थियो । बुज्रुगको हातमा फाइल थियो, किशोरीको साथमा ब्याग ।

‘छैन नि साइँली हाम्रा नि कमको, घुमाउरो जुंगा मेरो के कमको... च्वास्सै च्वास्सै,’ रेडन पुगेपछि चालकले गीत घन्काए ।

“हेलोऽऽऽ हेलोऽऽऽ एकछिन है,” फोनमा अलि चर्को स्वरमा बोले बुज्रुग । चालकतिर फर्किएर भने, “भाइ, सानो गर न ।”

“म आइसकेँ, तिमी छिटो आऊ,” किशोरी बोलिन् । आशीर्वाद कलेजनजिक ओर्लिइन् । कलेज ड्रेसमा रहिछिन् किशोरी ।

बुज्रुग अझै फोनमा कराउँदै थिए, “आइपुगेँ भन्या के ! प्लेन हो र उडेर तुरुन्तै आउन, भन्याजस्तो हुन्छ ! जग्गाको सबै कागजात ल्याएको छु ।”

बुज्रुग ठमेल (खासमा यो ठमेल भनेर गाडी रोकिने ठाउँ हो)मा ओर्लिए । ८ः३८ भइसकेको थियो । एक महिलाले लामो सास फेरेझैँ गरिन्, “बल्ल आनन्द भो, अरूलाई डिस्टर्ब हुने गरी चर्को फोनमा बोलेर !”

‘च्वास्सै च्वास्सै...,’ चालकले भोल्युम बढाए ।

माइक्रो अघि बढ्यो । डीडीसीअगाडि (लैनचौर)मा रोकियो । यहाँ दुईजना झरे । अब जमल नपुगी चढ्ने र झर्ने हुँदैनन् भन्दा हुन्छ । सहचालकले गाडी भाडा उठाउन थाले । अधिकांशले यहाँ पुगेपछि बाँकी यात्रुसित भाडा उठाउँछन्, यो पनि तीन वर्षको नियमित अनुभव हो ।

यात्रु सबै आ–आफ्नो धुनमा थिए, कसैलाई कसैको वास्ता हुने कुरै भएन । वास्ता थियो नै भने मभन्दा अघिल्तिरको सिटमा बसेका दुईजनालाई एकार्काको थियो । उनीहरूबीचको आत्मीयता अगाध थियो ।

ढोका बेलाबेलामा खट्याकखट्याक हुँदै थियो । तर, फेरि गाडी रोक्नैपर्ने गरी व्यवधान भएन । गीत एउटा सकिएर अर्को बज्ने क्रम चल्दै थियो ।

‘मुर्दावाद मुर्दावाद,’ त्रिचन्द्र कलेजअगाडि नारा लगाउँदै एक हुल युवा दौडिएको देखियो । राजतन्त्र समर्थक रहेछन् । एकैछिन गाडीको गति धिमा भयो । यति बेला माइक्रोमा हामी तीनजना मात्र यात्रु बाँकी थियौँ, चालक र सहचालक त हुने भइहाले । केही अरू जमलमा ओर्लिएका थिए ।

बाहिर बदली थियो । अर्थात्, बादल । भित्र जाडै त थिएन, झ्यालै खोलेर बस्न सक्ने अवस्था पनि होइन । अघिदेखि किताब पढिरहेका भाइले टोपी माथि सारे र चस्मा खोले । चस्मामा खै कुन्नि के हेरेपछि फेरि लगाए । टोपी तल ताने । किताब पनि थन्क्याए ।

८ः५१ मा सुन्धारा (न्युरोड गेटनजिकको गाडी बिसौनी)मा ओर्लिएँ । माइक्रोयात्रा टुंगियो । पैदलयात्रा थालेँ ।

आर्मी मुख्यालयछेउछेउ हुँदै हो, पैदलयात्रा । यो यात्रामा मजस्तै अरू पनि देखिन्छन्, सधैँ आवतजावत गर्ने । उनीहरूसित बोलचाल हुँदैन, बस् देखादेख हुन्छ । चिनापर्ची छैन, तर नचिनेको होइन । नचिनेकै त हो नि भन्ने हो भने – ए, आज यहाँ भेट भयो भन्ने मनमा किन हुन्छ ? कहिले म पर पुगेपछि उनीहरू आउँदै गरेको देख्छु, कहिले उनीहरूलाई वरै भेट्छु । आज उनीहरू छिटो थिए होइन, म ढिला थिएँ । अँ, दिनकै नयाँनयाँ अनुहार पनि उत्तिकै देखिन्छ ।

“अंकल, पासपोर्ट अफिस कता हो ?,” आर्मी अफिसर्स क्लबभन्दा अलि पर पुगेपछि एक युवकले सोधे । तिनलाई राहदानी विभागबारे बताइदिएर लम्कँदै लम्कँदै थापाथली चोक पुगेँ । अब अफिस पुग्न एक मिनेटजतिको दूरी बाँकी थियो । तर, ट्राफिक प्रहरीले यहीँ सात मिनेट उभ्याइदिइन् ।

बल्ल उनले गाडी रोकिन् । अर्थात्, हामीलाई आउन इसारा गरिन् । गाडी चल्दा चल्दै त्यसअघि बाटो काट्न खोज्नेलाई उनले फर्काइदिएकी थिइन् । रोड क्रस गरेँ । अफिस पुगेँ, के लेख्ने ? दिमागमा केही आएन । र, यही लेखेँ ।

इमेल गरेँ– यो शनिबारलाई है ।
जवाफ पाएँ, गाली खाएँ– के हो यो !
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  ०६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro