site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमालेको ‘छिर्केदाउ’ले गठबन्धनमा सधैँ धोका, सहकार्य तोड्ने माओवादीको चेतावनी !
गठबन्धनबाट कांग्रेसमा कृष्ण सिटौला र माओवादीकी चम्पा कार्की । 

विराटनगर । कोसी प्रदेशमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उमेदवार कृष्णप्रसाद सिटौलामात्र राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । गठबन्धनकी अर्की उमेदवार नेकपा (माओवादी केन्द्र)की चम्पा कार्की पराजित भइन् । 

नतिजापछि सिटौला आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेनन् । बरु कार्की बसेकै ठाउँमा पुगेर सान्त्वना दिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा अबेरतिर पुगेर मात्र सिटौलाले प्रमाण पत्र बुझे ।

कोसीमा सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा दोस्रोपटक पराजय भोगेको हो । अघिल्लोपटक पनि ‘छिर्केदाउ’ लगाउँदै एमालेका उमेदवार विजयी भएका थिए । बिहीबार रुक्मिणी कोइराला विजयी भइन् । माओवादीकी कार्कीका लागि विगतकैजस्तो पराजयको कथा दोहोरियो ।

Dabur Nepal
NIC Asia

अघिल्लोपटक गठबन्धनसँग बहुमत हुँदाहुँदै जनता समाजवादी पार्टी (जसपा)का उमेदवार पराजित भएका थिए ।

कोसीमा एमाले दोस्रोपटक ‘छिर्केदाउ’ लगाएर गठबन्धनका उमेदवारलाई पराजित गर्न सफल भएको छ । यसपटक उसको तालमेल राप्रपासँग थियो । तर, पनि गठबन्धनसँग स्पष्ट बहुमत थियो । 

कांग्रेस उमेदवार मात्र विजयी भएपछि माओवादीले कांग्रेसबाट सधैँ धोका हुने गरेको आरोप लगाएको छ ।

कसले दिएन मत ?

राष्ट्रियसभा निर्वाचमा सत्तारूढ गठबन्धनका तीन सांसद र स्थानीय तहका १३ प्रतिनिधिले माओवादीकी कार्कीलाई मत हालेनन् । त्यो मत एमालेकी कोइरालालाई गयो । उनको मतभार पाँचहजार ८६ हुँदा कार्कीले चारहजार ९९२ मात्र प्राप्त गरिन् ।

जबकि, सत्ता गठबन्धनसँग एमाले–राप्रपा गठबन्धनको भन्दा झन्डै ८०० बढी मतभार थियो । 

०७८ माघमा सम्पन्न राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उमेदवारलाई एमालेले यसैगरी माथ खुवाएको थियो । त्यसबेला एमाले उमेदवार ग्याल्जेन शेर्पा विजयी भएका थिए । उनले अपांगता भएका व्यक्ति वा अल्पसंख्यकतर्फ जनता समाजवादी पार्टी (जसपा) उमेदवार हेमराज राईलाई पराजित गरेका थिए ।

दुई वर्षपछि फेरि कथा दोहोरिएको छ । गठबन्धनलाई पराजयको दोस्रो घाउ लागेको छ । कोसीमा एमालेले सत्ता गठबन्धनको मत चोरेरै आफ्नो उमेदवार विजयी बनाउने गरेको छ ।

माओवादी केन्द्र कोसी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले नेपाली कांग्रेसबाट आफूहरूले पटकपटक धोका खाएकाले अब सहकार्य भंग हुने चेतावनी नै दिए ।

“हामीले गठबन्धनमै बसेर बारम्बार कांग्रेसलाई सहयोग गर्‍यौँ । तर, त्यसको बदला हरेकपटक धोका भयो,” उनले भने ।

यस्तै अवस्थामा अब कांग्रेससँग प्रदेशमा सहकार्य गर्ने कि नगर्ने भन्ने निर्णय लिइने भनाइ उनको छ ।

नेपाली कांग्रेस कोसी प्रदेश समितिका सभापति तथा संसदीय दलका नेता उद्धव थापाले गठबन्धनलाई सफल बनाउन नसकेको स्वीकार गरे ।

“कोसीमा हामी चुक्यौँ होला, असफल भइयो होला । तर, यसो भन्दैमा देशभरि गठबन्धन असफल भएको होइन, गठबन्धन कायम छ,” उनले भने ।

बिहीबार प्रदेशसभा सदस्यबाट सिटौलाले दुईहजार ३८५ र स्थानीय तहतर्फ दुईहजार ९०७ गरी पाँचहजार २९२ मत प्राप्त गरे । सिटौलाले पनि गठबन्धनका दुई सांसदको मत प्राप्त गरेनन् ।

राप्रपाका उद्धव पौडेलले प्रदेशसभातर्फ दुईहजार ४९१ र स्थानीय तहबाट दुईहजार ७१ गरी कुल चारहजार ५६२ मत प्राप्त गरे । सिटौला ७३० मतान्तरले विजयी भएका छन् ।

प्रदेशसभाका ९३ सदस्यमध्ये सिटौलाले ४५ मत पाए । राप्रपाका उमेदवार पौडेलले ४७ मत पाए । स्थानीय तहतर्फ सिटौलाले १५३ मत प्राप्त गरे भने राप्रपा उमेदवार पौडेलले १०९ मत प्राप्त गरे ।

स्थानीय तहतर्फ चार मत बदर भएको थियो । एमालेले निष्क्रिय बनाएका उमेदवार पर्शुराम अधिकारीले पनि एक सांसद र पाँच स्थानीय तह प्रमुख/उपप्रमुखको मत प्राप्त गरे । उनको मतभार १४८ रहेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  २१:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro