site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
न्युरोडका निम्ति पार्किङको विकल्प खोज्दै महानगर

काठमाडौं । काठमाडौंको प्रमुख व्यापारिक केन्द्र न्युरोड (नयाँ सडक) क्षेत्रको सडकमा पार्किङ पूर्णतः निषेध गर्ने काठमाडौं महानगरपालिकाको निर्णयले सो क्षेत्रका व्यापारी आन्दोलित भएका छन् । महानगरले बन्दै गरेको धरहरासहित सुन्धाराको सञ्चय कोष भवनलाई पार्किङको विकल्पका रूपमा लिएको छ ।

राजधानीकै प्रमुख व्यापारिक क्षेत्रबाट पार्किङ हटेपछि सो क्षेत्रको व्यापारमा असर पर्ने भन्दै व्यापारी आन्दोलनमा उत्रिएका छन् । महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले विकल्पका रूपमा नयाँ सडक वरपरका विभिन्न स्थानमा पार्किङका निम्ति व्यवस्था गर्न लागिएको जानकारी दिए ।

सहायक प्रवक्ता अधिकारीले भने, “बन्दै गरेको धरहरा, पिपल्स प्लाजा, आरबी कम्पलेक्स, ताम्राकार हाउस, रञ्जना कम्प्लेक्स, विशालबजार, वीर अस्पताल, आर्मी भवन र सुन्धाराको सञ्चय कोष भवन विकल्पका रूपमा छन् । यी स्थानमा पार्किङका लागि महानगरले छलफल गरिरहेको छ ।”

Dabur Nepal
NIC Asia

धरहराको पार्किङ एक महिनाभित्र सञ्चालन गर्ने र सञ्चय कोष भवनको पसल हटाएर पार्किङ बनाउन पत्राचार गरिएको सहायक प्रवक्ता अधिकारीले जानकारी दिए । उनले भने, “तत्कालका लागि नयाँ सडक जान खोजेका सवारीसाधनका धनीलाई काठमाडौं टावर (साविक पुरानो बसपार्क) ठाउँमा ३०० चारपांग्रे सवारीसाधन र ७०० दुईपांग्रे सवारीसाधनलाई निःशुल्क पार्किङको सुविधा उपलब्ध गराएका छौँ । सञ्चय कोष भवनको पार्किङ खोल्न व्यवसायीसँग छलफल गरिरहेका छौँ ।”

सहायक प्रवक्ता अधिकारीले नयाँ सडकमा पार्किङको व्यवस्था गर्न ‘ह्वील टुल्स प्रालि’ नामक कम्पनीसँग पाँच वर्षका निम्ति गरिएको सम्झौताको समय सकिएपछि अब नवीकरण नगर्ने निर्णय भएको जानकारी दिए ।

महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले कर्मचारी सञ्चय कोषले पार्किङ भनेर नक्सापास गराएर व्यापारिक प्रयोजनका निम्ति सटर भाडामा दिएको आरोप लगाए । उनले भने, “सरकारी निकायले महानगरको काममा सहयोग गर्नुपर्ने हो । आफ्नो भवन आफैँले खाली गर्नुपर्ने हो । तर, कोषले पार्किङ प्रयोजन भनेर नक्सापास गराउने अनि व्यापारीलाई भाडामा दिने काम गरिरहेको छ ।”

एक वर्ष पहिले महानगरले कर्मचारी सञ्चय कोष भवनका व्यापारीलाई पसलको अरू स्थानमा विकल्प खोज्न समय दिए पनि उनीहरूले सुनवाइ नगरेको महानगर प्रहरी प्रमुख पाण्डेले गुनासो गरे । अदालतले पार्किङ बनाउनुपर्छ भन्ने निर्णय गरे पनि पसल हटाउन कर्मचारी सञ्चय कोषले सहयोग नगरेको उनको आरोप छ ।

महानगरपालिकाले मंगलबारदेखि लागु हुने गरी धर्मपथ, जुद्ध सालिकबाट इन्द्रचोकतर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको थियो । उक्त क्षेत्रका व्यवसायीले महानगरले आफूहरूसँग समन्वय र पार्किङको विकल्पबिना एकतर्फी रूपमा निर्णय गरेको बताएका छन् । तत्काल निर्णय फिर्ता लिन माग गरिरहेका छन् । व्यवसायीले स्थानीय सामाजिक, व्यावसायिक संघसंस्था र सरोकारवाला सम्मिलित संघर्ष समिति बनाएर सडक आन्दोलन गरिरहेका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले महानगरले सरोकारवालासँग परामर्श नगरी एकोहोरो रूपमा पार्किङ निषेधको निर्णय गरेको बताए । उनले भने, “पार्किङ हटाउने निर्णयले व्यवसायी, स्थानीय तथा सेवाग्राही अन्यायमा परेका छन् । अहिले न्युरोडको व्यावसायिक भविष्य संकटमा देखियो । विकल्प नदिई पार्किङ निषेधित गर्नु न्युरोड क्षेत्रका व्यवसायीलाई धराशायी र विदेश पलायन गराउनु हो ।”

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले देशभरको व्यापारिक मुटु न्युरोडमा महानगरपालिकाले पार्किङ निषेधित क्षेत्र घोषणा गर्नु गलत भएको बताए । उनले व्यापारीले सामान ओसारपसार गर्न र किन्न आउने ग्राहकलाई के जवाफ दिने भन्ने समस्या भएको उल्लेख गरे । पार्किङको व्यवस्था गरेर मात्र निषेधित क्षेत्र घोषणा गर्नुपर्ने उनले बताए ।

अध्यक्ष श्रेष्ठले भने, “तीन–चार सय सवारीसाधनका लागि पार्किङ व्यवस्था गरेर हुँदैन । न्युरोडमा दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्छन् । त्यसको दीर्घकालीन व्यवस्था गरेर मात्रै महानगरले ‘नो पार्किङ’को निर्णय गर्नुपर्ने हो ।” रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १५:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro