site stats
बाह्रखरी :: Baahrakhari
देश
रुससँग नेपालले भन्यो– नेपालीलाई सेनामा भर्ती नगर, भएकालाई फिर्ता पठाइदेऊ

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले रुससँग नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएकाहरूलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका छन् । युगान्डाको राजधानी कम्पालामा जारी नाम शिखर सम्मेलनका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँगको भेटमा उनले नेपालको माग राखेका हुन् ।

"हामीले रुसी पक्षलाई केही मुलुकसँग परम्परागत व्यवस्थाबाहेक विदेशी सेनामा नागरिक पठाउने नेपालको नीति नरहेको बतायौँ," उनले भने, "त्यसकारण रुसलाई हामीले नेपाली नागरिक भर्ना नगर्न आग्रह गरेका छौँ ।"

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

परराष्ट्रमन्त्री साउदले युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरूको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन पनि आग्रह गरेका छन् ।

जवाफमा रुसी उपविदेशमन्त्रीले परराष्ट्रमन्त्री साउदले उठाएका विषयहरू सम्बोधनका लागि पहल गरिने बताए ।

रुसी प्रतिनिधिमण्डलका प्रमुखसमेत रहेका उपविदेशमन्त्रीसँगको भेटमा दुई पक्षबीच नेपाल–रुस सम्बन्धका विविध विषयमा छलफल भएको थियो । उनले नेपाल र रुस सम्बन्धको लामो इतिहाससमेत उल्लेख गरे । 

"हाम्रो सम्बन्धको जग बलियो छ," रुसी उपविदेशमन्त्रीले भने, "हामीले यी सम्बन्धलाई अगाडि बढाउनुपर्छ ।"

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  २१:५४
प्रतिक्रिया दिनुहोस्