site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इरानस्थित ‘आतंकवादी आश्रयस्थल’मा पाकिस्तानको हवाई आक्रमण
तस्बिर : एएफपी ।

इस्लामाबाद । तेहरानले पाकिस्तानी भूमिमा आक्रमण गरेको एक दिनपछि इरानस्थित ‘आतंकवादी आश्रयस्थल’लक्षित हवाई हमला गरिएको पाकिस्तानले बिहीबार जनाएको छ ।

इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको विस्फोटमा परी तीन महिला र चार बालबालिकाको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

बिहीबार बिहान पाकिस्तानले इरानको सिस्टान–ओ–बलुचिस्तान प्रान्तमा आतंकवादी लुकेका स्थानलाई लक्षित गरी शृंखलाबद्ध सैन्य आक्रमण गरेको पाकिस्तानी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

इरानले पाकिस्तानमा मंगलबार राति ‘आतंकवादी समूह’विरुद्ध आक्रमण गरेको पुष्टि गरेपछि उक्त हमला गरिएको हो ।

पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ, “ठूलो परिमाणमा आतंकवादी गतिविधि हुन लागेको विश्वसनीय गुप्तचर सूचनाको आधारमा बिहीबार हवाई आक्रमण गरिएको छ ।”

सरवन सहर वरपरका विभिन्न क्षेत्रमा विस्फोटको आवाज सुनिएको इरानको सरकारी समाचार संस्था इरनाले एक प्रान्तीय अधिकारीलाई उद्धृत गरी जनाएको छ ।

पाकिस्तानले बुधबार इरानबाट आफ्ना राजदूतलाई सोधपुछका निम्ति विदेश मन्त्रालयमा बोलाउनुअघि र तेहरानका राजदूतलाई देश फर्कनबाट रोक्नुअघि ‘पाकिस्तानको सार्वभौमिकताको अकारण र खुल्लमखुल्ला उल्लंघन’को निन्दा गरेको थियो ।

इराक र सिरियामा पनि ‘इरानविरोधी आतंवादी समूह’विरुद्ध आक्रमण गरेपछि पाकिस्तानमा जैश अल–अदल समूहलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गरिएको तेहरानले जनाएको थियो ।

तेहरान र इस्लामाबादले एकार्कालाई उनीहरूको भूमिबाट आक्रमण गर्न अनुमति दिएको आरोप लगाउँदै आएका छन् । तर, दुवैतर्फका आधिकारिक सेनाले आक्रमण गरेको विरलै पाइन्छ ।

इजरायलले गाजामा हमासविरुद्ध युद्ध लडिरहेको र यमनमा प्यालेस्टाइन समर्थक हुथी विद्रोहीले ‘रेड सी’मा कार्गो जहाजहरूमाथि आक्रमण गरेको समयमा इरानको हमलाले मध्यपूर्वमा थुप्रै संकट थपेको छ ।

बुधबार इरानका रक्षामन्त्री मोहम्मद रेजा अस्टियानीले तेहरानले आफ्नो सुरक्षाको कुनै सीमा नतोक्ने बताएका थिए ।

यसैबीच, इरान र पाकिस्तानको निकट साझेदार चीनले संयमित हुन आग्रह गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता माओ निङले दुवैले ‘तनाव बढाउने खालका गतिविधिबाट बच्नुपर्ने’ बताएका छन् ।

संयुक्त राज्य अमेरिकाले पाकिस्तान, इराक र सिरियामा इरानले गरेको आक्रमणको निन्दा गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले तेहरानले पछिल्ला केही दिनमा आफ्ना तीन छिमेकीको सार्वभौम सीमा उल्लंकन गरेको बताएका छन् ।

पाकिस्तानको आधिकारिक वक्तव्यमा बिहीबारको आक्रमण कहाँ गरिएको थियो भन्नेबारे केही उल्लेख छैन । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार, यो आक्रमण दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको पन्जगुरनजिकै गरिएको थियो ।

आक्रमण हुनुभन्दा केही घण्टाअघि पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवर–उल–हक काकरले इरानी विदेशमन्त्रीसँग भेट गरेका थिए ।

“पाकिस्तानको सार्वभौमिकताको यो उल्लंकन पूर्णतया अस्वीकार्य छ र यसको गम्भीर परिणाम हुनसक्छ,” पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आक्रमणमा दुई निर्दोष बालबालिकाको मृत्यु भएको र तीन बालिका घाइते भएको बताइएको छ । रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १२:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro