काठमाडौं । नेपाली यू–१९ टिमका कप्तान देव खनालले नेपालमा क्रिकेटको क्रेज बेजोड रहेको बताएका छन् ।
जनवरी तेस्रो सातादेखि सुरु हुने यू–१९ विश्वकपका लागि नेपाली टिम हाल दक्षिण अफ्रिकामा छ । प्रतियोगिताअघि नेपाली टिमका कप्तान देवले आईसीसीसँगको कुराकानीमा यस्तो प्रतिक्रिया दिएका हुन् ।
“नेपालमा क्रिकेटको क्रेजबारे सबैलाई थाहा नै छ । हाम्रो साथका लागि नेपालमा ठूलो समर्थक छन् र उनीहरूकै कारण हामी उत्प्रेरित छौँ,” देवले भने, “क्रिकेटको क्रेज बेजोड छ । हामी खेलाडीको रूपमा खेल जितेर उनीहरूलाई खुसी दिन चाहन्छौँ ।”
जनवरी १९ देखि सुरु हुने प्रतियोगिताको नेपाल समूह ‘डी’मा छ । यो समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् । नेपालले जनवरी २१ मा न्युजिल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपालले जनवरी २४ मा पाकिस्तान र जनवरी २७ मा अफगानिस्तानविरुद्ध खेल्नेछ ।