झापा । जंगली हात्तीले झापाका दुई र मोरङको एक स्थानमा छावा जन्माएर हुर्काइरहेका छन् । संरक्षणविद्का अनुसार, नवजात छावा साथमा हुँदा हात्ती अरू बेलाभन्दा बढी आक्रामक हुने गर्छन् । त्यसैले उनीहरूको नजिक जान हुँदैन ।
झापाको बुद्धशान्ति गाउँपालिका–५ स्थित पाँचपोखरी सामुदायिक वन र कनकाई नगरपालिका–२ को सुकेडाँगी सामुदायिक वन क्षेत्रमा दुई छावा जन्मिएका वन डिभिजन कार्यालयका प्रमुख मेघराज राईले बताए ।
“पाँचपोखरी र सुकेडाँगी वन क्षेत्रमा मंसिर महिनातिर दुईवटा छावा जन्मिएको सूचना हामीले पाएका छौँ,” उनले भने, “भर्खर जन्मिएका सन्तानलाई हात्तीले हुल बाँधेर सुरक्षा दिने हुँदा छावा जताजता जान्छ, उतैतिर हात्तीको बथान गइरहेको छ ।”
छावालाई असुरक्षा नहोस् भनेर माउ हात्ती र बथानका अरूले मानिसप्रति आक्रामक व्यवहार देखाउने उनले बताए । बस्तीतिर छावासँगै हात्तीको हुल पसे बढी क्षतिको सम्भावना हुन्छ ।
मोरङको बेलबारी र पथरीनजिक बेतना सिमसार रहेको वन क्षेत्रमा पनि हात्तीले छावा जन्माएका छन् । स्थानीयवासीले हात्तीको नवजात छावा देखेर वन कार्यालयमा जानकारी दिएका छन् ।
वन डिभिजन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले बेतना सिमसारनजिकै जंगलमा छावा जन्मिएको जानकारी आएको पुष्टि गरे । उनले भने, “कोसी टप्पु वन्यजन्तु आरक्षका प्राविधिकहरूले जंगलभित्र हात्तीको बच्चा देखे ।” मोरङको वन क्षेत्रमा डुलिरहेका हात्तीको बथानमा ६ छावा गणना गरिएको उनले बताए ।
हात्ती संरक्षणमा सक्रिय अभियन्ता शंकर लुइँटेलले झापाको जंगलमा विगतदेखि नै हात्तीको प्रजनन हुने गरेको बताए । उनले २०६४ सालमा मेचीनगर नगरपालिका–४, बाहुनडाँगीमा जंगली हात्तीले स्थानीयको खेतमै छावा जन्माएको आफूले देखेको बताए ।
झापाको पाँचपोखरी र जलथल वन क्षेत्रमा हात्तीले पटक–पटक छावा जन्माएर हुर्काउने गरेका छन् । पाँचपोखरी वन क्षेत्रमा हात्ती लुक्ने बाक्लै रुखबिरुवा र फराकिलो प्राकृतिक पोखरी छ । मोरङको बेलबारी र पथरीनजिक पनि बेतना सिमसार रहेको हुँदा पानीको पर्याप्त स्रोत छ ।
हात्तीले प्रजननका निम्ति पानीको पर्याप्त स्रोत र लुक्न मिल्ने बाक्लो जंगल भएको क्षेत्र रोज्ने गरेको वन डिभिजन कार्यालय मोरङका प्रमुख घिमिरे बताउँछन् ।
प्रजननका निम्ति रोजेको क्षेत्रमै हात्तीले छावा जन्माउने गर्छ । अहिले छावा जन्मिएको झापाको सुकेडाँगी वन क्षेत्रमा पनि कनकाई नदी र सिमसार क्षेत्रको पानी प्रशस्त छ । जलथल जंगल पनि हात्तीको प्रजननका निम्ति उपयुक्त मानिन्छ ।
वन डिभिजन कार्यालय प्रमुख राईका अनुसार, गएको कात्तिक १९ गते झापाको बाहुनडाँगी हुँदै नेपाल प्रवेश गरेका ३६ हात्तीमध्ये २७ वटा यसै साता भारत फर्किएका छन् । झापाको जंगलमा ३० हात्ती रहेका छन् ।
भारतको आसामबाट नेपालको कोसी टप्पुसम्म जंगली हात्तीको परम्परागत विचरण क्षेत्र मानिन्छ । भारतमा बाक्लो जंगल र आरक्षण क्षेत्र ज्यादा भएकाले धेरैजसो समय उतैतिर बस्ने हात्तीको लगभग १०० को बथान बेलाबेला नेपाल आउने गरेको छ ।
विगतमा बढीमा १५ दिन डुलेपछि फर्कने गरेका हात्ती यसपालि अढाई महिनादेखि नेपालभित्रै रमाइरहेका छन् । झापा, मोरङ र सुनसरीमा यिनै हात्तीका कारण जनधनको ठूलो क्षति भइरहेको छ ।
वन डिभिजन कार्यालयका प्रमुख घिमिरेले बेलबारी, पथरी र केराबारीस्थित चारकोशे वन क्षेत्रमा डुलिरहेका नौ हात्तीको एउटा बथान भारततिरै फर्किएको सूचना पाएको बताए ।
हात्ती फर्किएको वा नफर्किएको भन्ने जानकारीका निम्ति वन कार्यालयले स्थानीयवासीले दिने सूचनालाई आधार मान्ने गरेको छ । हात्ती संरक्षण अभियन्ता शंकर लुइँटेलले बाहुनडाँगी क्षेत्रबाट भने हात्ती फर्किएको जानकारी नपाएको बताए । रासस