काठमाडौं । मिस युनिभर्स २०२४ को ग्रान्ड फिनाले आगामी सेप्टेम्बर २८ मा हुने भएको छ । मेक्सिकोमा हुने फिनालेमा नेपालको पनि सहभागिता रहनेछ । नेपालको प्रतिनिधित्व गर्ने प्रतिस्पर्धी को हुनेछ त्यो भने हालसम्म छनोट भइसकेको छैन । मिस युनिभर्स नेपालले छनोट गरेर प्रतिस्पर्धी पठाउनेछ ।
यसका लागि मिस युनिभर्सले केही समयपछि अडिसनका लागि आवेदन खोल्ने जनाएको छ । यसपटक मिस युनिभर्स नयाँ आयोजक ग्लोबल ग्ल्यामर भेन्चरले छनोट गर्नेछ ।
यसपटक आयोजक फेरिएको हो । द हिडन ट्रेजर र उमंग क्रिएसनपछि ग्लोबल ग्ल्यामर भेन्चरले मिस युनिभर्स आयोजना गर्न लागेको हो ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ग्लोबल ग्ल्यामर भेन्चरले यो पटकदेखि आफूले मिस युनिभर्स आयोजना गर्ने जानकारी दिएको थियो ।
मिस युनिभर्स नेपाल–२०२४ को निर्देशकमा संगीता पुरी, अध्यक्षमा आलोक क्षेत्री र सीईओमा सबी पुरी छन् । निर्देशक पुरीले पुरानै मापदण्डअनुसार प्रतियोगिता आयोजना हुने जानकारी दिइन् । १८ वर्ष नाघेका विश्वभर बस्ने नेपाली महिलाले प्रतिस्पर्धा गर्न पाउने उनको भनाइ छ ।
मिस युनिभर्स नेपालको टिमको सदस्यको रूपमा पत्रकार सम्मेलनमा मिस युनिभर्सल वुमिन–२०२३ की विजेता भ्यालेन्टिना सान्चेज ट्रिभेल्ला र कोच अलेक्जेन्डर गोन्जालेज पनि सहभागी थिए ।