site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सानेपामा रातभर कांग्रेसका दुई समूहबीचको त्यो रस्साकस्सी
Sarbottam CementSarbottam Cement

काठमाडौं । रातभरको प्रयास र रस्साकस्सीपछि सत्तासाझेदार दल नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यको उमेदवार टुंगो लगायो । आइतबार अपराह्न ४ बजेका लागि बोलाइएको कांग्रेस संसदीय बोर्डको बैठक सोमबार बिहान ४ बजे मात्र बस्यो । यसबीचमा संस्थापन र इतर समूह एकार्कालाई गलाउने खेलमा लागिरहे ।

कांग्रेसले शनिबार दिउँसो १ बजेका निम्ति कार्यसम्पादन समिति बैठक बोलाएको थियो । तर, अन्तिम समयमा बैठकको समय सार्दै आइतबार दिउँसो १ बजेका लागि बोलाइयो । उक्त बैठकको समय पनि सारेर आइतबारै अपराह्न ४ बजे बस्ने भनियो । तर, निर्धारित समयमा बैठक बस्न सकेन ।

आइतबार बिहान सत्ता गठबन्धनबाट कांग्रेसलाई १० सिट दिने निर्णय भयो । सभापति शेरबहादुर देउवाले कांग्रेसले १० सिट नपाए पार्टी मिलाउन नसक्ने गठबन्धन बैठकमा बताएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

गठबन्धनमा ‘कुरा मिलेपछि’ देउवा बालुवाटारबाट निस्केर ‘भाडाको निवास’ धुम्बाराहीतर्फ लागे । पार्टीभित्र आन्तरिक भागबन्डा मिलाउनुपर्ने भएपछि शेखर कोइराला समूहका नेताहरू पनि धुम्बाराही पुगे । कोइराला र महामन्त्री गगन थापा धुम्बाराही पुगेपछि आन्तरिक भागबन्डा मिलाउने अनौपचारिक छलफल भयो । धुम्बाराहीमा देउवा समूहबाट रमेश लेखक, पूर्णबहादुर खड्कालगायत नेता पनि थिए ।

तर, धुम्बाराही बैठकबाट नेताहरूले १० सिटको बाँडफाँट टुंगो लगाउन सकेनन् । देउवाले भने, “कोइराला र थापालाई दुई सिटभन्दा बढी दिन सक्दिनँ ।” आफूहरू चार सिटभन्दा तल टसमस नहुने भन्दै कोइराला–थापा त्यहाँबाट बाहिर निस्किए ।

Global Ime bank

“चुनाव हारेका मान्छे मानिँदैन, हामीलाई चार सिट चाहिन्छ भन्नुभयो । देउवाले दुई सिटभन्दा बढी दिन सक्दिनँ भन्नुभयो,” कोइरालानिकट एक नेताले बाह्रखरीसित भने ।

त्यसपछि कोइराला–थापा विशालनगरस्थित सम्पर्क कार्यालयमा आफ्नो समूहको छलफलमा जुटे । सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार तथा केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी र बलबहादुर केसी सानेपा पुगिसकेका थिए । उनीहरूलाई विशालनगर बोलाइयो र समूहको बैठक बस्यो ।

“बैठकमा चार सिट बटमलाइन बनाउने, संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादनमा आफ्नो अडान स्पष्ट राख्ने कुरा भयो । सभापति देउवासँग भएको छलफलबारे जानकारी गराएपछि हामी सानेपा लाग्यौँ,” केन्द्रीय सदस्य केसीले भने ।

शेखर समूहका नेताहरू पुग्दा देउवा सानेपामै थिए । उनी आफ्नै समूहका नेताहरूसँग कार्यकक्षमा छलफलमा थिए । शेखर समूहका नेताहरू पुगेपछि प्रारम्भिक छलफल सुरु भयो ।

छलफलको सुरुमै देउवाले दुईजनाको नाम मागे । महामन्त्री थापाले मधेसबाट मधेसी दलित ल्याउनुपर्छ भन्ने अडान राखे । आनन्द ढुंगानाबाहेकको नाममा देउवा दायाँबायाँ हुँदै भएनन् । सहमहामन्त्री परियारले दलित समुदायका व्यक्ति चाहिन्छ भनेर अडान राखे । त्यसपछि देउवाले ‘अपांगता भएका दलित ल्याउनू’ भने ।

महामन्त्री थापाले भने, ‘सभापतिज्यू, पहिले तपाईंको लिस्ट हेरौँ ।’ सहमहामन्त्री जीवन परियार १० जनाले टिकट पाउँदा ‘दलित समुदायको प्रतिनिधित्व किन भएन ?’ भन्दै कडा रूपमा प्रस्तुत भए ।

“सभापतिले दुईजनाको नाम देऊ भन्नुभयो । महामन्त्रीज्यूले सभापतिको लिस्ट माग्नुभयो । सहमहामन्त्रीज्यूले समावेशीताको कुरा उठाउनुभयो । त्यसपछि सबै तितरवितर भएर छलफल थाले,” एक पदाधिकारीले भने ।

नेता कृष्णप्रसाद सिटौला भने साँझ साढे ६ बजेतिर पार्टी कार्यालयबाट बाहिरिए । उनी टिकट पाएकामा खुसी देखिन्थे । उनी उमेदवारी दर्ता गर्न प्रदेशतर्फ लागे । सिटौलाको नाममा सबैको सहमति भएकाले उनका विषयमा निर्णय गर्न केही बाधा–व्यवधान भएन । प्लेनबाट जाने कार्यक्रम ‘क्यान्सिल’ भएपछि उनी गाडीकै यात्रा विराटनगर लागे ।

सिटौलाले टिकट लिएर हिँडेपश्चात् अरू नौजनाको नाम टुंगो लगाउने बैठक बस्नै सकेन । बीचमा देउवाले कोइरालालाई छलफलमा बोलाए । कोइराला आफ्नो कोठामा निकटहरूसँग गफ गरेर बसिरहेका थिए । कोइराला–देउवाबीच संवाद धेरै समय चलेन । देउवाले दुई सिट मात्र दिन्छु भनेपछि शेखर ‘आक्रोशित’ भएर बैठक छाडेर हिँडे । शेखरले बेलुका ८ः४० मा सानेपास्थित बैठकस्थल छाडेपछि रस्साकस्सी झन् पेचिलो बन्यो ।

शेखरले बैठक छाडेर हिँडेपछि उनीनिकट महामन्त्रीसहितका नेताहरू पूर्वपदाधिकारी कक्ष (रामचन्द्र पौडेलको पहिलेको कोठा)मा छलफलमा जुटे । त्यहाँ सहमहामन्त्रीद्वय पाण्डे र परियार तथा केन्द्रीय सदस्यहरू अर्जुननरसिंह र बलबहादुर थिए ।

सभापतिनिकट नेताहरू पनि छलफलमा जुटे । उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा. प्रकाशशरण महत, सहमहामन्त्री किशोरसिंह राठोर, केन्द्रीय सदस्य रमेश लेखक, एनपी साउद, आनन्द ढुंगाना देउवाको कार्यकक्षमा छलफलमा बसे ।

बैठकस्थल छाडेको करिब एक घण्टापछि शेखर पुनः सानेपा आए । उनी राति साढे ९ बजे आसपास सानेपा आएका थिए । देउवाको निर्देशनमा रमेश लेखकले फोन गरी बोलाएपछि पुनः बैठकस्थल आएको उनीनिकट नेताहरूले सानेपामै जानकारी दिए ।

शेखर आएपछि देउवासँग पुनः छलफलमा जुटे । तर, पुनः देउवाले दुई सिटकै कुरा गरेपछि विषय अघि बढेन । केही समयमै शेखर पनि आफ्नै समूहको छलफलमा होमिए ।

त्यसपछि दुवै समूह आ–आफ्नै छलफलमा जुट्यो । अर्थात्, एकार्कालाई गलाउने, घुर्काउने, थर्काउने र अडान लिइरहे । राति पौने ११ बजे बाह्रखरीसँग कुराकानी गर्दै नेता अर्जुनरसिंहले सभापति बैठक हलमा नपसेका कारण समस्या भएको बताए ।

“अझै केही भएको छैन । अपराह्न ४ बजेका निम्ति बैठक बोलाइएको हो, रातिको ११ बजिसक्यो । सभापति बैठक हलमा प्रवेश गर्नुभएको छैन । बैठक चलेको छैन, भएको त्यति हो,” उनले भने, “हामी प्रतीक्षा गर्न थाक्दैनौँ । थकाउने कोसिस हो भने त्यो निरर्थक हो ।”

‘रेस’मै नभएका किरणले मारे बाजी 

राति ११ बजेदेखि बिहान ४ बजेसम्म एकार्कालाई गलाउने, थकाउने काम भइरह्यो । देउवा आफ्नो अडानमा टसमस नहुने र शेखर–गगन पनि नछाड्ने रणनीतिमा लागे ।

कर्णाली प्रदेशमा इतर समूहले भूपेन्द्रजंग शाहीलाई उमेदवार बनाउन ‘लबिइङ’ गरिरह्यो । वाग्मती प्रदेशमा पनि कृष्ण बानियाँ सबुज र जितजंग बस्नेतका नाममा एकार्काबीच अडान जारी रह्यो । सुदूरपश्चिम प्रदेशमा इतर समूहको ‘सफ्टकर्नर’ ललितसिंह बोहराको नाममा थियो ।

एक नेताका अनुसार, राति १२ देखि बिहान ४ बजेसम्म सामूहिक संवाद निर्णयउन्मुख हुन सकेन । गण्डकी प्रदेशमा देउवाले सोभियतबहादुर अधिकारीलाई उमेदवार बनाउन चाहेका थिए । अपांगता भएका कोटामा इतर समूहबाट दीपक हमालको नाम थियो । तर, दुवैको नाम काटियो ।

दुवै समूह अलग–अलग बसिरहँदा इतर समूहले आफूले पाउने कोटाबाट नाम टुंगो लगायो । नपाएको क्लस्टरमा समेत दलित र अपांगता भएको समुदायको सहभागिता हुनेगरी नाम इतर समूहले टुंगो लगायो । 

गण्डकी प्रदेशको अर्को कोटामा शुक्रराज शर्मा वा देवराज चालिसेलाई उमेदवार बनाउने तयारीमा इतर समूह थियो । देउवाले शर्मा र चालिसे दुवैको नाम सुन्नै चाहेनन् । ‘मैले गोपालमानको नाम काटेँ, जनजाति चाहियो अनि मात्र मान्छु’ भनेर देउवा बोलेका कारण किरणबाबु श्रेष्ठको नाम इतर समूहले अघि सार्‍यो । श्रेष्ठ कांग्रेस गण्डकी प्रदेशका महामन्त्री हुन् । उनी टिकटको ‘रेस’मै थिएनन् ।

“शेखर कोइराला दुईपटक तल गए । शुक्रराजको नाम लिएर गए, तर देउवाले मान्दै मानेनन् । देवराज चालिसेको नाम लिएपनि ‘त्यो धेरै जान्ने पल्टिन्छ’ भन्दै देउवाले मानेनन्,” ती नेताले भने, “सभापतिको कोठाको सोफामा डा. प्रकाशरण महत, रमेश लेखक, पूर्णबहादुर खड्का निदाइरहेका थिए । सभापति देउवाले राति साढे ३ बजेतिर अन्डा खाए । त्यहाँ पसल बन्द भएकाले एक कर्मचारीको घरबाट ल्याइएको थियो । इतर समूह चियाको खोजीमा लाग्यो । यस्तै रमाइलो र तिक्तताले बिहानको ४ बजायो ।”

“सभापतिले ‘मैले अधिकारीको नाम काटेँ, गोपालमानलाई टिकट दिइनँ’ भने । शुक्रराजसँग गण्डकीको ब्यानरको विषयमा रिसाएका रहेछन् । अनि, जनजाति खोज्दा किरणको नाम आयो । महामन्त्रीले नाम लिनुभयो उमेदवारी दौडमा नभएका किरणजीले टिकट पाउनुभयो,” बैठकमा सहभागी अर्का एक नेताले भने ।

त्यसपछि महामन्त्री थापाले बोर्डको बैठक राख्न मुख्यसचिवसमक्ष खबर पठाए । मुख्यसचिवले ‘सभापति तयार हुनुहुन्छ, आउनुहोस्’ भनेपछि बिहान ४ः१० बजेतिर बैठक सुरु भयो ।

बैठकमा सहमतिका साथ विषय मिलेन । महामन्त्री थापाले ‘नोट अफ डिसेन्ट’ लेखे । नेताहरू अर्जुनरसिंह केसी र बलबहादुर केसीले पनि ‘नोट अफ डिसेन्ट’ राखे । त्यसपछि १० उमेदवारको नाम टुंगो लगाउँदै बिहान ४ः४० मा बैठक सम्पन्न भयो ।

महामन्त्री थापाको फरक मत 

उमेदवार छनोटप्रति असन्तुष्ट थापाले राष्ट्रियसभामा जाति, वर्ग र क्षेत्रको प्रतिनिधित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका एवं विज्ञ व्यक्तिहरूको उपस्थितिको परिकल्पना गरिए पनि त्यसो हुन नसकेको बताए । सबै तह र तप्काबाट समान ढंगले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई पुनः एकपटक खण्डित गरिएको भन्दै उनले असन्तुष्टि जनाए ।

“यो निर्णयले पार्टीमा कुनै पनि आग्रह नराखीकन निर्णय हुन्छ, सबै तह र तप्काका साथीहरूलाई समान ढंगले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई पुनः एकपटक खण्डित गरेको छ,” उनको  लिखित असहमतिमा उल्लेख छ, “यस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउँछ ।”

असहमतिका बाबजुद बहुमतले गरेको निर्णय कार्यान्वयनमा आफ्नो पूर्ण संलग्नता रहने उनले स्पष्ट पारेका छन् ।

केन्द्रीय सदस्य केसीद्वयको यस्तो छ असहमति 

बैठकमा केन्द्रीय सदस्यद्वय अर्जुनरसिंह केसी र बलबहादुर केसीले निर्णयप्रति ठाडो चुनौती दिए । पार्टीको संस्थागत निर्णयप्रति अविश्वनीयता खडा गरेको धारणा उनीहरूले राखे । उनीहरूले संसदीय बोर्डले विधानानुसार पूर्णता नपाएकाले उमेदवार छनोटमा प्रक्रियागत गम्भीर त्रुटि र र स्वेच्छाचारिता स्पष्ट देखिएको बताए ।

“समग्र मधेस प्रदेशबाट मधेसी समुदायबाट प्रतिनिधित्व हुन पाएको छैन । विज्ञ, बौद्धिक, व्यावसायिक र पेसागत वर्गलाई पूर्ण रूपमा उपेक्षा गरिएको छ । समावेशिताको संवैधानिक सिद्धान्तलाई उल्लंघन गरिएको छ,” केसीद्वयले फरक मतमा लेखेका छन्, “समग्रतामा उमेदवार चयनमा देखिएको एकाधिपत्य र चरम एकपक्षीय कार्यशैली पार्टी र आमभावनाविपरीत भएकाले राष्ट्रियसभा उमेदवार चयनको हालैको निर्णयमा असहमत भएकोले यो फरक मत प्रस्तुत गरेका छौँ ।”

निर्णय प्रक्रियाबाट महामन्त्री शर्मा बाहिर 

आइतबार रातभर र सोमबार बिहानसम्म यो सबै प्रक्रिया चलिरहँदा महामन्त्री विश्वप्रकाश शर्मा भने सानेपामा थिएनन् । सिटौलाले टिकट लिएर प्रदेशतर्फ हिँडेसँगै उनी बैठकबाट बाहिरिएका थिए ।

“उहाँ (विश्वप्रकाश शर्मा) सिटौलाले टिकट पाउनुपर्ने पक्षमा हुनुहुन्थ्यो । उहाँ (कृष्णप्रसाद सिटौला) हिँडेपछि सानेपाबाट उहाँ (विश्वप्रकाश) निस्कनुभयो, बिरामी भेट्न हस्पिटल पुग्नुभयो । त्यसपछि सानेपा आउनु भएन,” बैठकमा सहभागी एक नेताले भने ।

शर्माको सचिवालयले संसदीय बोर्डमा उनले ६ बुँदे मौखिक विमति राखेको जानकारी दियो । महामन्त्री शर्माले सभापतिको कार्यशैलीप्रति मात्र होइन, इतर समूहको भागबन्डा माग्ने शैलीमा समेत असहमति जनाएको जानकारी गराइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement