काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले नेपालको एउटा स्याटेलाइट प्रक्षेपण गर्ने भएको छ ।
गएको बिहीबार भारत र नेपाल सरकारका अधिकारीले स्याटेलाइट (भूउपग्रह) प्रक्षेपणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकका क्रममा उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा नेपालका तर्फबाट नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)का उपकुलपति अशोककुमार राई र भारतको न्युस्पेस इन्डियाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । नास्टका सचिव डा. रवीन्द्रप्रसाद ढकाल र इसरोका एक प्रतिनिधिबीच सम्झौतापत्र आदनप्रदान गरिएको थियो ।
इसरोले प्रक्षेपण गर्ने सम्झौता भएको नेपाली स्याटेलाइटको नाम ‘मुनाल’ राखिएको छ । नेपालको पहिलो स्याटेलाइट ‘नेपालीस्याट–१’ कै मोडेल, डाटा र सूचना प्रयोग गरेर ‘मुनाल’ बनाइएको हो । यसको नेतृत्व नास्टले गरेको थियो ।
मुनाल स्याटेलाइटलाई कक्षा–११ र १२ मा पढ्ने चार सरकारीसहित पाँच विद्यालयका नौ विद्यार्थीले बनाएका हुन् । ती विद्यार्थीलाई यसअघिको ‘डाँफे’ स्याटेलाइट बनाउन काम गरेका इन्जिनियरहरूले तालिम दिएका थिए ।
नेपालीस्याट–१ पछि बनाइएको डाँफे स्याटेलाइट थाइल्यान्डसँग मिलेर प्रक्षेपण गर्ने गरी तयार पारिएको थियो । त्यतिखेर नास्टमा नेतृत्व नहुँदा उक्त स्याटेलाइट प्रक्षेपण हुन सकेको थिएन ।
मुनाल स्याटेलाइटको ‘फाइनल टेस्टिङ र लन्चिङ’ गर्ने कामका निम्ति सहकार्य भइरहेको नास्टका सचिव डा. ढकालले जानकारी दिए । प्रक्षेपणपछि पनि स्याटेलाइटसँग कम्युनिकेसनको कार्य नास्टकै ‘ग्राउन्ड स्टेसन’बाट गरिनेछ ।
हाल भारतसँगको सम्झौता ‘मुनाल’ प्रक्षेपणका निम्ति मात्र हो । तर, इसरोसँग नियमित सञ्चार तथा सहकार्य र थप स्याटेलाइट प्रक्षेपण गर्ने गरी अघि बढ्ने नास्टको भनाइ छ ।
“इसरोले प्रक्षेपणको मिति घोषणा गरेपछि मुनाल स्याटेलाइट अन्तिम चरणको परीक्षणका लागि भारतको बैंग्लोर पठाइनेछ,” डा. ढकालले बाह्रखरीसित भने, “सम्भवतः आउँदो मार्चको अन्तिमतिर मुनाल स्याटेलाइट प्रक्षेपण हुन्छ ।”
मुनाल स्याटेलाइटमा दुई क्यामेरा राखिएको छ । नेपालीस्याट–१ को तुलनामा यी क्यामेराको रेजोलुसन राम्रो छ ।
स्याटेलाइटले ‘स्टोर एन्ड फर्वाड मिसन’ अर्थात् ग्राउन्ड स्टेसनबाट पठाएको कमान्ड (निर्देशन) स्टोर गर्ने र फरवार्ड गर्ने काम गर्नेछ । मुनालले ग्राउन्ड स्टेसनमा सूचना पनि फर्काउन सक्नेछ ।
स्याटेलाइट निमार्णका क्षेत्रमा क्षमता अभिवृद्धि गर्न र देशको प्रतिष्ठाका निम्ति यो सकारात्मक कदम हुने नास्टको विश्वास छ ।
भारतीय विदेश मन्त्रालय र दूतावासको संलग्नताले इसरोलाई यो द्विपक्षीय सम्बन्धको विषय हो भन्ने महसुस हुने र भोलिका दिनमा सहकार्य गर्न सहज वातावरण बन्ने नास्टको अपेक्षा छ ।
भारतीय विदेश मन्त्रालय र दूतावासको सहयोग भएकाले यो स्याटेलाइट प्रक्षेपणमा नेपालले पैसा तिर्नु नपर्ने उनले जानकारी दिए ।
सन् २०२३ अगस्ट २३ मा भारत चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्षयान अवतरण गराउने पहिलो मुलुक बनेको थियो । सूर्यको अन्वेषणका निम्ति इसरोले पठाएको ‘आदित्य–एल१’ समेत प्रक्षेपणको चार महिनापछि २०२४ जनवरी ६ मा सफलतापूर्वक लक्ष्यमा पुगिसकेको छ । यी दुई महत्त्वपूर्ण विकासले अन्तरिक्ष अन्वेषणमा भारतको नयाँ उचाइलाई झल्काउँछ ।
यस्तो बेला इसरोसँगको सहकार्य अन्तरिक्षसम्बन्धी गतिविधिमा नेपालका लागि विशेष हुन सक्ने अपेक्षा गरिएको छ ।