site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पुटिनको आदेशले नेपालमाथि थपियो चुनौती
तस्बिर : एपी ।

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशले नेपालमाथि चुनौती थपिएको छ । गएको बिहीबार अर्थात् पुस १९ गते पुटिनले नयाँ आदेश जारी गरी रुसका निम्ति लड्ने विदेशी नागरिक र उसको परिवारलाई त्यहाँको नागरिकता तथा पासपोर्ट प्रदान गर्ने घोषणा गरेका थिए ।

पुटिनले युक्रेनमा ‘विशेष सैन्य अपरेसन’ जारी रहेको समयमा रुसी सेनामा भर्ती हुने विदेशी नागरिक, उसको श्रीमती, छोराछोरी र बाबुआमालाई त्यहाँको नागरिकता प्रदान गर्न अनुमति दिएका हुन् । रुसी सेनामा भर्ती हुनेले कम्तीमा एक वर्षका निम्ति सेनामा रहने सम्झौता गरेको खण्डमा ऊ र उसको परिवारका सदस्यलाई सुरुमै त्यहाँको नागरिकता प्रदान गरिने र रुस आउन दिने नयाँ घोषणामा उल्लेख गरिएको अन्तर्राष्ट्रिय न्युज एजेन्सीले जनाएका छन् ।

रुसी सेनामा भर्ती हुने विदेशी नागरिक र उसको परिवारका सदस्यले आवेदन दिएपछि त्यहाँको नागरिकता र पासपोर्ट दिने प्रक्रिया सुरु गरिने आदेशमा उल्लेख छ । यो प्रक्रियाको टुंगो एक महिनामा लाग्ने जनाइएको छ ।

Dabur Nepal
NIC Asia

पुटिनले यस्तो बेला नयाँ आदेश जारी गरेका छन्, जति बेला नेपालले त्यहाँको सेनामा भर्ती भएका नेपालीलाई फिर्ता गर्न रुसलाई भनिरहेको छ । नेपालले रुसी सेनामा भर्ती भई मारिएका नेपालीको शव पठाउन, उनीहरूको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन र भर्ती हुनेको पूर्ण विवरण मागिरहेको छ ।

रुसी सेनामा भर्ती हुन जानेलाई रोक्न नेपाल सरकारले अनेक प्रयास गरिरहेको छ । यही बेला पुटिनले नेपालीसहित विदेशी नागरिकलाई आफ्नो सेनामा आकर्षित गर्न नयाँ आदेश जारी गरेका हुन् ।

लुकीछिपी रुसी सेनामा भर्ती हुन जाने नेपालीलाई रोक्न सरकारलाई हम्मेहम्मे परिरहेको छ । पुटिनको नयाँ आदेशले नेपाल सरकार थप अप्ठेरोमा परेको छ ।

“रुसी राष्ट्रपतिबाट जारी भएको नयाँ आदेशबारे हामीले पनि अन्तर्राष्ट्रिय मिडियाबाट थाहा पायौँ,” परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले बाह्रखरीसँग भने, “उक्त आदेशले हामीलाई अप्ठेरो बनाउँछ । यसले नेपालमा थप समस्या सिर्जना गर्नुका साथै चुनौती थपिदिन्छ ।”

पुटिनले रुसी सशस्त्र बल र अरू सैन्य संरचनामा भर्ती हुने विदेशी र उसको परिवारलाई त्यहाँको नागरिकता तथा पासपोर्ट दिने आदेश जारी गरेका हुन् । रुसी सेनामा विदेशीको संख्या बढाउन र युक्रेनसँगको युद्धमा पठाउन रुसी राष्ट्रपतिले नयाँ रणनीति अपनाएका हुन् ।

रुसी सेनामा भर्ती भएका मध्ये १० नेपाली युवा युक्रेनसँगको युद्धमा मारिइसकेका छन् । रुसी सेनामा भर्ती भएका चार नेपालीलाई युद्धका क्रममा नियन्त्रणमा लिई युक्रेनले बन्दी बनाएर राखेको छ । करिब डेढ सय नेपाली परिवारले रुसी सेनामा भर्ती भएका आफ्ना छोरा तथा श्रीमान्लाई फिर्ता ल्याउन परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर सेवा विभागमा आवेदन दिएका छन् ।

विभिन्न बहानामा रुस जानेहरू त्यहाँको सेनामा भर्ती हुने गरेको सूचना पाएपछि सरकारले कडाइ गरेको छ । नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)बिना रुस जान नपाउने नियम सरकारले बनाएको छ । त्यति मात्र होइन, सरकारले रुस र युक्रेन जानेलाई दिँदै आएको श्रम स्वीकृति समते रोकेको छ ।

यसअघि, रुसी सेनामा भर्ती भएको एक वर्ष पुगेपछि मात्र विदेशीलाई त्यहाँको नागरिकता दिने प्रक्रिया अघि बढाइन्थ्यो । पुटिनले जारी गरेको नयाँ आदेशमा भने रुसी सेनामा काम गर्छु भनी एक वर्षको सम्झौता गर्ने विदेशीलाई सुरुमै त्यहाँको नागरिकता दिने प्रावधान राखिएको छ । त्यति मात्र होइन, सेनामा भर्ती हुने विदेशी नागरिकको परिवारले पनि सुरुमै रुसी नागरिकता पाउने व्यवस्था छ ।

रुसी सेनामा कति नेपाली छन्, नेपालसँग यकिन तथ्यांक छैन । केही समयअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा २०० भन्दा बढी नेपाली भर्तीको औपचारिक जानकारी प्राप्त भएको बताएका थिए । तर, उनको भनाइलाई पुष्टि गर्ने आधार केही छैन ।

रुसी सेनामा भर्ती भएका केही नेपालीको भनाइलाई आधार मान्दा त्यहाँको सेनामा ठूलो संख्यामा नेपाली आबद्ध भइसकेका छन् । यो संख्या हजारभन्दा माथि छ ।

“रुससँग हामी सम्पर्कमै छौँ । उनीहरूसँग हामीले पटक–पटक नेपालीहरूको विवरण मागेका छौँ । तर, रुसबाट जवाफ प्राप्त भएको छैन,” प्रवक्ता राईले भने ।

रुसले नागरिकता नदिँदा पनि दलाल तथा एजेन्टलाई सात–आठ लाख रुपैयाँ बुझाएर नेपाली रुसी सेनामा भर्ती हुने जाने गरेका थिए । गइरहेका छन् ।

पुटिनको नयाँ आदेशले सेनामा भर्ती हुनेलाई मात्र होइन, परिवारलाई नै रुसी नागरिकता दिने व्यवस्था गरेपछि यसले नेपाली थप आकर्षित गर्ने र एजेन्ट तथा दलाल पनि अझ सल्बलाउने बुझाइ धेरैको छ ।

“सुरुमै परिवार नै लान पाउने भएपछि यसले थुप्रै नेपालीलाई आकर्षित गर्न सक्ने हाम्रो अनुमान छ । यसलाई जसरी पनि रोक्नुपर्छ । नत्र यसले पछि ठूलै संकट ल्याउँछ,” रुसको मस्कोस्थित नेपाली दूतावासका एक अधिकारीले भने ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता राईका अनुसार, पुटिनको नयाँ आदेशपछि मन्त्रालय ‘निकै गम्भीर’ भएको छ । सम्भावित चुनौती सामना गर्न मन्त्रालयले आवश्यक छलफल समेत सुरु गरिसकेको उनले जनाए । छलफल ठोस निर्णयमा भने पुगिसकेको छैन ।

रुसले हालसम्म आफ्नो सेनामा कति विदेशी भर्ती भएका छन् भन्ने विवरण सार्वजनिक गरेको छैन । युक्रेनसँगको युद्धमा ठूला संख्यामा आफ्ना सैनिक मारिएपछि रुसले विदेशी नागरिकलाई पनि सेनामा भर्ती गर्न सुरु गरेको हो ।

रुसले सन् २०२२ फेब्रुअरी २४ का दिन युक्रेनमाथि आक्रमण थालेको थियो । त्यसपछि रुस र युक्रेनबीच निरन्तर युद्ध चलिरहेको छ । पश्चिमी राष्ट्रले युक्रेनलाई सहयोग गरिरहेका छन् ।

अमेरिकी गुप्तचर प्रतिवेदनानुसार, युक्रेनसँगको युद्धमा मारिने तथा घाइते हुने रुसी सैनिकको संख्या तीन लाख १५ हजार छ । पुटिनले केही दिनअघि सन् २०२३ मा चार लाख ८६ हजार नयाँ सैनिकले सम्झौतामा हस्ताक्षर गरेको बताएका थिए । यसमा विदेशको संख्या कति छ भन्ने उनले खुलाएनन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro