site stats
बाह्रखरी :: Baahrakhari
कला
विदेशी चलचित्रलाई विलासिताको वस्तुमा राखेर कर लगाउन प्रदीपको सुझाव
तस्बिर : प्रदीप खड्काको फेसबुकबाट ।

काठमाडौं । अभिनेता प्रदीप खड्काले विदेशी सिनेमालाई ‘लक्जरी प्रोडक’मा राखेर त्यहीअनुसारको कर लगाउन सकिने बताएका छन् । 

नेपालमा रिलिज हुने विदेशी भाषाका हिन्दी, अंग्रेजी तथा अन्य कुनै पनि भाषाका सिनेमा नेपालका हलमा रिलिज भए विलासी वस्तुअन्तर्गत राखेर कर लगाउन सकिने उनको धारणा छ । 

Argakhachi Cement Island Ad

“गाडीमा २६० प्रतिशतसम्म कर लगाएजस्तै विदेशी सिनेमामा पनि सोहीअनुसार ट्याक्स लगाउन सकिन्छ,” प्रदीप बाह्रखरीसँग भन्छन्, “त्यसो भयो भने नेपाली सिनेमा हेर्ने दर्शकको संख्या धेरै हुन्छ ।” 

लगानीअनुसार प्रोडकको भ्यालु कायम गर्न सकिने उनको धारणा छ । 

“तीन करोडमा बनाएको सिनेमा तीन सयमा हेर्न सकिन्छ भने तीन सय करोडमा बनाएको सिनेमालाई हजार रुपैयाँ तिर्न सकिन्छ,” प्रदीप भन्छन्, “हामीले पोलेसीमा काम गर्न सकेका छैनौँ । हिन्दी सिनेमा हजार रुपैयाँ तिरेर हेर्नुको सट्टा तीन सय रुपैयाँमा नेपाली सिनेमा हेर्ने दर्शकको संख्या यसै धेरै हुन्छ ।”

नीति निर्माण तहमा बसेका व्यक्तिले यसमा खासै ध्यान नदिएको उनको भनाइ छ । नेपाली कला, संस्कृति झल्किने नेपाली सिनेमालाई प्राथमिकता दिनु पर्ने चलचित्रकर्मीहरूले बताइरहेका बेला प्रदीपले यस्तो बताएका हुन् । नीति निर्माणमा बसेकाहरूले नेपाली सिनेमाप्रति गम्भीर भएर ‘पोलेसी मेकिङ’मा काम गर्नुपर्नेमा उनको जोड छ । 

“प्रोडकको भ्यालु पनि हुन्छ । तीन सय रुपैयाँमा मिसन इम्पोसिबल हेर्ने कि बलिउड सिनेमा हेर्ने अथवा नेपाली सिनेमा हेर्ने भन्ने दर्शकलाई च्वाइस छ,” प्रदीप अगाडि थप्छन्, “मेरो तीन सय रुपैयाँको रिटर्न्स आयो कि आएन दर्शकले खोज्नुहुन्छ, स्वाभाविक पनि हो ।” 

आइतबार चलचित्र कलाकार संघ, निर्देशक समाजलगायत आठवटा विभिन्न संघसंस्थाले नेपालमा नेपाली चलचित्रलाई प्रदर्शनमा प्राथमिकता दिनुपर्नेलगायत माग गर्दै सञ्चारमन्त्री रेखा शर्मालाई सुझाव दिएका थिए । 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १२:२२
प्रतिक्रिया दिनुहोस्