site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
'माफी नमागेसम्म डा. दाहाललाई राख्दैनौँ, केयूको पत्र मान्दैनौँ'

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी)का आवासीय चिकित्सक डा. विशद दाहाल निलम्बनमा परेको विषयमा अहिले विरोध भइरहेको छ । सडकबाट चिकित्सकहरूले र संसदीय समितिमा सांसदहरूले डा. दाहाल निलम्बनको विषय उठाइरहेका छन् ।

उनको निलम्बनलाई लिएर संसदीय समितिदेखि चिकित्सा शिक्षा आयोग र सरोकारवालाले ध्यानाकर्षण भएको जनाएका छन् ।

केएमसीले पुस १२ गते आवासीय चिकित्सकको कर्तव्य पालना नगरेको र अनुशासन उल्लंघन गरेको भन्दै डा. दाहाललाई एक महिनाका लागि निलम्बन गरेको थियो ।

डा. दाहालले भने स्वास्थ्य शिविरका नाममा आफूहरूमाथि अमानवीय व्यवहार गरिएको आरोप लगाएका छन् । कोर्सभन्दा बाहिर गएर शिविरमा लगिएपछि आफूले विरोध गरेको तर्क उनको छ ।

आफूमाथिको निलम्बन चिकित्सा शिक्षा ऐनविपरीत भएकाले तत्काल फिर्ता गरी कामकाजमा खटिन पाउनुपर्ने डा. दाहालको माग छ । उनलाई अहिले पीजी पहिलो र दोस्रो तहका झन्डै ८० जना आवासीय चिकित्सकको साथ छ । केएमसी अस्पतालबाहिर उनीहरू दैनिक धर्नामा छन् ।

केएमसीलाई सम्बन्धन दिएको काठमाडौं विश्वविद्यालय (केयू)ले डा. दाहालको निलम्बन फिर्ता गर्न केएमसीलाई पत्राचार गरेको थियो । चिकित्सा शिक्षा आयोग, केयूलगायत सरोकारवालाको प्रतिनिधित्वमा समस्या समाधानका लागि कार्यदलसमेत बनेको छ ।

शुक्रबार मात्रै विज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक संघले तत्काल डा. दाहालको निलम्बन फिर्ता नभए आन्दोलनमा जाने चेतावनी दिएको छ ।

तर, नेपाली कांग्रेसका सांसदसमेत रहेका केएमसीका सञ्चालक सुनिल शर्माले डा. दाहालको निलम्बन कुनै पनि हालमा फिर्ता नहुने बताइरहेका छन् । बरु घटनाका सम्बन्धमा केयूले अनावश्यक हस्तक्षेप गरेको टिप्पणी गरिरहेका छन् ।

बाह्रखरीसँगको कुराकानीका क्रममा पनि उनले माफी नमागेसम्म डा. दाहाललाई राख्न नसक्ने बताए ।

उनका अनुसार डा. दाहाल दुई वर्षमा जम्मा दुईपटक मात्रै शिविरमा गएका छन् । पछिल्लो समय उनले आफू पनि शिविर बहिष्कार गर्ने र साथीहरट्ठलाई पनि भड्काउने काम गरेको शर्माको दाबी छ ।

"यस सन्दर्भमा एचओडी र प्रिन्सिपलले बोलाएर उनलाई तीन पटकसम्म सम्झाए । तर, उनले नियम मान्छु भन्नुको साटो देखाइदिन्छु भन्दै छलफलबाट बाहिरिए । यसबीचमा मौखिक स्पष्टीकरण सोधिएको छ, तर अटेर गरेपछि एक महिनाका लागि निलम्बन गरेका हौँ," बाह्रखरीसँग शर्माले भने ।

उनले केयूले गरेको पत्राचारको कुनै अर्थ नभएको पनि बताए । आफ्नो विद्यार्थी भएपछि निलम्बनको अधिकार आफूहरूसँगै हुने उनको तर्क छ ।

"घटनाबारे केयूका डिनसँग पनि छलफल भएको थियो, हाम्रो विद्यार्थी निलम्बन गर्न केयूको लिखित अनुमति लिइरहनुपर्छ भन्ने छैन । उनी केएमसीमा प्लेस्मेन्ट हुन आएपछि यो अधिकार हामीसँगै हुन्छ । त्यसैले केयूले निलम्बन फुकुवा गर भनेर पत्राचार गर्नुको कुनै अर्थ छैन । केयूको हामी आंगिक क्याम्पस पनि होइनौँ । हाम्रोमा आएको विद्यार्थी निलम्बन नगर भन्न केयू को हो ? केयू पनि स्वायत्त र केएमसी पनि स्वायत्त संस्था हुन्," उनले भने ।

अबको समाधान के त ?

बाह्रखरीको प्रश्नमा शर्मा भन्छन् “अब उनले माफी मागेर काममा फर्किए ठिक छ । अन्यथा केयूकै कुनै कलेजमा पढ्न जान्छन्, हामी राख्न सक्नदैनौँ ।”

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  २०:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro