लोकतान्त्रिक शासन पद्धतिमा मुलुकको हितका निम्ति जनता र शासक बराबर जिम्मेवार रहन्छन् । शासक वर्गले संविधानप्रदत्त जनताका मौलिक हक स्थापित गर्ने प्रयास गरेको हुन्छ । जनताको पनि राष्ट्रप्रति केही कर्तव्य र दायित्व पालना गर्नुपर्ने संविधानमा उल्लेख छ ।
नेपालमा गणतन्त्र स्थापनापछि निसन्देह व्यवस्थाअनुरुप शासन हुने जनतामा आशा थियो । तर हिजो–आज आम बुद्धिजीवीहरूले के भन्न थालेका छन् भने नेपालमा गणतन्त्रको नाममा दलालीतन्त्र हाबी हुन पुगेको छ । टोल, गाउँ, सहरहरूमा डन, माफिया, दलाल जे नामाकरण गरौँ उनीहरू नै स्थापित छन् ।
कुनै व्यक्तिले आफ्नो कुनै सम्पत्तिको लेनदेन र हक छाड्ने इच्छा राखेको रहेछ भने विना तिनको मन्जुरी अबका दिनमा सम्भव छैन । मुलुकभर जत्रतत्र दलालहरूको बलियो सन्जाल हाबी छ । तिनले कस–कसको मूल्यवान सम्पत्ति छ, त्यसको पत्ता लगाएर सूची बनाएका छन् ।
त्यस्तो सम्पत्ति धारण गर्ने परिवारको कमजोरी खोज्छन् । विरामी, कम उमेरको वा महिला छन् कि छैनन् । कसैको परिवारमा सम्पत्तिका लागि आपसी द्वन्द्व हुने सम्भावना छ वा छैन भन्ने पत्ता लगाउँछन् । आफूले फुटेको कौडी पनि लगानी गर्नु नपर्ने यो व्यवसायमा, धाकधम्की र मुखको परिपञ्चले अरुको सम्पत्तिसम्म खाने हो ।
अर्काको निर्विवाद हकको सम्पत्ति हत्याउन पहिलो पटक बिक्री गराई दिने वा कुनै एउटा अर्को बाहनाको साथ प्रवेश गरी कब्जा गर्ने गरेको देखिन्छ । त्यसपछि मुखको भरमा सम्पत्ति बेचेर रकम जति स्वयं खाने र जग्गाको वास्तविक हकदारलाई झमेलामा फसाएर हिँडेकोसम्म पनि देखिन्छ ।
दलालहरूले अर्को अभियान तराई क्षेत्रमा सुरु गरेको देखिएको छ, त्यो हो– कसैको ठूलो प्लटको महँगो घर जग्गा रहेछ र त्यसमा मोही रहेनछ भने अरु कुनै कतैको अर्कै जग्गाको मोहीको रेकर्ड मिल्दोजुल्दो नामको ल्याएर किर्ते मोही खडा गर्ने । त्यसपछि भूमिसुधारमा मोही कायम गरी माग्ने मुद्दा वास्तविक मालिकमाथि दायर गरी अड्डा अदालत मिलाएर हडप्ने काम भएको छ ।
हिजो भूमिसम्बन्धी ऐन २०२१ र सोको नियम अनुसार मोही हुन १ नम्बर लगत, २ नम्बर फारम तयार भई प्रकाशन भएपछि ३ नम्बर अस्थायी निस्सा प्राप्त गरी ४ नम्बरको स्थायी निस्सा प्राप्त गर्ने व्यक्ति र तिनको सन्तानलाई मोही मानिन्थ्यो । पछिल्लो व्याख्याले मोहीको छोरी÷बुहारीलाई पनि मोही मानेको छ ।
तर, अब भूमि सम्बन्धी ऐन २०२१ को दफा २६( घ) अनुसार मोहीलाई आधा जग्गाको हिस्सा दिएपछि धनीको आधा भागमा मोही नै कायम नहुने व्यवस्था आएको छ । त्यसरी मोहीको हिस्सा बुझेर छुट्टिएको जग्गामा समेत दलालहरूको गिद्दे दृष्टि पुगेको छ । कसैको हक नपुग्ने, निर्विवाद हकको सम्पत्तिमा दलालहरूले कब्जा लिन कुनै अरु टोल गाउँको जनाउ नामसम्म मिलाएर ल्याएको वा किर्ते खडा गरेको कागजको भरमा वास्तविक धनीले भूमि सुधारदेखि लिएर सर्वोच्च अदालतसम्म वकिल राखी विनाकारण खर्च गरेर कागजका मूठो बोकी मुद्दा लडनुपर्ने अवस्था छ । संविधानप्रदत्त धारा ३० सम्पत्तिसम्बन्धी मौलिक हकको बहाली भएको खोई ? नागरिककले आफ्नो ज्युज्यानको सुरक्षाका निम्ति राज्यलाई भारी कर तिरेको हुन्छ । यहाँ न त ज्युज्यानको सुरक्षा छ न त सम्पत्ति र बसोबासको सुरक्षा छ ।
यही पिरलो भोगिरहेका देखिन्छन् एमालेका नेता, प्रख्यात कानुन व्यवसायी तथा पूर्वराजदूत कमल कोइराला । उमेरको ८५ वर्षे नेटो काटेपछि बुढेसकालमा कागजका मुठो बोकेर वकिलको दैलोदैलोमा पुग्नु परेको छ । पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाका पुत्र, महान नेता बीपीका सहोदर भतिजा । उनको दोष भनेको पैत्रिक सम्पत्ति परिवारभित्रै जोगाएर राख्नु हो । भूमिसुधार लागु भएको ५९ वर्ष भयो । यतिका समयमा नजन्मेको मोही यतिखेर कसरी, कहाँबाट जन्मिए ?
आजभोलि पहुँच नहुनेले सम्पत्ति कायम राख्छु वा भोग गर्छु भनी नचिताए हुन्छ । दलालहरूको बिगबिगीले जग्गावालाहरू रोएका छन् । भू–माफियायाहरूले अनेकौँ झन्झटहरू उठाएर धनीहरूलाई सम्पत्ति निल्नु न ओकल्नु पारेका छन् ।
अरु मुलुकमा दलाल हुन्छन्, तर तिनको प्रतिष्ठा हुन्छ । दलाल शब्द कुनै नराम्रो पेसा होइन । शुद्ध कारोबार गरेका हुन्छन् असल दलालले । बेइमानीमा चल्दैनन्, कारोबारबाट हुने आर्जनको केही हिस्सा सरकारलाई कर तिर्छन् । आफ्नो कार्यालय खोलेका हुन्छन् । सम्पत्ति बिक्रीको काममा बिचौलियाको भूमिका अपनाए पनि पारदर्शी काम गरेका हुन्छन् ।
नेपालका दलालहरूको भूमिका हेर्दा दुई खुट्टामध्ये एक खुट्टा राजनीतिमा अर्को दलालीमा हुन्छ । त्यो पनि दलालीको नाममा लुटखोसको धन्दा छ । राजनीतिक पदमा जमेर आफ्ना लागि दलीय कार्यालयको दैलो सदैव खुला राख्ने र त्यसैको आडमा समाजमा धाकधम्की रवाफ देखाउने गरेको पाइन्छ ।
तिनले आफ्नो पहुँच र पहिचान कहाँसम्म छ भन्ने प्रचारप्रसार गर्ने गरेका छन् । घरको बैठकको भित्तामा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको काखमा आफ्ना सन्तान राखेर खिचेको फोटो, उनीसँग सपरिवार बसेर खिचेको फोटो, वर्तमान प्रधानमन्त्रीलाई साख्य तेह्र दिने जुठो बार्नुपर्ने दाइ भनी अंकमाल गरी खिचेको फोटोका अतिरिक्त भए जतिका ठूलाठालु मन्त्री नेतागणहरूसँग टाँस्सिएर विज्ञापन स्वरूपका फोटाहरू झुन्ड्याएका छन् ।
यस्तै एक नामुद दलालले पदमा बहाल रहेका बखत न्यायाधीश प्रकाश वस्तीसँग भेट हँुदा सायद प्रभाव पार्नलाई हो कि आफूले कुन–कुन न्यायाधीशलाई बासमती चामल, चितवनको खाँटी तोरीको तेल र शुद्ध घ्यु ख्वाउने गरेको सुनाएका रहेछन् । पछि कुनै मुद्दा फैसला गर्दा जिताएर बदलामा उनीसँग लाभ लिने कुराको प्रस्ताव राखेछन् । उनले हठात इन्कार गरी उक्त मुद्दा ती दलालले सिफारिस गरेको पक्षलाई हराइदिएपछि दलालले धम्की र चेतावनी दिँदै फोनमा भनेछन्, ‘अब तिमी कसरी न्यायाधीश स्थायी बनौला ? कसरी प्रधानन्यायाधीश बन्लाऊ म पनि हेर्नेछु ।’
वास्तवमा त्यही भयो वस्तीमाथि । उनी स्थायी न्यायाधीश बन्न सकेनन्, प्रधानन्यायाधीश पदको त कुरै रहेन । अरु मुलुकमा भएको भए प्रकाश वस्ती जस्तो क्षमतावान व्यक्तिलाई न्यायाधीश पदमा कायम नराखी प्रधानन्यायाधीश नबनाएको भए ठूलो प्रश्न उठ्ने थियो ।
म प्रधानन्यायाधीश हुँदा पनि त्यस्तै प्रकृति र प्रवृत्तिका दलालहरूले मेरो सचिवालयका पदाधिकारीहरूसँग मसँग भेटाई दिन निरन्तर फोन गरेछन् । तर मैले विना कामका मानिससँग किन भेट गर्ने भनेर इन्कार गरेपछि सचिवालयका मानिसहरूले पनि त्यही जवाफ तिनलाई दिएछन् ।
त्यसपछि तिनले मेराविरुद्ध भनेछन्, ‘कति दिनसम्म प्रधानन्यायाधीश पदमा बहाल रहन्छिन् तिनी, म पनि हेरौँला । पदबाट बाहिरिएपछि कसले पुछ्दो हो ? त्यसपछि तिनलाई कसले सरोकार राख्छ ? हामीले भेट माग्दा नभेट्ने त्यति ठूली रहिछन् । भोलि आवश्यक पर्दा तिनको निम्ति को काम आउँछ ? नाथे प्रधानन्यायाधीशको पद के–के न हो जस्तो लागेको होला ।’ तिनको ती भनाइ सचिवालयका एक अधिकृतले रेकर्ड गरेका रहेछन् । मलाई पनि पछि सुनाए । हेक्कारहोस् पदमा पुगेपछि ठूलो मान्छे हुन्छ भन्ने मानसिकता तेस्रो विश्वका मुलुकहरूमा मात्र हो । विकसित मुलुकमा हेर्ने हो भने अमेरिकाको राष्ट्रपति पनि लुरुलुरु सडकमा हिँडेको देखिन्छ ।
न्युजिल्यान्डकी महारानीले ट्राम चढेर आएर फुटपाथमा सामान किनेको, आममहिलाले जस्तै पसल–पसल घुमेर किनमेल गरेको हामीले नै आँखाले देख्यौं । जापानमा ठूलै पदाधिकारीहरू पनि रेलमै यात्रा गरेको देखियो । नेपालको चारैतिरको सीमाबन्दीले र सुरक्षित हुने हो भने हामी पनि काम पर्दा पैदल हिँड्ने थियौं । हामीलाई गाडी र सुरक्षाकर्मी किन चाहिन्थ्यो र ?
हाम्रो मानसिकता कस्तो छ भने एउटा न्यायाधीशले कुनै नातागोताकी सुन्दरी महिलासँग बाटोमा कुरा गरेको देखे मात्रै पुग्छ । सञ्चारमाध्यमले त्यही कुरालाई लिएर पंखा लगाएर धुँवा उडाउँछन् । मानिसहरू टिकटक र भिडियो बनाउन थाल्छन् । न्यायाधीशले कुनै सेवाग्राहीसँग भेट गर्नै नहुने र फोनमा कुरासम्म पनि गर्नैनपर्ने आचार–संहितामा कहीँ लेखेको छैन ।
चीनमा मुद्दा हार्ने पक्षले आफूलाई हराउने न्यायाधीशसँग आफूले हारेको कारण र आधारबारे सल्लाह माग्छन् । भविष्यमा के गर्ने त्यसमा पनि सल्लाह माग्छन् । ती विषयमा घण्टौं फोनमा कुराकानी छलफल गर्छन् । अमेरिकामा पनि त्यही प्रचलन छ, आरामसँग न्यायाधीशले पक्षहरूलाई सल्लाह दिन्छन् । कारण ती मुलुकहरूमा विधिको शासन कायम छ । जनताले न्यायाधीश र मुलुकको व्यवस्थामाथि विश्वास गर्छन् ।
आजभोलि यस्ता प्रकृतिका दलालहरूले चाहे न्यायाधीश होस्, चाहे सरकारका उच्च पदमा आसिन कर्मचारी वा नेतागणहरु किन नहुन् नंग्याएका छन्, हरियो मकैको घोगा नंग्याए सरह । गल्ली–गल्ली, सहर–सहरमा, व्यापक चर्चा पुर्याएका छन् फलानो फलानो मेरो खल्तीभित्रका मानिस हुन् भनेर । मैले जे भन्यो त्यही गर्छन्, अथवा फलानाको घरमा रकम पुगिसकेको छ । फेरि दलालले आफूले दिनुपर्ने पनि होइन रहेछ, मुद्दामा रकम लगानी गर्नेहरू पनि मिलाउँदा रहेछन् ।
विराटनगरको कुनै कोइराला घरानाको अपुताली मुद्दामा उच्च अदालतको फैसला उल्टाउन मुद्दाको पेसी सार्ने काम कर्मचारीहरू मिलाएर पटक–पटक यसर्थ हुँदै छ कि जसमा एघार भाइ न्यायाधीशमध्ये तीन भाइ ६ महिनाभित्र पदमुक्त हुन्छन् । त्यसपछि मात्र फायल खोल्ने गरी थामेर राखेको कुरा स्वयम दलालहरू गल्ली गल्लीमा खुलेआम भन्दै हिँडेका छन् ।
भनिन्छ, यस्तै दलालका फेरमा पर्नाले एकजना न्यायाधीशले सामुन्नेमा आएको प्रधानन्यायाधीशको पदबाट हात धुनु परेको पनि हो ।
दलालको कुनै धर्म हुँदैन, पैसका लागि ऊ जे पनि गर्छ । कतिपय दलालले काम गराएवापत संकलन गरेको घुसको रकम नदिएको र स्वयं खाइदिएको कुरा भन्दै पनि हिँडेका छन् । दलाल, माफियाले जे गरेका छन्, जसरी आमजनतालाई लुटेका छन्, कानुन र संविधानअनुसार भन्ने हो भने ती गैरकानुनी कार्य हुन् । ती अपराधको श्रेणीमा पर्छन् ।
तर हाम्रो मुलुकमा सरकार प्रहरी प्रशासन सबै मौन छ । कारण ती स्थानमा आमजनताको भन्दा दलालको पहुँच छ । विकसित मुलुकमा यस्तो लुटखोस हुँदा अपराधीविरुद्ध कडा कारबाही हुन्छ । कसैको सम्पत्तिमा कसैले प्रवेश विनाकारण गरे गोली हानिन्छ । कारबाही गरिन्छ । सरकारले व्यक्तिको सम्पत्तिमा सुरक्षा दिएर संरक्षण गरेको हुन्छ ।
(लेखक कार्की पूर्वप्रधानन्यायाधीश हुन्)