site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
सिक्किमे विधायकले बीपीलाई ‘भारतसँग होसियार हुन’ सतर्क गराएपछि मेलमिलापतिर

जतिबेला विश्वेश्वरप्रसाद कोइराला (बीपी)ले ‘राष्ट्रिय मेलमिलाप नीति’को रणनीति बनाउँदै हुनुहुन्थ्यो, म उहाँसँगै बनारसमा थिएँ । बीपीको निर्देशनमा प्रकाशित हुने तरूण पत्रिकाको सम्पादन मण्डलमा पनि मलाई राख्नुभएको थियो । सशस्त्र आन्दोलनको अभियानलाई तरूण पत्रिकाले पहिलो प्राथामिकतामा राखेको थियो । तर, ओखलढुंगा काण्डपछि क्रान्ति स्थगित भएको थियो ।

कांग्रेसको अकल्पनीय क्षति भएपछि बीपीले नसोचेको परिणाम ओखलढुंगामा देखियो । धेरै क्रान्तिकारी र होनाहार साथीहरू शाहदत प्राप्त गरेपछि बीपी चिन्तित हुनुभयो । उहाँले त्यस घटनापछि आफ्नो साधन–स्रोतको मूल्यांकन पनि गर्न थाल्नुभयो । अन्तर्राष्ट्रिय परिस्थिति पनि नेपालको राष्ट्रिय हित अनुकूल देखिएको थिएन ।

भारतमा इन्दिरा गान्धीले संकटकाल तत्काल लागु गरिन् । उनले आफ्ना विरोधी खासगरी पहिले समाजवादी आन्दोलनमा लागेका मुख्य नेताहरू जयप्रकाश नारायण, चन्द्रशेखरलगायत नेताहरूलाई जेलमा राखेको अवस्था थियो । इन्दिरा गान्धीको नेपालप्रतिको दृष्टिकोणका सवालमा बीपी संशकित हुनुहुन्थ्यो ।

Dabur Nepal
NIC Asia

२०३२ मा सुनियोजित उद्देश्य वा संयोगले सिक्किम भारतमा विलय भयो । सिक्किमे जनताको चाहनाभन्दा पनि भारतीय रणनीतिको मुख्य भूमिका रह्यो । त्यतिखेर सिक्किमका दुई विधायक भारत भ्रमणमा थिए । तिनलाई भारतीय सरकारले भारतको मुख्य ठाउँहरू भ्रमण गर्न ल्याएको थियो । वनारसमा उनीहरूको भ्रमण भयो । त्यसमध्ये एक विधायक नरबहादुर खतिवडाले बीपी कोइरालालाई भेट्न समय मिलाइदेऊ भनेका रहेछन् । पहिला भारतीयले हुन्छ भनेछन् । 

बीपी कोइराला बनारसको सारनाथमा बस्नुहुन्थ्यो । जहाँ बौद्ध धर्म मान्नेहरूको ठूलो केन्द्र हो । सिक्किमबाट आएका विधायकलाई बौद्ध धर्मको थलो सारनाथको भ्रमणको कार्यक्रम राखिएको थियो । तर, भारतले आफूलाई बीपीसँग भेटाउने सम्भावना देखेनछन् । उनी त्यसपछि सुटुक्क बीपी बसेको ठाउँमा आए । तिनले आफ्नो परिचय दिँदै भने, ‘तपाईंसँग भेट नभए पनि तपाईंबाट हामी धेरै प्रभावित छौं ।’

उनले त्यही क्रममा सिक्किम विलय हुँदाको घटना पनि सुनाएछन् । उनले बीपीसँग भने, ‘‘हामीलाई भारतले लोकतन्त्र दिने भनेर, लोकतान्त्रिक आन्दोलनका लागि प्रेरित गर्दै हाम्रो देश नै खाइदियो । हामीलाई धोका दियो । तपाईंहरू भारतसँग होसियार हुनुहोस् है । नेपालप्रति हाम्रो ठूलो सद्भाव छ ।’ 

बीपीले भोलिपल्ट नरबहादुर खतिवडा आएको र उनीसँग भएका वार्ताबारे हामीलाई पनि सुनाउनुभएको थियो । यी सब घटनाबाट बीपीले अलिकति आफ्नो सोच परिवर्तन गर्नुभयो । सशस्त्र क्रान्ति मात्रै विकल्प हैन अरु विकल्प पनि सोच्नुपर्छ भन्नेतर्फ लाग्नुभयो । राष्ट्रिय मेलमिलापको नीति अपनाउनुभयो । 

मेलमिलाप नीति बीपीले नलिएको भए के हुन्थ्यो भनेर परिकल्पना त गर्न सकिँदैन । तर, धेरै अनिष्ट चाहिँ हुन्थ्यो । ठूलो क्षति हुन सक्थ्यो ।
 
२०१७ पुसमा राजा महेन्द्रले कांग्रेसले भन्दा राम्रो शासन चलाउन सक्छु भननेर शासन व्यवस्था आफ्नो हातमा लिए । बीपीलाई के विश्वास थियो भने त्यो उद्देश्य पूरा भएन भन्ने कुरा राजाले महसुस गरेको हुनुपर्छ । पञ्चहरूको आफ्नो स्वार्थ थियो । लोकतन्त्र आयो भने आखिर राजा त रहिरहन्छन् भन्ने कुरा राजालाई थाहा छ । त्यसैले म नेपालमा राजालाई सहमत गराउँछु । जनशक्ति र राजशक्ति मिल्नुको अब विकल्प छैन, देश जोगाउन बीपीले न संघर्ष न समर्पणको नीति अपनाउनुभयो । 

बीपीलाई अर्को आशा के थियो भने राजा लोकतन्त्रवादी नभए पनि राष्ट्रवादी छन् । किनभने आफूमात्र होइन आफूपछि आफ्ना सन्तानले राज्य गर्न पाउन् भन्ने राजाको स्वार्थ छ । त्यसैले राष्ट्रियताको भावना नभए पनि आफ्नो स्वार्थका लागि पनि राजा राष्ट्रियता विपरीत जान सक्दैनन् । त्यसकारण म गएर राजालाई र सहमत गराउँछु भन्ने विश्वास बीपीलाई थियो ।
 
बीपीको कुरामा धेरै साथीहरू सहमत हुनुहुन्न थियो । गणेशमानजीको पनि सहमति थिएन । बीपीले राजासँग मिल्न जाने हैन, राष्ट्रियता जोगाउन जान लागेको भनेर उद्देश्य स्पष्ट पार्नुपरेको थियो । ‘राष्ट्र नै नरहे हामीले लोकतन्त्र ल्याएर राख्ने कहाँ’ भन्ने भावनाबाट प्रेरित गरी सबैको समर्थन पाउनुभयो । २०३३ पुस १६ मा ‘राष्ट्रिय मेलमिलापको नीति लिँदै मुलुक फर्कनुभयो ।

तर, यहाँ आएर बीपीले राजासँग भेट्न पाउनुभएन । उहाँलाई पक्राउ गरी जेल लगियो । उहाँ थुनामै भएको अवस्थामा राजा वीरेन्द्रले बीपीलाई भेटे । त्यसबखत डाक्टरहरूले बीपीको स्वास्थ्य साह्रै खराब रहेको राजालाई बताएका थिए । डाक्टरको रिपोर्टको एउटा लाइनमा रातो लगाइएको थियो । रातो लगाएको लाइनमा यो बिरामीको जुनसुकै बखत मृत्यु हुन सक्छ भनी लेखिएको रहेछ ।
 
त्यो लाइन देखाउँदै राजा वीरेन्द्रले बीपीसँग भनेछन्, ‘‘तपाईंको स्वास्थ्य धेरै खराब रहेछ, तपाईं उपचार गर्न जानुस् ।’ बीपीले मेरोभन्दा देशको स्वास्थ्य खराब छ सरकार, देशको स्वास्थ्य ठीक पार्ने बारेमा सोचौं भनी लामो कुरा गर्नुभयो । बीपीले राजा महेन्द्रसँग भएको कुरा समेत सम्झाउँदै वीरेन्द्रसँग लामो कुरा गर्नुभयो । राजाले पहिले स्वास्थ्य ठीक गरेर आउनुहोस्, राजनीतिक विषयमा पछि कुरा गराँैला भनेका रहेछन् । कहिले फर्किने भनेर चिन्ता नगर्नू, पूर्ण स्वथ्य भएर फर्कनू भनी राजाले पठाएका थिए । तर, बीपीको मुद्दा विशेष अदालतमा विचराधीन थियो ।

राजाले हतार नगर्नु सबै खर्च सरकारले बेहोर्छ भने पनि बीपी अलिकति ठीक हुने बित्तिकै नेपाल फर्किनुभयो । उहाँले फर्केपछि राजालाई भेट्ने प्रयास पनि गर्नुभयो । बीपीलाई चिन्नेहरू पञ्चायतमा सक्रिय थिए । डा. तुलसी गिरी, सूर्यबहादुर थापाहरूलाई बीपीको क्षमता कलाकौशल थाहा थियो । बीपीले राजालाई एकपटक भेटे भने आफ्नो कुरामा सहमत गराउँछन् भन्ने भयले बीपी र राजाको भेट हुन उनीहरूले दिएका थिएनन् ।

बीपी हामीसँग भन्नुहुन्थ्यो, ‘विदेशमा पढेर आएको राजा, देशलाई विकास गर्छु भनी विभिन्न योजना ल्याएका छन् । लोकतन्त्र भएन र जनताले अधिकार पाएन भने विकासको उनको परिकल्पना पूरा हुन सक्दैन भन्ने यति पनि बुझ्दैनन् र राजा ?’
 
२०३६ सालमा जनमत संग्रह भयो । यसले राजनीतिक वातावरण परिवर्तन भयो । यसमा पनि बीपीले राजाको मन जित्ने कोसिस गर्नुभयो । तर पनि उहाँलाई राजासँग भेट्न नदिने पक्ष बलियो थियो । सुरूमा जनमत संग्रहको घोषणा गर्दा बीपीले ठान्नु भएको थियो कि राजाले पञ्चायतबाट मुक्त हुन एउटा बाटो खोजेका हुन् । त्यसैले राजा पञ्चायतलाई जिताउने पक्षमा छैनन्, यसको घेरबाट मुक्त हुन राजा चाहन्छन् । पछि दरबारले चालेको कदम हेर्दा बीपीले बढी नै विश्वास दरबारलाई गर्नुहुँदो रहेछ भन्ने देखिन्छ ।

तत्काल ठूलो राजनीतिक परिवर्तन हुन नसके पनि मेलमिलापको नीति लिँदै बीपी नेपाल फर्किएपछि जनतामा उत्साहको सञ्चार गर्नु ठूलो उपलब्धि थियो । भित्रभित्रै नेपाली कांग्रेसका संगठनहरू बन्न थाले । नेपाली कांग्रेस लेख्न नपाए पनि ‘प्रतिबन्धित’ नेपाली कांग्रेस भनेर मिडियाले जनतामा सन्देश पुर्‍याउन थाले । बीपीको उपस्थितिले नेपाली जनतामा देशमा प्रजातन्त्र आउँछ र पञ्चायत धेरै टिक्दैन भन्ने मनोविज्ञान निर्माण भयो । राष्ट्रिय मेलमिलाप नीतिको ठूलो उपलव्धि त्यही हो जस्तो लाग्छ ।

आजको सन्दर्भमा मेलमिलाप नीतिको सान्दर्भिकता 
बीपी राष्ट्रियता बलियो नभए लोकतन्त्र सफल हुन सक्दैन भन्नुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो, ‘‘त्यसैले लोकतन्त्र, लोकतन्त्र मात्र भनेर नबसौं । राष्ट्रिय हितलाई पनि उच्च स्थानमा राखौं । तर, राष्ट्रियताको नाममा जनताको अधिकार खोस्ने काम धेरै देशको तानाशाहले गरेका छन् । जबसम्म नागरिकलाई राज्य निर्माणमा सक्रिय सहभागी गराउन सकिँदैन, त्यसबेलासम्म राज्य किन निर्माण भयो र लोकतन्त्र किन आयो भनेर सबै निरर्थक हुन्छ ।’’

अहिले यो सन्देशको सान्दर्भिकता बढेको देखिन्छ । अहिले पनि हाम्रो राष्ट्रियता र आत्मनिर्णयको शक्ति कमजोर हुँदै गएको अनुभूति हुन थालेको छ । व्यवस्था परिर्वतन भएर लोकतन्त्र आए पनि व्यवहार, आचरण र संस्कारमा त्यो प्रतिबिम्बित भएको छैन । जबसम्म राज्यसंयन्त्र वास्तविक अर्थमा पारदर्शी र जनउत्तरदायी हुँदैन तबसम्म संविधानमा लेखिनुमात्र ठूलो कुरा हुँदैन । यो बीपीको धारणामा पनि हो ।
 
बीपीले संविधानको विषयमा कागजमा लेखिएको कुरा खोस्टामात्र हुनसक्छ, राजा र जनशक्तिबीच कुरा मिल्यो भने त्यो संविधानको कुनै खासै अर्थ रहँदैन । राष्ट्रियता र लोकतान्त्रिक शक्ति एक भए मिलेर अघि बढ्न संविधान बाधक हुँदैन भन्नुहुन्थ्यो । 

संविधानसभाको कल्पना बीपीले २००६–२००७ सालको क्रान्तिको लागि घोषणापत्र तयार पार्दा उल्लेख गर्नुभएको थियो । राणा शासन ढलेपछि बालिग मताधिकारको आधारमा निर्वाचित विधान परिषद्द्वारा बनेको संविधानअनुसार शासन हुनेछ भनेर लेख्नुभएको थियो । त्यसअनुसार संविधान निर्माण हुनु पनि बीपीको एउटा चाहना र एउटा परिकल्पना पूरा भएको मानिन्छ ।

बीपीले भनेका कतिपय भनाइको असान्दर्भिक व्याख्या गरेर बीपीको बाटो छोड्यो भन्ने कसैलाई लागेको छ भने त्यो सही मूल्यांकन होइन । संविधान निर्माण भए पनि जुन सुकै राज्यसंयन्त्र होस् संसदीय मूल्य मान्यताले प्राथामिकता पाओस्, राजनीतिमा शुद्धता आओस्, जनताप्रति उत्तरदायित्वको भावना बढोस् भन्ने बीपीको कल्पना थियो, त्यो अनुभूति हुन सकेको छैन ।

आफू सत्तामा नगएको अवस्थमा पनि उहाँले सुझाव सल्लाह सरकारलाई राख्नुभएको थियो । तर, कतिपय कुराहरू रूचाइएन । त्यसबखत नरूचाए पनि मूल्यांकन गर्दा उहाँले तत्कालका आफ्नो राजनीतिक स्वार्थभन्दा पनि राष्ट्रको वृहत्तर हितलाई ध्यानमा राखेर कैयौं अप्रिय कुरा र अरूले आलोचना गर्न सक्ने कुराहरू साहसिक ढंगले राख्नुभयो । आफूले पनि त्यही अनुसारको व्यवहार गर्नुभयो । 

बीपीका अनुयायीहरूले राष्ट्रिय मेलमिलापसहित उहाँले अभिव्यक्त गरेका कुराहरू र त्यसको आसयलाई आत्मासात् गरेर आफूलाई लोकतान्त्रिक शासनतिर जनउत्तरदायी बनाउनु पर्छ । त्यसो गनए सके बीपीले राष्ट्रका लागि दिएको योगदान र उहाँले परिकल्पना गर्नुभएको समाज निर्माण गर्न असम्भव छैन । 

(वरिष्ठ पत्रकार हरिहर बिरहीसँग बाह्रखरीका रोमन आचार्यले गरेको कुराकानीमा आधारित)

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ०७:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro