site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
सन् २०२३ लाई कसरी सम्झिने ? एआईको तरंग, तातो वर्ष
गाजापट्टीमा इजरायली सैनिक । तस्बिर : एएफपी ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । अंग्रेजी नयाँ वर्ष सन् २०२४ को सुरुआतसँगै २०२३ का विश्वचर्चित केही घटनाक्रम लामो समयका निम्ति स्मरणीय बनेका छन् । तीमध्ये केही घटना राम्रा छन् । केही निकै दुःखद घटना छन् ।

कोभिड–१९ को महामारीले झड्का दिएको विश्व सन् २०२४ को आगमनसम्म पनि लयमा फर्कन सकेको देखिँदैन । महामारीपछि रुस र युक्रेनबीचको युद्धले विश्वलाई भूराजनीतिक र आर्थिक संकटतर्फ धकेल्यो ।

सन् २०१९ को अन्तिमतिरबाट महामारीका कारण सुरु संकट झेलेर आउँदा २०२३ जलवायु परिवर्तन, प्रवासी संकट, प्राकृतिक प्रकोप, भूराजनीतिक तथा तनाव, भोकमरी र अस्थिरताजस्ता समस्याको पनि साक्षी बनेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विज्ञान–प्रविधिका क्षेत्रको विकास र अरू प्रगतिलाई विश्व हल्लाउने ठूला संकटले निमोठ्दा आर्थिक र सामाजिक उन्नति जीर्ण अवस्थामा छ । यसको पछिल्लो उदाहरण इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व बनेको छ ।

संकटसँग जुध्दाजुध्दै पनि विश्वले कदम बलियो बनाएको छ । सन् २०२३ लाई यसरी सम्झन सकिन्छ–

Global Ime bank

भारत चन्द्रमामा पुगेको वर्ष
सन् २०२३ अगस्ट २३ मा भारतले पहिलोपटक चन्द्र धरातलमा आफ्नो यान अवतरण गराएको थियो । चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक यान अवतरण गराउने भारत पहिलो देश समेत बनेको थियो । चन्द्रमामा यान अवतरण गराउने रुस, अमेरिका र चीनपछि भारत चौथो देश हो ।

चन्द्रमामा अवतरण गराइएको केही दिनपछि भारतले सूर्यको अन्वेषणका निम्ति आदित्य–एल१ यानको प्रक्षेपण गरेको थियो । पृथ्वी र सूर्य दुवैको गुरुत्वाकर्षणको प्रभाव नहुने १५ लाख किलोमिटरको दूरीबाट आदित्य–एल१ ले विभिन्न खोजका निम्ति सूर्यको अवलोकन गर्नेछ ।

भारतले सन् २०२५ मा अन्तरिक्ष मानिस पठाउने लक्ष्य राखेको छ । सन् २०४० सम्म चन्द्र धरातलमा मान्छे उतार्ने भारतको लक्ष्य छ ।

अन्तरिक्षमा पर्यटन उडान
भर्जिन ग्यालेक्टिक कम्पनीले यो वर्ष व्यावसायिक हिसाबले मानिस पर्यटकका रूपमा अन्तरिक्षमा पठाएको छ । गएको अगस्तमा भर्जिन ग्यालेक्टिकले तीन पर्यकटलाई अन्तरिक्षमा उडाएको थियो । हाल चार लाख ५० हजार अमेरिकी डलर शुल्क तोकिएको यो उडानका निम्ति धेरै मानिसले टिकट काटेका छन् ।

१३.२ अर्ब वर्ष पुरानो ‘ब्ल्याक होल’ फेला
वैज्ञानिकले नासाको चन्द्र एक्सरे र जेम्स वेब स्पेस टेलिस्कोपबाट प्राप्त तथ्यांकको विश्लेषण गरी हालसम्म थाहा भएमध्ये ब्रह्माण्डको सबैभन्दा पुरानो ‘ब्ल्याक होल’ पत्ता लगाएका छन् ।

‘बिग ब्याङ’ घटनाको ४५ करोड वर्षपछिको उक्त ब्ल्याक होल आकाशगंगा तारापुञ्जमा रहेको ब्ल्याक होलभन्दा १० गुणा ठूलो रहेको बताइएको छ ।

दुई भाले मुसाको कोषिकाबाट सन्तान
जापानको ओसाका विश्वविद्यालयका वैज्ञानिक दुई भाले मुसाकै कोषिकाबाट सन्तान मुसा जन्माउन सफल भए । एउटा भोले मुसाको पुच्छरको छालाबाट निकालिएको कोषिकाबाट ‘एग’ र अर्काे भाले मुसाकै ‘स्पर्म’बाट वैज्ञानिकले सन्तान मुसालाई जन्म दिन सफल भएका हुन् ।

यसले पृथ्वीमा सुरुआती समयमा कसरी जीवहरूको उत्पत्ति भयो भन्नेबारे थप अन्वेषणको बाटो खुला भएको छ ।

यसै वर्ष वैज्ञानिक पृथ्वीको ‘मेन्टल’बाट ढुंगा निकाल्न सफल भए । यही वर्ष इभेन्ट होरिजन टेलिस्कोप सौर्यमण्डल अर्थात् हामी रहेको आकाशगंगा तारापुञ्जमै अवस्थित सैजिटेरियस ए नामक ब्ल्याक होलको तस्बिर खिच्न सफलता प्राप्त भयो ।

एआईले तरंग ल्याएको वर्ष
सन् २०२३ मा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईका क्षेत्रका व्यापक विकास र विस्तार भएको छ । खासगरी २०२२ को अन्तिमतिर (नोभेम्बर ३०) मा ओपनएआईले च्याटजीपीटी सार्वजनिक गरेसँगै २०२३ मा अनेकौँ किसिमका एआई प्रविधि विकास गरियो ।

माइक्रोसफ्टजस्ता ठूला कम्पनीदेखि विश्वकै धनाढ्य एलन मस्क विभिन्न किसिमका जेनेरेटिभ एआई टुलको विकासमा लागे । देशहरूबीचको प्रतिस्पर्धाको कुरा गर्दा चीनले पनि आफ्नो एआई उपकरणको विकास गर्‍यो ।

सन् २०२३ मा सोधेका प्रश्नको जवाफ दिने च्याटजीपीटी, गुगल बार्डदेखि लेखेका आधारमा फोटो बनाउनेजस्ता एआई टुलको विकास गरिँदा विश्वभरकै इन्टरनेट प्रयोगकर्ताले एआईलाई नजिकबाट महसुस गर्न पाए । जसको प्रभाव नेपालमा समेत राम्रो रह्यो ।

नीति–निर्माताले एआईको सुरक्षाका सन्दर्भमा काम गर्न थालेका छन् । यो क्षेत्रमा लगानी र बजार बढ्दै गएको छ ।

मान्छेको दिमागमा चिप राख्न अनुमति
अमेरिकी न्युरोटेक्नोलोजी कम्पनी न्युरालिंकले मस्तिष्क र कम्प्युटरबीच अन्तरक्रिया गराएर पक्षाघात भएका मासिनलाई चल्न सक्ने बनाउने लक्ष्य राखेको छ । सोहीअनुसार काम गरिरहेको न्युरालिंकलाई अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)ले परीक्षणका निम्ति पक्षाघात भएका मानिसको मस्तिष्कमा चिप राख्न अनुमति दिएको हो ।

हालसम्मकै तातो वर्ष
वैज्ञानिकले सन् २०२३ रेकर्ड राख्न थालेयताकै तातो वर्ष हुने बताएका छन् । जुनदेखि नोभेम्बरसम्मका महिना रेकर्ड राखेयताकै तातो भएको छ । सोही कारण सन् २०२३ पनि सबैभन्दा तातो वर्ष बन्ने भएको हो ।

केही दिनमा तथ्यांकले पुष्टि गरेसँगै सन् २०२३ मानिसले तापक्रम नापेर रेकर्ड राख्न थालेको १७४ वर्षयताकै तातो र गणितीय हिसाबले एक लाख २५ हजार वर्षयताकै तातो हुने बताइएको छ ।

इजरायल–प्यालेस्टाइन युद्ध
सन् २०२३ मा भएको विध्वंसात्मक घटना हो, इजरायल–प्यालेस्टाइन युद्ध । गाजा क्षेत्रको हमास लडाकुले अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्‍यो । उक्त आक्रमणमा विभिन्न देशका करिब एक हजार २०० जनाले ज्यान गुमाए ।

त्यसको बदलामा इजरायलले गाजामा भीषण आक्रमण गर्‍यो । हालसम्म जारी यो युद्धमा गाजाले ठूलो क्षति व्यहोरेको छ । २० हजारभन्दा बढी नागरिकले ज्यान गुमाए । ५० हजारभन्दा बढी मानिस घाइते भएका छन् ।

गाजाका ७० प्रतिशत घरहरू ध्वस्त भइसकेका छन् । २२ लाख जनसंख्यामा १५ लाख घरबारविहीन भएका बताइएको छ ।

रुस–युक्रेन युद्ध जारी
रुसले सन् २०२२ फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको युद्ध २०२३ मा पनि साम्य हुन सकेन । रुसले चार युक्रेनी प्रान्त कब्जा गरेको छ । युक्रेन ती फिर्ता ल्याउने प्रयासमा लडिरहेको छ ।

यो युद्धमा रुसीतर्फबाट नेपाली नागरिक समेत संलग्न रहेको र केहीले ज्यान गुमाएको पुष्टि भएको छ । युद्धमा दशौँ हजार नागरिकले ज्यान गुमाएका छन् । घाइते हुनेको संख्या पनि लाखमा छ । कैयौँ मानिस विस्थापित भएका छन् ।

ब्रिक्सको विस्तार
ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाबीचको संगठन ब्रिक्सले सन् २०२३ मा नयाँ सदस्यलाई स्वागत गरेको छ । खासगरी ग्लोबल साउथका निम्ति एकजुट भएर काम गर्ने उद्देश्यको यो ठूलो संगठनको विस्तार र सक्रियता बलियो रहेमा विश्वको भूराजनीतिक परिदृष्यमा नयाँ दृष्टिकोण आउने टीकाटिप्पणी गर्ने गरिएको छ ।

साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (यूएई), इरान, इजिप्ट र इथियोपिया ब्रिक्सका नयाँ सदस्य बनेका छन् । थप मुलुक पनि ब्रिक्समा सामेल हुनेक्रममा छन् ।

अन्तर्राष्ट्रिय व्यापारमा अमेरिकी मुद्रालाई चीनले उछिन्यो
सन् २०२३ मा चीनको अन्तर्राष्ट्रिय भुक्तानीमा चिनियाँ मुद्राले अमेरिकी डलरलाई उछिनेको छ । गएको मार्चमा चीनमा सीमापार भुक्तानीका निम्ति सबैभन्दा बढी प्रयोग गरिने मुद्रा चिनियाँ युआन बनेको हो ।

चीनले आफ्नो मुद्रालाई अन्तर्राष्ट्रियकरण गर्न र अमेरिकी डलरको प्रभुत्वलाई चुनौती दिन युआनको प्रयोगलाई प्रवद्र्धन गर्दै आएको छ ।

चीन मात्र होइन, रुस, ब्राजिललगायत मुलुकले पनि विश्वबजारमा अमेरिकी मुद्राको वर्चस्व मेटाउन खोजेका छन् । एजेन्सीको सहयोगमा

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !