प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व गरेको एक वर्ष पुगेका अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरे । ०७९ पुस १० गते एमालेको जगमा बनेको सरकार छोटो समयमा गठबन्धन फेर्दै कांग्रेस सहकार्य गर्दै एक वर्षे अवधि पूरा गरेको छ ।
प्रमुख प्रतिपक्षी एमालेका उपमहासचिव विष्णु रिमाल सरकार एक वर्ष टिक्नु नै ठूलो उलब्धि भएको बताउँछन् । उनी जनताको मनोवल बढाउन आवश्यक देख्छन् । बाह्रखरीका रमेश वाग्ले र कुञ्जरमणि भट्टराईले सरकारको एक वर्षका सन्दर्भमा रिमालसँग गरेको कुराकानी :–
–प्रधानमन्त्रीले त सरकार हरेक कोणबाट सफल भएको दाबा गरिरहनु भएकै छ, प्रमुख प्रतिपक्षको आखाबाट यो सरकार कस्तो छ ?
यो सरकार टिक्नु नै ठूलो भएको छ, उहाँहरुका लागि । उहाँहरुले टिक्ने कार्यक्रम मात्रै गर्नुभएको छ । सरकारले के गरेको भए सय दिन पुग्दा यति गरेँ भन्थ्यो । दिन–दिनको हिसाब गरेर यति गरी भन्दै जान्थ्यो । सरकारले केही गरेकै छैन ।
सरकारलाई चल्नु मात्रै छ । उसका लागि बाँच्नु नै ठूलो कुरा भएको छ । गएको पुस १० गते हामीले पुष्पकमल दाहालजीलाई प्रधानमन्त्री बनाइदियौं । यत्रो अवधिसम्म टिक्नुभएको छ ।
केही गर्न सक्ने ल्याकतै राख्दैन । ल्याकतै नराखेपछि के टिप्पणी गर्नु ? प्रतिपक्षीबाट हेर्दा सरकार हुनु र नहुनुको अर्थ छैन ।
सरकार हुनुको अर्थ बनाउन नसके पनि भएका कुरा बिग्रन नदिएको भए राम्रो हुन्थ्यो । सरकार छ, प्रधानमन्त्री हुनुहुन्छ । गाडी, झण्डा, गार्ड छन् । तलब खर्च भएको छ । त्यसैले सरकार छ ।
सार्वभौम सत्तालाई बलियोे बनाउन सकेको छैन, गर्वले शीर उठाउने काम केही गर्न सकेन । प्रधानमन्त्रीज्यूले यति बैठक बसेँ र निर्णय गरेँ भन्नुहोला । त्यसको परिणाममा अनुभूत हुनुपर्यो । अनुभूत हुने कुरा छैन ।
–गएको पुस २६ मा विश्वासको मत लिँदा प्रधानमन्त्रीले प्रत्येक पटक आफ्नै रिपोर्ट कार्ड लिएर आउँछु भन्नुभएको थियो । त्यतिबेलाको अनभूति र अहिलेको मूल्यांकन कस्तो छ ?
पुस १०–२६ गतेसम्म पुग्दा प्रधानमन्त्री धेरै पर पुग्नुभएको थियो । उहाँले राजनीतिक इमान देखाउने काम गर्नुभएन ।
उहाँ प्रधानमन्त्री मात्रै बन्न चाहनुहुन्थ्यो । राजनीतिलाई शुद्ध बनाउने बाटोमा हुनुहुन्नथ्यो । खासकारणका लागि माओवादी आन्दोलन गरेको हुँ भन्ने व्यक्ति त्यसमा हुनुहुन्थेन । निजात्मक कुरामा लागिसक्नुभएको थियो ।
पुस २६ गते नै उहाँले के बोल्दै हुनुहुन्छ भनेर हामीले हिसाब गरिरहेका थियौं । त्यतिखेर ‘इस्यु’ विषायान्तर गर्न खोजिएको थियो ।
राष्ट्रपति बनाउन कोपर्न, चिथोर्न खोजियो भन्ने बहानाबाजी सुरु भएको थियो । उहाँ प्रधानमन्त्री नबन्ने भएपछि झुकेर हामीकहाँ आउनुभएको रहेछ ।
फेरि पुरानै मित्रतामा फर्कनुभयो । अर्को पार्टीको नेताले गरेको काममा हामीले के चित्त दुखाउनु ? हामीले राजनीतिलाई सिधा पार्न खोजेका थियौं । उहाँले आफ्नै तरिकाले लैजानुभयो ।
–एक वर्षेकालमा एमाले पनि सरकारमा करिब दुई महिना बस्यो । त्यतिबेलाको कामको जस– अपजस एमालेले लिने कि नलिने ?
दुई महिना ‘ट्रान्जिसनल’ समय थियो । सभामुख, उपसभामुख, राष्ट्रपति, उपराष्ट्रपतिको चुनावको समय थियो । पावर एक्सरसाइजको समय थियो ।
कानुनी हिसाबले हेर्दा माघ लाग्दा नलाग्दा नै हाम्रो समझदारी टुटिसकेको अवस्था थियो । यतिखेर सुवास नेम्वाङजी जीवित हुनुहुन्न । धेरै कुरा गर्न पनि मन छैन । हामीले अन्तिम समयमा नाम सार्वजनिक गर्यौं । राष्ट्रपतिबारे अन्दाज र अड्कलबाजी धेरै भए ।
सुवास नेम्वाङजीले वर्तमान प्रधानमन्त्रीसँग आफ्नो उमेदवारीको निम्ति कुरा गर्न खोज्दा उहाँले नोमिनेसन गरेको दिउँसोमात्रै आकस्मिक भेट भयो ।
भेटका लागि भोलिपल्ट समय पाउनुभएको थियो । हामी प्र्रत्यक्ष संवादमा थियौं, उहाँहरु भागिरहनुभएको थियो । हामी अन्तिम समयसम्म चुपचाप बस्यांै । त्यो अवधिमा पनि खासै काम भएन । उहाँले दिन गुजार्ने काम गर्नु भयो । हाम्रा मन्त्रीहरुले काम गर्ने प्रयत्न गर्नुभयो ।
त्यतिबेला परराष्ट्रमन्त्रीलाई अपमानजनक ढंगले मानवअधिकार सम्बन्धी बैठकमा जानबाट रोक लगाउने काम भयो । अनधिकृत व्यक्ति पठाउने काम भयो । हाम्रो मान्छे गयो कि गएन भन्ने कुरा होइन । देशले प्रतिनिधित्व गर्ने ठाउँमा अनाधिकृत व्यक्ति जाने गलत काम थियो । त्यसपछि हामीले सरकार छाडेका हौं ।
हामी मध्यावधिको चक्कर नहोस्, जनतामा निराशा नआओस् । राजनीति संक्रमणकालमा गयो भन्ने सन्देश नआओस् भन्नेर चूप लागेका थियौं ।
अर्थतन्त्र चौपट थियो, अझै पनि बनेको छैन । मन्त्रीहरुले सुधार भयो भन्ने कुरा गर्नुुहुन्छ, त्यो छुट्टै हो ।
–अर्थतन्त्रका इन्डिकेटर मात्रै हेर्दा सुधार होला कि ?
इन्डिकेटरले मात्रै बताउँदैन, व्यापारी, व्यवसायीको मनोवल खस्केको छ । खस्केको मनोवललाई बल दिन नसक्दासम्म उठ्दैन । राष्ट्रको मनोवल त ब्यक्ति–ब्यक्तिको मनोबल हो नि । कमजोर मनोवलको राष्ट्रलाई छिमेकीले हेप्छन् ।
राष्ट्र बलियो बन्न जनताको, व्यवसायीको मनोवल बढ्नुपर्छ । त्यो बढाउने काम सरकारको हो ।
–यो सरकारले भइरहेको बिगार्या भन्नुभयो, कहाँ–कहाँ बिग्रिएका हुन् ?
पहिलो, छिमेक सम्बन्ध बिग्रेको छ । छिमेक सम्बन्ध सरकारमा बस्नेलाई प्रतिकूल हुने किसिमको छ ।
दाया लाग्दा होस् बाया, कतै पनि लाग्नुहुँदैन । नेपालले स्वार्थ मिल्दो काम गर्ने हो । सबै राष्ट्रको सहयोग लिन तयार हुनुपर्छ ।
कुनै छिमेकीले यसको लेऊ, उसको नलेऊ भन्ने कुरा राम्रो मान्न हुँदैन । हामी जस्तो स्रोत कमी भएका मुलुकले सबै मित्रराष्ट्रहरुले दिएको स्रोत लिनुपर्छ, राष्ट्रिय स्वाभिमानलाई तल–माथि नपर्ने गरी लिनुपर्छ । त्यो मामिलामा सरकार चुकेको छ ।
दोस्रो, कुनै नयाँ परियोजना सुरु भएको पाइँदैन । पहिले बनेका परियोजनामा बजेट छैन । उदाहरणका लागि हामीले झुलाघाट– चिवाभञ्ज्याङ भ्रमणका क्रममा सुनकोशी मरिन डाइभर्सनको परियोजना हेर्यौं ।
समयभन्दा अघि उहाँहरुले काम गर्नुभएको छ । त्यहाँको बिफ्रिङ अनुसार उहाँहरुलाई १०–११ अर्ब चाहिएको रहेछ । सरकारले चार अर्ब भन्दा बढी बजेट छुट्याएको छैन । पैसा छुट्याएन भनेर ढिला काम गर्दा कम्पनीलाई क्षतिपूर्ति तिर्नुपर्छ ।
क्षतिपूर्ति तिर्दा पनि छिटो काम नगर्दा पनि राष्ट्रलाई नै घाटा छ । यसबारे सरकारले केही सोचेको देखिँदैन । सुनकोसी मरिन जस्तै थेरै ठाउँमा कामहरु लथालिङ्ग छन् । लथालिङ्ग हुनु मुलुकको क्षति नै हुनु हो । नयाँ अनावश्यक ठाउँमा पैसा खर्च भएको छ । त्यो पनि निश्चित नेताको निर्वाचन क्षेत्र आधारित भएको छ ।
तेस्रो, अर्थतन्त्रलाई सुधारको बाटोमा लैजानुपर्ने हुन्थ्यो । सुधारको बाटोमा लैजाने प्रयत्न भएन । आफैं जे बनेको छ, त्यसैलाई बनेको छ भन्ने कुरा हो । रेभिन्यु, रेमिटेन्सलगायत सबै इन्डिकेटरले उत्साहको ठाउँ दिँदैन ।
हामीले उठेको राजश्वबाट पनि अन्दाज गर्न सक्छौं । साउनमा नै आन्तरिक ऋण लिएर कर्मचारीलाई तलब खुवाउनुपर्ने ठाउँमा पुग्यौं । दिनानुदिन संकलन भएको राजश्वबाट प्रशासन चल्न सक्ने स्थितिमा छैन ।
हामीले प्रणालीको सुरुआत गरेका थियौं । ३९६ अस्पतालको शिलान्यास फलानो पार्टीले गरेको भनेर रोक्ने काम गरियो । त्यसबाट मुलुक पछि पर्यो होला नि ।
जसले चुनाव जित्छ उसले पाँच वर्ष पछि त्यही काम गर्नुपर्छ होला नि ? बनिरहेको प्रणालीमा प्वाल पार्ने काम उहाँहरुले गरिरहनुभएको छ । कृषिमा पनि भूमि ब्यांकमा जाऔं भनेका थियौं । ती योजना भत्किए । १० वर्षका लागि तयार गरिएको प्रधानमन्त्री कृषि आधुकिकरण कार्यक्रम लथालिङ्ग छ ।
सरकारलाई यता ध्यान दिन फुर्सदै छैन । प्रधानमन्त्रीको ध्यान भोलि ३६६ दिन भयो भन्दै दिनगन्तीमा हुनुहुन्छ । अब कतिदिन चल्ने हो । सायद, उहाँको सहयात्रीले यति दिन पछि म हुन्छु भनेर यात्रा गरिरनुभएको होला । यही खेतीमा उहाँहरु लागिरहनुभएको छ ।
मुलुकमा जसले चलाए पनि सरकार त चाहिन्छ । जसले चलाए पनि मुलुकमा केही दिओस् न त भन्ने हाम्रो कुरा हो ।
–सरकारले ठूला काण्डको पर्दाफास गरेको दाबी प्रधानमन्त्रीको छ नि !
सुन तस्करी गर्नुपर्ने रहेछ, अनि जलहरीमा हल्ला गर्न थाल्नुभयो । उता सुन ल्याउनुभयो, पछि सेटिङ नमिलेर होला बाहिर आयो ।
मिडियामा सुन तस्करी बढेको छ भन्ने समाचार आएका छन् । हाम्रै समयमा मातृत्व संरक्षणका लागि सुत्केरी महिलालाई हेलिकप्टरबाट ल्याउन सुरु गरेका थियौं । त्यस्तो हेलिकप्टर तस्करीमा प्रयोग भएको छ भन्ने सुनेको छु । सत्य हो कि होइन सरकारले जवाफ दिनुपर्छ ।
काण्डै काण्डले पर्दाफास गरेँ भन्ने प्रधानमन्त्रीको नाकैमुनि त्यो भएको छ भने ख्याल गनुपर्दैन र ? भुटानी शरणार्थी काण्डमा समातिएका मान्छे ठीक थिए भने अहिले किन छुटेका ? गलत थिए भने किन नथुनिएका ?
अड्डा अदालतलाई दायाबाया गरेर सुशासनको झल्को दिन सकिँदैन । हाम्रो सरकारका बेला विकासबाहेक केही कुरा गरेका थिएनौं ।
होलसेलमा खराब भनेर चित्रित भएका थिएनौं । यो सरकार होलसेलमै सही छ भनेर चित्रित भएको भए मानिसको मनोबल ह्वातै उठ्नुपर्ने किन कमजोर भइरहेको छ ? यसको जवाफ सरकारले दिनुपरेन र ? हामी विपक्षीमा छौं ।
हामी त चिवाभञ्ज्याङको यात्रा गरिरहेका छौं । उहाँहरुलाई काम गर्न दिएका छौं । गरे भयो नि ।
–सरकारका सन्दर्भमा एमाले के गर्दैछ ?
सरकारको सवालमा एमालेको चासो छैन । हामी त मिसन–०८४ भन्दा पनि गाली खाइरहेका छौं । नेपाली कांग्रेसका नेताहरुले नै भनिरहनुभएको छ, के को मिसन–०८४ ? उहाँहरु नगर्नुुस् न । हामी गर्छाैं ।
हामीलाई मुलुकको चिन्ता छ । हाम्रो सरकारमा चासो छैन । हामी एउटै शक्ति बलियो होस् भन्नेमा छौं । नेपालको राजनीति दुई ध्रुवमा छ । एउटाको नेतृत्व आजसम्म कांग्रेसले गर्छ, अर्कोको हामीले गर्छौं । प्रतिस्पर्धा यी दुईवटा पार्टीका बीचमा हुने हो भन्ने हाम्रो विश्वास छ । मुलुक संकटमा पर्दा दुई पार्टीबीच सहकार्य पनि हुनुपर्छ ।
समझादारीमा चल्ने हो भने सरकारमै रहनुपर्छ भन्ने होइन । अरु भनेको मेरो बुझाइँमा च्याखे थाप्ने हुन् । कांग्रेसको नेतृत्वकै सरकार भनौं, प्रचण्ड कमरेड प्रधानमन्त्री भए पनि । त्यसमा कांग्रेसले ठिक मानेको छ भने जनताले हेरेका छन् ।
हामी चुनावमा कांग्रेसको नेतृत्वमा यस्तो हुन्छ, हाम्रो नेतृत्वमा यस्तो हुन्छ भनेर भनौंला नि ।
–देश संकटमा गइरहेको चिन्ता राखेर अरु जिम्मेवार पार्टीसँग सहकार्य किन नगर्नुभएको त ?
जिम्मेवार पार्टी भनेको कुन हो ? एकातिर एमाले छ, अर्को गठबन्धन छ । हामी भन्दा बाहेकको पोल नेपाली कांग्रेस भन्नुभएको होला ।
कांग्रेसलाई यही ‘कम्फर्टेबल’ छ । हामीले त सामान्यतः ठूला पार्टी एउटै सरकारमा बसिँदैन, तर कहिलेकाहीँ अफ्ठ्यारो पर्दा मिलेर जानुपर्छ भन्यौं । उहाँहरुले मान्नुभएन । यो सरकार कांग्रेसको हो भन्ने बुझेका छौं । उसको सरकार हो भने सबै जवाफ दिनुपर्छ । जनताको मनोवल गिरेको छ, मुलुकको मनोवल गिरिरहेको छ भनेर हामीले भनिरहेका छौं ।
हाम्रो भनाइ सही लाग्छ भने नेपाली कांग्रेसले संवाद गर्नुपर्यो । हामीलाई सरकारमा लैजानुस् भनेका छैनौं । ठिक ढंगले चलाउनुस् भनेका छौं ।
–केही अघि सुरु भएको सरकार फेरबदलको संवाद अघि बढ्न सकेन ?
संवाद त भइरहेको छ नि ! हिजो मात्रै शेरबहादुरजी र प्रधानमन्त्रीसँग भयो, टीआरसीको बिषयमा बोलाउनुभयो । हामी गयौं । इस्युमा छलफल गर्ने हो । मुलुकमा लोकतन्त्र, गणतन्त्र, संविधानको विपक्षमा होहल्ला गर्दा सरकार आरामसँग बस्यो ।
सायद, प्रणाली जोगाउने ठेक्का पनि हाम्रै रह्यो । जसको अंक बढी हुन्छ उसले सरकार चलाउँछ । सरकार चलाउनेले राज्यको जिम्मा लिएको छैन । हामी बाहिर बसेकाले राज्य र प्रणालीको जिम्मा लिएका छौं । राज्य ध्वस्त नहोस् भनेर ।