शान्ताराम दाइको ओठमा मुस्कान दौडियो । खाँदाखाँदैको चियाको गिलास टेबलमा राख्दै बाटोतर्फ हेरेर चिच्याए, “पुण्यप्रसादजी !”
हामीसँग बसेर बिहानी गफ गर्दागर्दै शान्ताराम दाइले बोलाएको मान्छेतिर हाम्रो पनि ध्यान गयो ।
“आहा, यसरी देख्न पाइने रहेछ है ! धेरै वर्ष भयो है हामी भेट नभएको, कसरी चिन्न सकेको ?” नयाँ मान्छेको अनुहारमा शान्ताराम दाइभन्दा बढी खुसी दौडेको अनुभव गर्न सकिन्थ्यो ।
“३५–४० वर्ष भयो नि, साथीको त हिँडाइले नै चिनियो नि !,” शान्ताराम दाइले भने ।
ज्यादै हतारमा भएका पुण्यप्रसादजीले छोटो समयमा धेरै कुराको जानकारी लिए शान्ताराम दाइसँग । शान्ताराम दाइले पनि छोराछोरी, व्यापार–व्यवसाय, दैनिकी र ससुरालीसम्मका जानकारी लिए ।
फोन नम्बर आदानप्रदान गर्दै छिट्टै भेट्ने वाचा गरेर एकपटक कसिलो अंकमाल गरेर छुट्टिए । पुण्यप्रसाद टाढा पुगेसम्म शान्ताराम दाइले हेरिरहे ।
परको मोड कटेर देखिन छाडेपछि शान्ताराम दाइले भने, “हाम्रा दिन सकिन लागेछन् अब !”
“हैन, के भयो दाइ ?,” गिलासको अन्तिम घुट्को चिया घुटुक्क निल्दै मैले सोधेँ ।
“हेर्नु, अघि आउने पुण्यप्रसादजी र म एउटै साल र महिनाका हौँ, स्कुल जानुभन्दा अगाडिका साथी । हामी स्कुलमा पनि सँगै पढ्यौँ । ल, अहिले हेर्नुहोस् त कति खिङ्ग्रिङ्ङ बुढा देखिएका,” शान्ताराम दाइले बेलीविस्तार लाए ।
राकेशले मतिर हेर्यो र शान्ताराम दाइको अनुहारमा हेर्दै भन्यो, “हामीले हेर्दा त अघि आउने पुण्यप्रसादजीभन्दा त हजुर नै पो बढी बुढो देखिनुहुन्छ त !”
(कास्की)