site stats
बाह्रखरी :: Baahrakhari
देश
नारायणगढ–मुग्लिन सडक चार घण्टा बन्द हुने, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह  
प्रतीकात्मक तस्बिर

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहनेछ । 

भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर काम गर्न लागिएको हो । चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०ः४० बजेसम्म चलाउन पाइने छ भने मालवाहक सवारी साधन भतेरी जंगलदेखि रामनगरसम्म बिहान १०ः३० बजेसम्म मात्र चलाउन पाइनेछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौंबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म बिहान १०ः५५ सम्म तथा मालवाहक सवारी सधान १०ः४५ सम्म मात्र चलाउन पाइने सूचना अधिकारी आचार्यले बताए ।  

पोखरातर्फबाट आउने यात्रुवाहक सवारी साधनलाई बिहान १०ः५५ बजेदेखि बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधनलाई बिहान १०ः४५ बजेदेखि सत्रसय फाँटमा रोकिनेछ । पहिलो चरणमा तीन हप्ताका लागि सडक बन्द गरेर भित्तो काटिने छ । गत वर्ष भित्तो काटिएको भए पनि कडा चट्टान भएकाले काम गर्न कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो । बिस्फोटको अन्तिम तयारी गर्दैगर्दा पुनः एकपटक सडक बन्द गरेर काट्ने तयारी गरिएको आचार्यले बताए ।  

साठी मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । बाँकी ३५ मिटर सडक अब काट्न लागिएको आचार्यले बताए । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन चल्ने गर्छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चार घण्टा सवारी साधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । ट्राफिक जाम हुन सक्ने भएकाले सम्भव भएसम्म वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरिएको छ । रासस

प्रकाशित मिति: शनिबार, पुस ७, २०८०  ०७:२३
प्रतिक्रिया दिनुहोस्