site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
क्रिस्चियनको प्रतिरक्षामा उत्रँदा आलोचित बनेका पर्यटनमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । “क्रिस्चियनलाई मान्दिनँ भन्नु संविधान मान्दिनँ भन्नु हो । संविधान मान्दिनँ भन्ने देशद्रोही हुन्, यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाएर जेल हालिदिने हो ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको यो भनाइ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । यही भनाइका कारण उनको राजीनामा माग्ने क्रम पनि बढिरहेको छ ।

क्रिस्चियन धर्मावलम्बीहरूले क्रिस्मसको सन्दर्भमा प्रज्ञा भवनमा बुधबार आयोजना गरेको कार्यक्रममा पर्यटनमन्त्रीले राजनीतिक भाषण गरेका थिए । उनी क्रिस्चियन धर्मावलम्बीहरूको प्रतिरक्षामा उत्रिएका थिए । उनको भाषणबाट सुरवातदेखि नै सहभागीहरू उत्साहित बनेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“मलाई यहाँ सोधियो, तपाईं यहाँ आएको समाचार लेखौँ कि नलेखौँ ?,” मन्त्री किरातीले भने, “अझै पनि तपाईंहरूमा रहेको डरको अभिव्यक्ति हो, त्यो । यो देश विभिन्न फूलहरूको फूलबारी हो, म त्यसको माली हुँ ।”

मन्त्री किरातीले अभिव्यक्ति दिने क्रममा अघि–पछि भने मिलाउने प्रयास गरेका थिए । उनले सबै धर्म राज्यका नजरमा समान हुनुपर्ने भन्दै 'कान्छी औँला काट्दा र ठूली औँला काट्दा बराबरी दुख्नुपर्ने' बताएका थिए ।

Global Ime bank

“समाजवादउन्मुख संविधान झोलामा बोकेर हिँड्ने, एक धर्म मान्ने, अर्को धर्ममाथि दमन गर्ने ठूला अधिकारीहरू पनि छन् । तिनलाई कस्सिएर आज भन्नुपर्छ– ती सब मुर्दावाद !,” किरातीले भने, “नेपाल बहुधार्मिक राज्य हो । यो संविधानले स्वीकारेको कुरा हो । मैले भनेको कुरा होइन । ०७८ को जनगणनामा नेपालमा १० वटा धर्महरू छन् भन्ने तथ्यांक छ ।”

यति भनेपछि उनले अगाडि भनेका थिए, “नेपालमा तीन करोड जनसंख्यामा आज लाखौँ क्रिस्चियनहरू भइसकेका छन् । त्यो संविधानको अधिकारलाई प्रयोग गर्दै, संवैधानिक अधिकारलाई मान्दै भएका हुन्,” मन्त्री किरातीले भने, “क्रिस्चियनलाई मान्दिनँ भन्नु संविधान मान्दिनँ भन्नु हो । संविधान मान्दिनँ भन्ने देशद्रोही हुन्, यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाएर जेल हालिदिने हो ।”

यसो भनिसकेर उनले विश्वमा धार्मिक जनसंख्या ८५ प्रतिशत रहेको र बाँकी १५ प्रतिशतले धर्म नमान्ने भन्दै धार्मिक समुदायको ठूलो संख्या क्रिस्चियन भएको बताएका थिए । 

“यो मैले भनेको होइन, तथ्यांकले देखाउँछ विश्वमा सबैभन्दा ठूलो धार्मिक जनसंख्या क्रिस्चियनकै छ,” मन्त्री किरातीले भने, “लगभग ३० प्रतिशत भन्दा बढी धार्मिक जनसंख्या क्रिस्चियनको छ । संसारले मान्ने अनि हामीले चाहिँ नमान्ने ?” 

मन्त्रीको रूपमा प्रमुख अतिथि बनेका किरातीले क्रिस्चियनलाई दिएको बिदा आधा भएकोमा असन्तुष्टि जनाए । उनले कि अरूको पनि कटौती गर्नुपर्ने नभए क्रिस्चियनलाई पनि पूरा बिदा दिनुपर्ने बताएका थिए ।

“कि त पूरै दिनु, के गरेको यो आधा बिदा, यो मलाई नै प्रश्नमै छु सरकारमा,” किरातीले भने । 

त्यति भनेपछि मन्त्री किरातीले विगतमा क्रिस्चियनमाथि अन्याय हुने गरेको बताएका थिए । “तपाईंले याद गर्नुभएको छ, राजाले बनाएको बिल्डिङमा हुनुहुन्छ तपाईं । एउटा जाति एउटै भेष, एउटै राजा एउटै देश ! क्रिस्चियनलाई भेट्यो भने खैनी माडेझैँ माडिदिन्थ्यो ।”

“उनीहरूले मनोरञ्जन गर्ने ठाउँमा आज हामी सशक्त आवाज, क्रिस्चियनको दर्शन, व्याख्या गर्ने वकालत गर्ने मञ्चमा त आइपुग्यौँ त । हिजो कसैले क्रिस्चियनको 'क' मात्रै उच्चारण गर्दा उसको हालत के हुन्थ्यो हामी सबैलाई थाहा छ त । विजय त क्रमश: हुँदै छ !,” थप उत्साहित हुँदै किरातीले भने, “हामी चाहन्छौँ भ्यागुताले छिचिमिरा खाए जस्तै विजय भएको भए ख्वाप्पै खाइहालिन्थ्यो । सर्पले भ्यागुता खाएजस्तै विजय हुँदै छ, विस्तारै निल्दै छ । तर, तपाईं हामी जस्तो अग्रगामीहरू कमजोर भयौँ भने हामीलाई खान्छ उल्टै फेरि । तपाईं हाम्रो यहाँ पाइला त के गन्ध पनि मन पराउँदैनन् । त्यसैले हामी एकजुट हुनुपर्ने जरुरी छ ।”

त्यसो भनिसकेपछि अग्रगामी, प्रगतिशील र संविधानका पक्षपातीहरू एकजुट हुनुपर्ने भन्दै मिलाउने कोसिस गरेका थिए । 

“हामी कमजोर भयौँ भने बिदा त के नेपालमै बस्न नपाउने अवस्था पनि आउन सक्छ,” किरातीले भने । 

उनले अहिलेको सरकार चुनावबाट मात्र नभएर व्यवस्था बदलेर आएको भन्दै धर्म निरपेक्षता पनि विद्रोहकै परिणाम भएको बताए । 

“सरकारमा बसिरहेका हामीहरू बिल्कुल चुनाव लडेर आएको होइन । हामी त राज्य व्यवस्था फेरेर आएको हो । त्यही पनि वार्ता संवाद र संघर्षबाट मात्र होइन, परियो भने बलि दिन तयार भएको हो । १७ हजार झुन्डिए, झुन्ड्याइए । कसैले हामीलाई किस्तीमा राखेर धर्म निरपक्षता दिएको होइन,” किरातीले भने, “तर, अहिले केही धार्मिक अतिवादीहरू लागेका छन् । फेरि पनि एउटै जाति एउटै देश, एउटा भाषा एउटै भेष भन्नेहरू सडकतिर कराउँछन् ।”

उनले सडकमा आएकाहरूलाई 'हापसिला' भन्ने गरेको भन्दै अहिले पनि 'हापसिला'हरू कराउन थालेको बताए ।

“हाम्रोतिर हापसिला भन्छन् त्यसलाई । पश्चिमतिर के भन्छ ? हापसिला करायो भने गाउँमा अप्रिय हुन्छ भन्ने विश्वास पूर्वतिर छ । फ्याउरोहरू कराउँदै छ,” दुर्गा प्रसाईंको आन्दोलनतर्फ संकेत गर्दै उनले भने, “पूर्वतिर हाहाहुहू हापसिला कराउँदै थिए, कराउँदै गराउँदै बल्खु पुगेछ, तितरबितर हुँदै सिफल पुगेछ, अनि भक्तपुर हुँदै फर्किएर आफ्नै ओढार गएछ । नेपाली जनताले अस्वीकार गरिसक्यो ।”

किरातीले नेपालमा सदियौँदेखि धार्मिक संहिष्णुता र सहअस्तित्व कायम रहेको भन्दै अहिलेका अतिवादीले मात्र त्यो बिर्सिएको बताए ।

“इलामको माई पोखरीमा किरात, हिन्दु र बुद्धिस्टले एकै ठाउँमा पूजा गर्छ, अचम्मको कुरा । संसारमा कहाँ छ क्या त्यस्तो । खोटाङको हलेसीमा त्यस्तै छ, सबैले पूजा गर्छ एकै ठाउँ ।  मुक्तिानाथमा गयो, बुद्धिस्ट र हिन्दुले एकैठाउँ पूजा गर्छ । पशुपतिमा गएको पशुपति महादेवसँग त गुम्बा स्तुपा किरातेश्वर पनि रहेछ,” किरातीले भने, “ऊ कालदेखि चाहिँ मिल्ने, अहिलेका फटाहरूलाई जनता जुधाउनका निम्ति, देश फुटाउनको निम्ति, कसैको दाल नुन खाएर लाग्नेहरूबाट हामी होसियार हुनैपर्छ ।”

उनले त्यसो भनेर सबै जाति र समुदाय भेट हुने स्थान निर्माण गर्नुपर्ने बताए ।

“म त भन्दै छु आउने बजेटसम्म (प्रधानमन्त्रीलाई एकपटक भने पनि सके) मध्यपहाडी लोकमार्गको आसपास एउटा सांस्कृतिक महारेखाको अवधारणा ल्याऊँ, जहाँ सबै जतजाति र आस्थालाई प्रबर्धन गरौँ, जहाँ सबै मानिसहरू भेट होऊन्,” किरातीले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय