काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल खरिद–बिक्री प्रकरणमा आफ्नो र परिवारको नाम जोडेर गणतन्त्रमाथि हमला गरिएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा एनसेल प्रकरणमा उनको परिवार जोडिएको भन्ने विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफमा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
“मसँग जोडेर प्रचार भयो । गिरिजाबाबुले धमिजा काण्डजस्तै प्रचण्डले एनसेलमा ४८० गुणा बढी भ्रष्टाचार गरेको छ भनिएको छ, यो स्थापित हुँदैन,” उनले भने, “मेरो परिवारको सदस्यलाई जोडिएको छ । मेरो परिवार घटेर तीनजनामा छ । एउटा मेयर छ भरतपुरको । अर्को कस्ती छ थाहा छ । यो भनेको गणतन्त्रमाथि हमाला हो ।”
आफूलाई ‘ह्युमिलेट’ गरेर र ‘डिप्रेसन’मा पारेर व्यवस्था उल्टाउन खोजिएको उनको भनाइ छ । “यसमा जवाफ माग गर्नुभयो, म किन यस्तालाई चलाउँथे र ! तपाईंहरूले सोधेको भएर भनेको,” उनले भने, “चिनेजानेको भनेर कसैलाई छाडिन्न ।”