काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेससँगको सम्झौता तीन महिना १५ दिन थप्ने निर्णय गरेको छ । एन्फाको सोमबार बसेको कार्यसमिति बैठकबाट प्रशिक्षक एनेसको सम्झौता थप गर्ने निर्णय गरिएको हो ।
एनेस गत फागुनमा एक वर्षको सम्झौतासहित नेपाली टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । अल्बर्टो एनेससँग यूईएफए प्रो प्रशिक्षक लाइसेन्स छ ।
सोमबारको बैठकबाट विभिन्न १४ निर्णय गरिएको छ । एन्फा सीईओमा पूर्वमहासचिव इन्द्रमान तुलाधरलाई नियुक्त, साफ यू–१९ महिला, यू–१६ महिला र महिला साफ च्याम्पियनसिप आयोजना गर्न दाबी पेस गर्ने, राष्ट्रिय टिमका प्रतियोगिताबाट उठेको रकमको २० प्रतिशत खेलाडीलाई दिनेलगायत निर्णय गरिएको हो ।