काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुने बताएका छन् ।
शनिबार ललितपुरको थेचोमा नवदुर्गाभवानी देवी १२ वर्षे जात्रा समापन समारोहमा उनले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले सांस्कृतिक परम्पराले नेपालको राष्ट्रिय एकता र अखण्डतालाई बलियो बनाउने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नु दायित्व मात्र नभई अधिकार पनि भएको धारणा व्यक्त गरे । विभिन्न कालखण्डमा मानव समुदायले सिर्जना गरेर छाडेका भौतिक सम्पदा र त्यसअनुरूपको जीवनशैलीको समष्टिगत रूप नै नेपालको राष्ट्रिय संस्कृति भएको उनले बताए ।
नेपाल संवत्लाई राष्ट्रिय संवत्का साथै सरकारका दस्तावेजमा लेख्नुपर्ने निर्णय गरिएको उनले उल्लेख गरे । अब विस्तारै राष्ट्रिय संवत् नेपाल संवतु मात्र हुने उनको भनाइ छ । हिमालयन टेली भ्वाइस